महावीर पुनको जवाफः आविष्कार केन्द्र स्थापना गर्न १० मेगावाटको जलविद्युत किन ?

२२ साउन, काठमाडौं । विकास अभियन्ता महावीर पुनले आविष्कार केन्द्रका नाममा सरकारसँग १० मेघावाटको जलविद्युत आयोजना निर्माण गर्न एकमुष्ट ५० करोड मागेको र एकैचोटि त्यति ठूलो रकम दिन नसकेको पूर्वअर्थमन्त्री विष्णु पौडेलले खुलासा गरेपछि यसले थप बहसको रुप लिएको छ । अभियन्ता महावीर पुनले भने यसबारे आफूले सरकारलाई बुझाएको लिखित ‘प्रपोजल’ले नै स्पष्ट पार्ने अनलाइनखबरलाई प्रतिक्रिया दिएका छन् ।

महावीर पुनको अध्यक्षता गठित ‘राष्ट्रिय आविष्कार केन्द्र’ ले किन १० मेघावाटको विजुली निकाल्नुपर्‍यो ? यसबारे पुनको प्रस्ताव र तर्क यस्तो छः

धेरै आलोचकहरुले उठाउने गरेको मुख्य प्रश्न के हो भने हामीले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न किन १० मेगावाटको जलविद्युत स्टेशनको निर्माण गर्नुपर्यो र त्यसो गर्दा लक्ष्य एकातिर र काम कुरा अर्कोतिर हुँदैन र ? भन्ने उनीहरुको भनाइ छ | राष्ट्रिय आविष्कार केन्द्रको दिगो विकासका लागि जलविद्युत नै किन बनाउने भन्ने कारणहरु निम्नअनुसार छन्  :

  • नेपाल जलश्रोतमा विश्वको दोश्रो धनी देश मानिन्छ | त्यसैले हामीसंग भएकै पुनर्नविकरणीय जलश्रोतलाई उपयोग गरी आविष्कार केन्द्रलाई दिगो बनाउने कदम अति उपयुक्त हुन्छ भन्ने ठम्याई हाम्रो मात्र होइन कि धेरै बिशेषज्ञहरुको पनि ठम्याइ त्यही छ |
  • आर्थिक आयको लागी जलविद्युत अन्य श्रोतहरुभन्दा धेरै नै भरपर्दो र स्थायी हुन्छ भन्ने हाम्रो मान्यता छ | कुनै पनि जलविद्युत स्टेशनबाट बर्षमा कतिसम्म विद्ध्युत उत्पादन हुन्छ, कति पैसा आम्दानी हुन्छ र कति पैसा बचाएर यस केन्द्रलाई दिगो बनाउन सकिन्छ भनी सजिलैसँग हिसाब निकाल्न सकिन्छ | योभन्दा सजिलो र भरपर्दो अन्य श्रोतहरु पाउन धेरै कठिन छ |
  • जलविद्युत स्टेशन बनाउन एकपटक मात्र लगानी गर्नुपर्दछ र निर्माण गर्न ४ देखि ५ वर्षसम्म लाग्छ | त्यसपछि जबसम्म नदीमा पानी बगिरहन्छ, तबसम्म त्यसले बिद्ध्युत उत्पादन गरी आविष्कार केन्द्रलाई अटुट रुपमा आर्थिक श्रोत उपलब्ध गराइरहन्छ | यसरी यस्ता प्रकृतिका कामहरु गर्न हामीले हरेक बर्ष नेपाल सरकारलाई बजेट माग गरिरहनुपर्दैन र अन्य कुनै दातृ संस्थाहरुसँग सहयोगका लागि हात फैलाइरहन पर्दैन |

जलविद्युत आयोजनाको SWOT विश्लेषण नै गर्ने हो भने पनि यसबाट निम्न अनुसारको नतिजा निस्कन्छ र जलविद्युत आयोजनाबाट धेरै फाइदा र एकदमै थोरै बेफाइदा देखिन्छ |

  • S (Strengths): नेपाल जलश्रोतको धनी देश भएकाले जलविद्युत स्टेसन निर्माण गर्नका लागि धेरै खोलाहरु उपलब्ध छन् | जलविद्युत स्टेसनबाट निरन्तररुपमा आर्थिक आम्दानी भै रहन्छ | यो बनाइसकेपछि आविष्कार केन्द्र सञ्चालन गर्नका लागि आर्थिक समस्या पटक्कै पर्दैन | जलविद्युत आयोजनाको ठुलो Strengths यी नै हुन् |
  • W (Weaknesses): यो बनाउनको लागि कम्तिमा पनि ४ वा ५ बर्ष लाग्छ | त्यति बेलासम्म आविष्कार केन्द्रले आँटेको जस्तो काम गर्न सक्दैन । अर्को कुरा, कुनै बर्ष सुक्खा या खडेरी पर्यो भने अनुमान गरे जति बिद्युत उत्पादन हुँदैन र आम्दानी कम हुन्छ | यो एउटामात्र Weakness भएता पनि हामीले ४ वा ५ बर्ष पर्खिनु भनेको ठुलो कुरा होइन | नेपालको बिकास हुन्छ कि भनेर हामीले ६० भन्दा बढी बर्षहरु पर्खिसकेका छौं |
  • O (Opportunities): जलविद्युत स्टेसनबाट आर्थिक समस्या टरेपछि हामीले बर्षेनी आर्थिक श्रोतका लागि नेपाल सरकार अथवा विदेशी दातृ संस्थाहरुको ढोका ढकढक्याउनुपर्ने छैन । हामीले हाम्रो सम्पूर्ण शक्ति अनुसन्धानकर्ताहरु र नवप्रवर्तकहरुको पालनपोषण गर्न र तिनीहरुलाई हुर्काउनतिर लगाउन पाउने छौं, जुन एउटा अति राम्रो र ठूलो काम Opportunity हो |
  • T (Threats): जलविद्युत आयोजनाको मुख्य hreat भनेको भूकम्प वा पहिरोजस्ता प्राकृतिक प्रकोपबाट स्टेसनलाई क्षति हुन सक्नु हो | त्यसका लागि आयोजनास्थलको छनौट राम्रोसँग गर्नुपर्छ र निर्माण कार्य दक्ष प्राविधिकहरुबाट गराउनुपर्छ | प्राकृतिक प्रकोपबाट हुने जोखिमलाई न्यूनीकरण गर्ने धेरै उपायहरु छन् |

क) १० मेगावाटको जलविद्युत स्टेशनबाट हुने बार्षिक आम्दानीको विवरण

प्रस्तावित १० मेगावाटको जलविद्युत स्टेशनबाट विद्युत प्राधिकरणको हाल प्रचलित खरिद दर (प्रति महिना बर्षायामको रू. ४.८० र सुक्खायामको रू. ८.४०) अनुसार एक बर्षमा निम्न अनुसारको आम्दानी हुन्छ, जुन आम्दानीबाट हामीले सजिलैसँग राष्ट्रिय आविश्कार केन्द्र सञ्चालन गर्न सक्छौं |

१० मेगावाटबाट सुक्खायामको ४ महिनामा (पौष देखि चैत्रसम्म) हुने आम्दानी निम्न अनुसार छ.

  • प्रतिघण्टा हुने आम्दानी: १०,००० किलोवाट x ८.४० रु (प्रतियुनिट खरिद दर) = ८४,००० रु.
  • प्रतिदिन हुने आम्दानी: २४ घण्टा x ८४,०००रु. = २,०१६,००० रु.
  • बर्षायामको ४ महिनामा हुने आम्दानी= २,०१६,००० रु. x १२० दिन = २४१,९२०,००० रु.

मेगावाटबाट वर्षायामको ८ महिनामा (बैशाखदेखि मङ्सिरसम्म) हुने आम्दानी निम्नअनुसार छ:

  • प्रतिघण्टा हुने आम्दानी: १०,००० किलोवाट x रु. ४.८० (प्रतियुनिट खरिद दर) = रु. ४८,०००
  • प्रतिदिन हुने आम्दानी: २४ घण्टा x ४८,००० रु. = रु. १,१५२,०००
  • प्रति ८ महिनामा हुने आम्दानी: १,१५२,००० रु. x २४० दिन = रु.२७६,४८०,०००

सुक्खा र वर्षायाम गरेर हुने कुल आम्दानी: रु. २४१,९२०,००० + रु. २७६,४८०,००० = रु. ५१८,४००,००० (प्रतिवर्ष हुने कुल आम्दानी अक्षेरुपी ५१ करोड ८४ लाख रुपैयाँ मात्र)

माथि उल्लेखित आम्दानी कुल आम्दानी मात्र हो । जलविद्युत विशेषज्ञहरुको इस्टिमेटअनुसार वास्तविक आम्दानी कुल आम्दानीको ६५ प्रतिशत देखि प्रतिशतसम्म मात्र हुन्छ । त्यसैलाई आधार मानेर हामीले १० मेगावाट हाइड्रो पावरबाट निम्नअनुसारको वास्तविक आम्दानी हुने अनुमान गरेका छौं:

प्रतिवर्ष हुने वास्तविक आम्दानी = रु. ५१८,४००,००० x ६५%= रु. ३३६,९६०,००० (अक्षरेपी ३३ करोड ६९ लाख ५२ हजार रुपैयाँ मात्र)

विद्युत उत्पादन सुरु भएपछि प्रतिवर्ष आउने उपरोक्त वास्तविक आम्दानीको २५ प्रतिशत रकम (करिब १० करोड रुपैयाँ) राष्ट्रिय आविष्कार केन्द्रमा लगाइनेछ र वास्तविक आम्दानीको ७५ प्रतिशत रकम वित्तीय संस्थाहरुको बार्षिक ब्याज र ऋण तिर्न तथा मर्मत सम्भारमा लगाइने छ । वित्तीय संस्थाहरुबाट लिइएको ऋण ८ बर्षमा चुक्ता गरी सकिने छ |

माथि देखाइएको हिसाबअनुसार सुरुका बर्षहरुमा कम्तिमा पनि रु. १० करोड प्रतिवर्ष आविष्कार केन्द्रमा आउने देखिन्छ | यो रकम सानो रकम होइन र यसबाट इमान्दारीपूर्वक धेरै काम गर्न सकिन्छ |

अनुमान गरिएअनुसार ८ बर्षमा वित्तीय संस्थाहरुको सम्पूर्ण ऋण भुक्तानी गरिसकेपछि राष्ट्रिय आविष्कार केन्द्रलाई मर्मत सम्भार खर्च कटाएर कम्तिमा पनि बार्षिक रु. २० करोड प्रतिवर्ष प्राप्त हुनेछ |

 ख) जलविद्युत स्टेसनको निर्माण गर्ने योजना र त्यसको मोडेल

१० मेगावाटको जलविद्युत स्टेसन निर्माण गर्नु नै राष्ट्रिय आविष्कार केन्द्रको मुख्य उद्येश्य होइन | सो जलविद्युत स्टेसन निर्माण गर्नुको मुख्य उद्येश्य आविष्कार केन्द्रका लागि एउटा दरिलो आर्थिक श्रोत बनाउनु मात्रै हो | साथै सो जलविद्युत स्टेसन सकेसम्म राष्ट्रिय आविष्कार केन्द्र एक्लैले बनाउन सकेको खण्डमा त्यसको सम्पूर्ण Divident आविष्कार केन्द्रलाई आउने छ र आविष्कार केन्द्रको आर्थिक स्थिति दरिलो हुने छ | तर, त्यसो गर्न नसकेको अथवा नमिलेको खण्डमा सो जलविद्युत स्टेसन पब्लिक, प्राइभेट पार्टरसीप मोडलमा खोलिनेछ | सो जलविद्युत स्टेसन बनाउन नेपाल सरकारको कम्पनी ऐनअनुसार एउटा छुट्टै कम्पनी खोलिनेछ जसमा अधिकतम शेयर (कम्तिमा ७०% – ८०% सम्म) राष्ट्रिय आविष्कार केन्द्रको हुने छ | सो कम्पनीको बाँकी रहेको शेयर अन्य लगानीकर्ताहरुलाई र स्थानीय जनताहरुलाई बेचिने छ | राष्ट्रिय आविष्कार केन्द्रले आफ्नो भागमा आएको मुनाफा केन्द्रको बिकासको लागी खर्च गर्नेछ |

 ग) दिगोपनका लागि थप आर्थिक श्रोत – अनुसन्धानकर्ताहरु र नवप्रवर्तकहरुसँगको रोयल्टी साझेदारी

विश्वमा प्राइभेट रुपमा विशेष प्रयोजनका लागि  सञ्चालित अनुसन्धान केन्द्रहरुले आफुले लगानी गरेर गरेको आविष्कार तथा नवप्रवर्तनहरुको सर्वाधिकार आफुसँग नै राख्दछन् र त्यसको फाइदा आफूहरुले नै लिन्छन् | विभिन्न देशहरुमा सरकारद्वारा सञ्चालित अथवा सरकारी सहयोग प्राप्त अनुसन्धान केन्द्रहरु र युनिभर्सिटीहरुले अनुसन्धानकर्ता अथवा आविष्कारकर्ताहरुलाई आवश्यक पर्ने आर्थिक सहयोगका साथै अन्य किसिमका सहयोगहरु गरेवापत उनीहरुसँग रोयल्टी बाँडफाँड गर्ने बेग्लाबेग्लै मोडेलहरु बनाएका हुन्छन् । उदाहरणका लागि अमेरिकाको  म्यासाचुसेट इन्स्टिच्यसट अफ टेक्नोलोजीले आफ्नो ल्याबहरुमा भएका आविष्कारहरुको बिकास र त्यसको लागी चाहिने व्यापारिक लगानीहरु भित्र्याउन लाइसनिङ अफिस स्थापना गरेको छ । त्यसरी नै स्विट्जरल्यान्डस्थित युरोपियन अर्गनाइजेसन फर न्युक्लियर रिसर्चले सो केन्द्रमा आविष्कार भएका बिज्ञान तथा प्रविधि र अन्य ज्ञानहरुको विस्तार गरी त्यसको अधिकतम फाइदाहरु मानव समुदायमा पुर्याउन नलेज ट्रान्सफर ग्रुप स्थापना गरेर काम गरेको छ |

माथि उल्लेख भएअनुसार हामीले मुनाफा वितरण नगर्ने उद्येश्यले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रले अनुसन्धानकर्ता अथवा आविष्कारकहरुलाई गरेको आर्थिक तथा अन्य सहयोगको बदलामा उनीहरुसँग रोयल्टी तथा आम्दानी बाँडफाँड गर्ने आफ्नै मोडेल तयार गर्नुपर्ने हुन्छ | जलविद्युत योजना निर्माणको थालनीको साथ साथै हामीले अनुसन्धान र नवप्रवर्तनका कामहरुमा प्रतिभाशाली व्यक्तिहरुलाई  सहयोग गर्ने काम पनि सुरु गर्ने छौं | जलविद्युत स्टेसनको निर्माणमा र सो काममा लागेको ऋण चुक्ता गर्ने लाग्ने ८ बर्षको अवधिभित्र पनि राष्ट्रिय आविष्कार केन्द्रले निकै फड्को मारिसकेको हुनेछ र धेरै अनुसन्धानका कामहरु सफल पारिसकेको हुनेछ | ती सफल भैसकेका आविष्कार र अनुसन्धानका कामहरुबाट पनि आविष्कार केन्द्रलाई रोयल्टीको रुपमा थप आम्दानीहरु आउन थाल्नेछन् | यसरी राष्ट्रिय आविष्कार केन्द्र लाई दिर्घकालिन रुपमा दिगो र उत्पादनमूलक बनाउन सकिनेछ र यो संस्थाको सञ्चालनमा चाहिने  आर्थिक श्रोतका लागि नेपाल सरकारले हरेक बर्ष बजेट छुट्याउनुपर्ने छैन | साथै यस केन्द्रले भविष्यमा विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरु र अनुसन्धान केन्द्रहरुसँग पनि साझेदारी गर्ने छ, जसबाट केन्द्रलाई थप आर्थिक तथा प्राविधिक सहयोगहरु प्राप्त हुने छन् |

सफलतापूर्वक सम्पन्न भएका अनुसन्धान र नवप्रवर्तनका कामहरुबाट निम्नअनुसारको रोयल्टी राष्ट्रिय आविष्कार केन्द्रमा आउने छ, जसले राष्ट्रिय आविष्कार केन्द्रलाई दिगो बनाउन र यसको निरन्तर बिकास गर्न थप मद्दत गर्ने छ |

( स्रोतमहावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गर्नेसम्बन्धी सरकारलार्इ बुझाएको प्रस्तावको एक अंश)