बनेपाको बार्षिक समिक्षा

म्याग्दी, २७ साउन/ बेनी नगरपालिकाको कार्यालय म्याग्दीको आयोजनामा बुधबार सदरमुकाम बेनीमा वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । आर्थिक वर्ष २०७२/७३ मा बेनी नगरपालिकाद्वारा सञ्चालित योजना तथा कार्यक्रमहरुको समीक्षा गरिएको हो ।
कार्यक्रममा बेनी नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले गत आर्थिक वर्षमा नगर क्षेत्रमा सञ्चालित कार्यक्रमहरुको आर्थिक विवरण तथा प्रतिवेदन प्रस्तुत गरेका थिए । उनका अनुसार गतवर्ष कुल पुँजीगत विनियोजन रकम एक करोड ९९ लाख ३३ हजार ५५४, आन्तरिक आय ९६ लाख ९३ हजार ७९ रुपैयाँ, एलजिसिडीपी अन्तर्गतको २८ लाख ३० हजार र सामाजिक सुरक्षातर्फ २ करोड १६ लाख रुपैयाँ प्राप्त भएको थियो ।
प्राप्त कुल पुँजीगत विनियोजन बजेटमध्ये एक करोड ९७ लाख ३९ हजार ८००, आन्तरिक आयतर्फको ९५ लाख ७२ हजार २६१, एलजिसिडीपीतर्फ २५ लाख ५२ हजार ३८८ र सामाजिक सुरक्षातर्फ एक करोड ९७ लाख ३९ हजार ८०० रुपैयाँ खर्च भएको कार्यकारी अधिकृत सुवेदीले जानकारी दिएका छन् । यसैगरी बालबालिका लक्षित कार्यक्रमतर्फ विभिन्न ३२ ओटा कार्यक्रममा १७ लाख ३० हजार, महिलातर्फ ३५ वटा कार्यक्रमको १७ लाख १० हजार रुपैयाँ खर्च भएको छ ।
त्यस्तै अन्य लक्षित वर्गका ५२ ओटा कार्यक्रमतर्फ २५ लाख २ हजार, आर्थिक तथा सामाजिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ३१ ओटा कार्यक्रममा ७७ लाख रुपैयाँ बजेट खर्च गरिएको छ । गत वर्षमै पुँजीगतअन्तर्गत सञ्चालित प्रवद्र्धनात्मक र अन्य कार्यक्रमतर्फ ३२ लाख ६८ हजार ३५३ रुपैयाँको विभिन्न ४२ ओटा कार्यक्रमहरु सञ्चालन गरिएको अधिकृत सुवेदीको भनाई छ ।
बेनी नगरपालिकाको गतवर्ष कुल आम्दानी एक करोड ८० लाख ९८ हजार १५९ रुपैयाँ रहेको छ भने गत वर्षमा बेरुजु शुन्य रहेको छ । यस्तै गएको वर्षमा नगरपालिकाको पञ्जिकरणको विवरणअनुसार जन्म, विवाह, सम्बन्धविच्छेद, बसाइसराई र मृत्यु दर्ता गर्नेमा कुल एकहजार २८० जना रहेका छन् । समीक्षा कार्यक्रमको उद्घाटन गर्दै म्याग्दीका स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले योजनामा जनताको पूर्ण सहभागीता भएमा योजनाहरु दिगो हुने बताएका छन् । कार्यक्रममा सहभागीहरुले आआफ्नो धारणा राखेका थिए ।
बेनपाका कार्यकारी अधिकृत सुवेदीको अध्यक्षता, इन्जिनियर विमलरञ्जन कार्कीको स्वागत र कार्यक्रम अधिकृत सोविता शर्मा कँडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सचिव हरिकुमार श्रेष्ठ र वडा नागरिक मञ्च संयोजक राजेन्द्रकुमार श्रेष्ठले मन्तव्य राखेका थिए ।