बागलुङका सात सहकारी एकीकरण

बागलुङ, २७ साउन/जिल्लाका सात सहकारी एकीकरण भएका छन् । सहकारी ऐन २०४८ र एकीकरण कार्यविधि २०७० को प्रावधानमा टेकेर सहकारीहरु एकअर्कामा गाभिएका हुन् । डिभिजन सहकारी कार्यालय बागलुङका अनुसार थप दुई सहकारी एकीकरणको प्रकृयामा छन् ।
हालसम्म एकीकरण हुनेमा तित्याङ्गको कल्याणकारी वचत तथा ऋण सहकारी संस्था र बागलुङ नगरपालिका–३ को सिवाईसी वचत तथा ऋण सहकारी संस्था लिमिटेड, पैंयूपाटाको कालीगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था र महिला जागरण सहकारी संस्था एकीकरण भएका छन् ।
यस्तै, बिहुँको दहपानी महिला आयआर्जन वचत तथा ऋण सहकारी संस्था र सिवाईसी, सिवाईसीसँगै सदरमुकामको परिवर्तन वचत तथा ऋण सहकारी संस्था लिमिटेड र कुश्मिसेराको सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गाभिएका छन् । सिगानाको हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सदरमुकामस्थित नवरत्न बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडसँग एकीकरण भएको छ । यस्तै, ग्वालीचौरको माता पिता सहकारी संस्था लिमिटेड दुगातुम्डाँडाको सुरक्षा वचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग गाभिएको छ ।
सात मध्ये चार सहकारी सिवाईसी वचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग एकीकरण भएका छन् । सिवाईसीले सहकारीलेनै जिल्लामा पहिलोपटक एकीकरण अभियान चलाएको हो । एकीकरण सम्बन्धी कार्यविधिले निर्दिष्ट गरेका उद्देश्य प्राप्तिका लागि सहकारीहरु एकीकरण हुन थालेको डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख विष्णुप्रसाद शर्माले बताए ।
एउटै कार्यक्षेत्रभित्र रहेका र एउटै विषय तथा उद्देश्यले खोलिएका सहकारीहरु एकीकरण गर्न सकिने प्रमुख शर्माले बताए । साथै, फरक जिल्ला भएरपनि कार्यक्षेत्र जोडिएका संस्थाहरु पनि एकीकरण हुन सक्ने उनको भनाइ छ । सवल र सक्षम संस्था निर्माण गर्न, संस्थालाई पूँजी, भौतिक तथा मानवीय संसाधानद्वारा सक्षम र आत्मनिर्भर बनाउन, संघ/संस्थाको दिगो विकास र स्थायित्व कायम गर्न सहकारीहरु एकीकरण हुने गरेका छन् । ‘एकीकरण हुन सहमत कुनै दुई सहकारीबीच विभिन्न चरणको प्रकृया पुरा गरेपछि एकीकरणको निर्णय कार्यान्वयन हुन्छ’ प्रमुख शर्माले भने ‘सहकारी ऐन र एकीकरण कार्यविधिले व्यवस्था गरेका प्रावधान र शर्तहरु पालन गरेर नै सहकारीहरु एकीकरण हुनुपर्दछ ।’
कार्यविधिले एकीकरणको व्यवस्थापन, योग्यता, पूर्व स्वीकृति लिनु पर्ने, सम्पत्ति तथा दायित्वको मुल्याकंन सम्बन्धि व्यवस्था गरेको छ । एकीकरणका लागि सम्बन्धित सहकारी संस्थाका सेयर सदस्य, सञ्चालक समिति, लेखासमिति लगाएत अन्य समिति र पदाधीकारीहरुसँग छलफल गरि सहमति जुटाउनुपर्ने, शर्त तथा कार्यविधि तय गर्न संयुक्त कार्यदल बनाउनुपर्ने, कार्यविधि साधारण सभामा लैजाने र साधारणसभाबाट पारित गरि आवश्यक प्रकृया पुरा गरि एकीकरण गर्न सकिने व्यवस्था एकीकरण सम्बन्धी कार्यविधि २०७० ले गरेको छ ।