कानुन व्यवसायीमाथि प्रधानन्यायाधीशको आरोपः सम्पतिका लागि मरिहत्ते गरे

काठमाडौं, २८ साउन –  प्रधानन्यायाधीश सुशिला कार्कीले कानून व्यवसायीहरुमाथि निष्ठा छोडेर सम्पतिका लागि मरिहत्ते गर्ने गरेको आरोप लगाएका छन् । त्यसकै कारण वकालत पेशा नै बद्नाम भएको उनले बताइन् ।
नेपाल कानून व्यवसायी परिषद्ले बिहीपबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले कतिपय कानून व्यवसायीहरुले ‘जसको मुद्दा लडेको हो, उसलाई खरानी बनाइ सबै सम्पति लिने गरेको’ बताएकी छन् ।
मुद्दा लडेको व्यक्तिलाई सक्षम बनाउनुको साटो उसको सबै सम्पति हडप्ने प्रवृत्तिले कानून व्यवसायीलाई शोषक र सामन्ती जस्तो बनाउने उनले बताइन् ।
कानुन व्यवसायीहरुमाथि आक्रमक रुपमा प्रस्तुत भएकी उनले कतिपयले कालो कोट लगाएर जग्गा दलालहरुसँग मिलेमतो गरी अनधिकृतरुपमा खर्बौं रुपैयाँ आर्जन गरेको भन्दै त्यस्ता व्यवसायीलाई आफूले सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन निर्देशन दिएको बताइन् ।
प्रधानन्यायाधीश कार्कीले कानून व्यवसायीहरुमाथि पेशागत मर्यादा विपरित सम्पतिका लागि जस्तोसुकै हर्कत गर्न तयार हुने प्रवृत्ति मौलाएको आरोप लगाउने क्रममा नेपाल बार एशोसियशनसँग पनि असन्तुष्टि जनाइन् ।
११ जना न्यायाधीशको नियुक्तितर्फ संकेत गर्दै उनले बारले अदालतलाई बलियो बनाउनेतिर ध्यान दिनुको साटो राजनीति गरेको आरोप लगाइन् ।
प्रधानन्यायाधीश कार्कीले विश्वका धेरै मुलुकमा समावेशी सिद्धान्त अनुसार न्यायाधीशहरु नियुक्त गरिएका उदाहरण रहेको भन्दै आफूले जिल्ला र पुनरावेदन अदालतमा न्यायाधीश नियुक्तिका क्रममा महिलाहरुको प्रतिनिधित्वलाई जोड दिने बताइन् ।