नागरिकता भन्दा राहदानी लिने बढी

बागलुङ, २९ साउन – बैदेशिक रोजगारीको कारणले बागलुङमा नागरिकता लिने भन्दा राहदानी लिने धेरै भएका छन् । पछिल्लो केही बर्षदेखि यो क्रम निरन्तर चलिरहेको हो । युवाहरु खाडी मुलुक सहित जापान र गैरकानूनी रुपमा अमेरिका समेत पुग्ने भएपछि राहदानी बनाउनेहरुको संँख्या बढेको हो ।
जिल्ला प्रशासन कार्यालय बागलुङबाट आर्थिक बर्ष २०७२/०७३ मा राहदानी लिनेको संख्या १२ हजार २९ जना रहेका छन्भने सोही अवधिमा नागरिकता जम्मा ७ हजार ७ सय ६ जनाले मात्र लिएका छन् । त्यसमा ४ हजार ३ सय १५ जनाले भने द्रुत सेवा मार्फत परराष्ट्र विभाग बाट राहदानी लिएका छन् । यो संख्या हेर्दा हरेक बर्ष बागलुङका हजारौं युवा बिदेश जाने गरेको देखिन्छ ।
‘नागरिकता भन्दा हरेक दिन राहदानीकै लागि भ्याइ नभ्याइ छ’ प्रमुख जिल्ला अधिकारी भागिरत पाण्डेयले भने, ‘बिदेश जानेहरुकै कारणले यस्तो भएको पाइयो ।’ स्वदेशमा रोजगारीको अभाव भएपछि अधिकांसले राहदानी बनाएर तत्कालै विदेश जाने तयारी गरेको पाइएको उनले बताए ।
अघिल्लो आर्थिक बर्षपनि नागरिकता ७ हजारकै हाराहारीमा भएपनि राहदानी भने १५ हजार जनाले लिएका थिए । जिल्ला प्रशासन कार्यालयले बागलुङ र इलाका सेवा केन्द्र बुर्तिवाङबाट पनि राहदानी र नागरिकता लिने व्यवस्था गरेको छ ।
bhagirat pandaकार्यालयका अनुसार आव २०७२/०७३ मा राहदानीबाटै ३ करोड ४ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन भएको हो । उक्त राजश्व बुर्तिबाङबाट विरतण गरिने राहदानी सहित रहेको जिल्ला प्रशासन कार्यालय बागलुङले जानकारी दियो । जिल्ला प्रशासन बागलुङबाट मात्रै २ करोड ९८ लाख ३२ हजार ५ सय रुपैयाँ संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले बताए ।
त्यस्तै प्रशासन कार्यालयमा आउने सार्वजनिक अपराधका मुद्दा मार्फत २६ लाख ३३ हजार १ सय २१ रुपैयाँ धरौटी संकलन भएको छ । उक्त रकम पनि फिर्ता हुनुपर्ने बाहेकको राजश्वमा जाने गर्छ । अघिल्लो आर्थिक बर्ष कार्यालयले ३ करोड ७६ लाख ९९ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । यो बर्ष कार्यालयले अघिल्ला बर्षहरुमा रहेको ७० हजार ६ सय ६६ रुपैयाँ बेरुजु पनि फछ्र्याैट गरेको छ । कार्यालयको चालुतर्फ १ करोड ६३ लाख ६६ हजार तथा पूजिगत तर्फ १ करोड ८ लाख ७५ हजार गरी २ करोड ७२ लाख ४१ हजार स्विकृत बजेट थियो । यस्तै हातहतियार नविकरणबाट ७१ हजार ८ सय ५० रुपैयाँ राजश्व संकलन भएको छ ।
जिल्ला प्रशासनले यस वर्षमा बाढी तथा पहिरोबाट धेरै क्षेती पुगेका गाविसहरु का पीडितहरुको लागि दर्लिङमा १ लाख ८० लाख, बोङ्गादोभानमा १ लाख ७५ हजार, अधिकारीचौरमा १ लाख ५० हजार, राजकुटमा १ लाख, भिमगिठेमा ३० हजार र ग्वालिचौरमा २५ हजार रुपैयाँ गाविस सचिवलाई वितरणको लािग पेश्की लिइएको बताएको छ ।
जिल्ला प्रशासनले अघिल्लो आर्थिक बर्षदेखि आफ्नै भवन निर्माण गरिरहेको छ । तर उक्त भवन निर्माणका लागि भवन डिभिजन कार्यालय मार्फत ठेक्कामा गएकोले उक्त बजेट भने नियमित कारोवार र बजेटमा देखिंदैन ।