सुन्तलाका बोट मर्न थालेपछि चिन्ता

पर्वत, ३० साउन – ज्ञात रोगका कारण सुन्तलाका बोट मर्न थालेपछि पर्वतका किसान चिन्तित बनेका छन् । सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा परिचित उत्तरी पर्वतको देउपुरमा अज्ञात रोगका कारण सुन्तलाका बोट मर्न थालेका हुन् ।
जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन हुने देउपुरमा बोट धमाधम मर्न थालेपछि किसान चिन्तित भएका छन् । गाविसका सबै वडामा बोट मर्ने समस्या देखिएको छ । साउनको पहिलो सातादेखि सुन्तला मर्ने रोग देखा परेको थियो ।
सुरुमा पात पहेँलो भएपछि विस्तारै बोट मर्न थालेको किसानले बताएका छन् । स्थानीय भूमिराज शर्माले अज्ञात रोगको पहिचान नहुँदा किसान समस्यामा परेको बताए । अज्ञात रोगका कारण नयाँ तथा पुराना बिरुवा धमाधम मर्दै गएको शर्माले जानकारी दिए ।
माछापुच्छ्रे कृषि सुन्तला सहकारीका अध्यक्ष दाताराम चापागाइँले सुन्तलाको रोगको घरेलु उपचार गरेपनि समस्या समाधान नभएको बताए । अज्ञात रोगको पहिचान गरी रोकथामको व्यवस्था मिलाइदिन जिल्ला कृषि विकास कार्यालयसँग अनुरोध गरिएको चापागाइँले जानकारी दिए । कृषि कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले किसानले उपलब्ध गराएको नमुना काठमाडाँै स्थित नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा पठाउन लागिएको बताए
। ‘नमुना सङ्कलन गरी पठाउने तयारी भइरहेको छ’, उनले भने, ‘ त्यसपछि के रोग लागेको हो कसरी उपचार गर्ने भन्ने पत्ता लागिहाल्छ ।’ हिउँद याममा असिनाले दाना नष्ट भएर घाटा बेहोेरेका किसान अहिले बोट नै मर्न थालेपछि मर्कामा परेका छन् । गाविसमा व्यावसायिक खेती गर्नेको संख्या २०० को हाराहारीमा रहेका छन् । सुन्तला बेचेर देउपुरका किसानले वर्षमा एक करोड भित्राउने गरेका छन् ।