टिका–विद्या पत्रकारिता पुरस्कार राजभण्डारी र शर्मालाई

बागलुङ, ३१ साउन – यूनिक सञ्चार सहकारी संस्थाका अध्यक्ष तथा धौलागिरी विरेन्द्र उच्च मा.वि.का पूर्व प्रधानाध्यापिका कृष्णामैया अधिकारीले आफ्नो आमा वुवाको नाममा स्थापना गरेको टिका–विद्या स्मृति पत्रकारिता पुरस्कार पत्रकार राजेशचन्द्र राजभण्डारी र भाषा शर्मालाई प्रदान गरिने भएको छ ।
पुरस्कार समितिको आईतवार वसेको वैठकले एभिन्युज टेलिभिजनका जिल्ला संवाददाता राजभण्डारी र नागरिक दैनिकका शर्मालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशी जनही नगद रु. १०,१११ र सम्मान पत्र रहेको छ ।
bhasha sharmaअधिकारीले आफ्ना बाबा स्वर्गिय टिका वहादुर राजभण्डारी र आमा विद्यालक्ष्मी राजभण्डारीको स्मृतिमा सो पुरस्कार स्थापना गरेकी हुन् । यो पुरस्कार प्रत्येक वर्ष एक जना पुरुष पत्रकार र एक जना महिला पत्रकारलाई प्रदान गरिने समितिका सदस्य सचिव हरिनारायण गौतमले वताए ।
राजभण्डारीले २०४३ सालमा मातृभूमी साप्ताहिकबाट पत्रकारिता सुरु गरेका थिए । उनी नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सभापति भईसकेका छन् । शर्माले २०५९ मा उषाकालिन साप्ताहिकबाट पत्रकारिता सुरु गरेकी हुन् । उनी नेपाल पत्रकार महासंघ बागलुङ शाखाको कोषाध्यक्ष भइसकेकी छिन् ।
स्मृति पत्रकारिता पुरस्कारको लागि अधिकारीले रु.१ लाख १ हजारको अक्षयकोष स्थापना गरेकी छिन् । महिलाबाट आफ्ना आमावुवाको नाममा स्थापना गरिएको यो नै जिल्लाको पहिलो पुरस्कार हो ।
पुरस्कार सञ्चालन गर्न संरक्षक कृष्णामैया अधिकारी, सल्लाहकार रिद्धिराज अधिकारी, सदस्य सचिव ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम र सदस्य नेपाल पत्रकार महासंघका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी रहेको समिति गठन गरिएको छ । सस्थापक अधिकारीका अनुसार उक्त पुरस्कार ढोरपाटन दैनिकले सञ्चालन गर्नेछ र हरेक बर्ष उक्त पत्रिकाको बार्षिकोत्सवका अवसरमा दुई पत्रकारलाई प्रदान गरिनेछ ।