दुई किनारामा राप्रपा

राजेशचन्द्र रा.भ.
सत्ता र शक्ति भन्ने अचम्मको चिज रहेछ । यसले कसलाई कति बेला कहाँ पु¥याउँछ भन्ने कुरा न कसैले भन्न सक्छ न त अनुमान नै लगाउन सक्छ । पञ्चायती परिबेशका दुई राजनीति पार्टी राप्रपा र राप्रपा नेपाल बीचको पार्टी एकीकरण एकाएक रोकिन पुग्यो । वर्तमान प्रचण्ड सरकारमा राप्रपाले आफ्नो पार्टीको तर्फबाट दुई जना मन्त्री मण्डलमा पठाएपछि यहि २५ गतेलाई तय भएको राप्रपा र राप्रपा नेपाल बिचको पार्टी एकता एकाएक खल्बलिएको हो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पत्रकार सम्मेलन गरि अदृश्य शक्तिको प्रयत्न र दबावका कारण दुई पार्टीबीच एकता प्रक्रिया रोकिन पुगेको बताएपछि राप्रपा र राप्रपा नेपाल बिचको पार्टी एकता रोकिनुमा बिदेशी हस्तक्षेप रहेको खुलासा भएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाई अनुसार, छिमेकी मुलुक भारतले नेपालमा बलियो राष्ट्रवादी समीकरण देख्न नचाहेको खुलासा हुनु ‘बाघ कराउनु र बाख्रा हराउनु’ को नेपाली उखान मेल खान पुगेको छ । २५ गतेको लागि सबै तयारी पूरा भैसकेको दुई पार्टी बीचको एकता भाडिनुको पछाडि रहस्यमय कारण छन् भन्ने कुरा बुझ्न सबैलाई सजिलो भएको छ । ओली सरकारको मन्त्री मन्डलमा बसेको दुबै राप्रपा राजनीति घटना क्रमसँगै दुई कित्तामा बिभाजन हुन पुग्यो । नेकपा माओबादी केन्द्र र नेपाली कांग्रेसले केपी ओली सरकार बिरुद्व ल्याएको अबिश्वासको प्रस्तावको पक्षमा कमल थापा र प्रचण्डको पक्षमा पशुपति शमशेर राणा बिभाजन भएसँगै पार्टी एकता पनि अन्तिम चरणमा पुगेको समयमा एकाएक रोकिनुलाई चानचुने कुरा मान्न सकिदैन ।
कमल थापाले प्रचण्ड सरकारमा नजाने भनेर बिपक्षमा मतदान गरेपनि राप्रपाका पशुपति शमशेर राणाले भने आफ्नो दुई जना लाई मन्त्री मण्डलमा पठाएपछि दुई राप्रपाबीच दुरी झन् बढेर मात्र गएन अब दुई पार्टीबीच एकता टाढा हुन पुगेको थापाको भनाईबाट पनि सरकारमा जाने र नजाने घटनाले एकीकरण रोकिन पुगेपछि धेरै समय पछि पार्टी एकता हुने कुराले उत्साहित बनाएको इमान्दार कार्यकर्तालाई निरासा बनाएको छ । नेपालको राजनीतिमा बिदेशी हस्तक्षेप कतिको हुँदो रहेछ भन्ने एउटा ताजा उदाहरण दुई राप्रपाबीच पार्टी एकता भाँडिनुबाट पनि स्पष्ट भएको छ । बिदेशी प्रभुले जहिल्यै पनि नेपालमा राष्ट्रवादी शक्तिलाई एक हुन नदिने खेल खेलिरहन्छ । आफ्नो अनुकुल नेतालाई खेलाउने एकलाई अर्कोविरुद्व भिडाउन माहिर खेलाडी बिदेशी प्रभुले जे हुकुम दिन्छन् त्यहि अनुसार काम गर्ने नेता भएपछि के–को समस्या भयो र । सामान्य भन्दा सामान्य कुराको सल्लाह लिन समेत प्रभुको शरण लिनुपर्ने भएपछि किन चाहियो त उसले आफ्नो अनुकुल काम गर्नु गराउनुलाई अन्यथा मान्नु पर्ने कारण भने छैन ।
अहिले राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता हुन नसक्नुको कारणबारे दुबै दलको आ–आफ्नो तर्क छ । अहिले दुबै दलका नेताहरूले एकले अर्कोलाई पाडे गाली गर्न ब्यस्त छन् । नेपालका चर्चित कवि भुपि शेरचनले आफ्नो कबितामा भनेझै हामी आफुखुशी कहिल्यै मिल्न नसक्ने, कसैले मिलाई दिनुपर्ने, हामी आफु खुशी कहिल्यै छुटिन नसक्ने कसरुैले छुट्टयाई दिनुपर्ने, एउटा स्ट्राइकरद्वारा सञ्चालित हो हामी । मानिस कम र बर्ता गोटिहरु, साँच्चै भन्ने होभने अहिले नेपालको राजनीति त्यस्तै भएको छ । यस्तै भएर होला कवि शेरचनले कबिता लेखेको । आजका दिनसम्म आईपुग्दा पनि हामी माथि उठ्न सकेका छैनौ । बिदेशी हस्तक्षेप अहिले झन् बढेर गएको देखिन्छ  । ओली सरकारको राष्ट्रवादी कदम छिमेकी मुलुक भारतलाई मन परेको थिएन । ओली सरकारको पराष्टमन्त्री बनेका कमल थापाले पटक पटक छिमेकी मुलुक भारतको भ्रमण गरेपनि सम्बन्धमा सुधार भने हुन सकेन ।
केपी ओलीको सरकारकै कारण कमल थापा समेत भारत सँगको सम्बन्धमा चिसोपन आयो । आफ्नो देश सँगको सम्बन्धकै कारण अहिलेको अबस्था सृजना भएको हो भन्ने कुरा समेत स्पष्ट छ । राप्रपा र राप्रपा नेपालबीच धेरै लामो समयपछि पार्टी एकता निश्चित भएको एकाएक भँङ्ग हुनु पार्टीको लागि दुःखद पक्ष हो । जुन उत्साहका साथ पार्टी एकता हुने प्रतिक्षामा बसेका नेता तथा कार्यकर्तालाई अहिलेको घटनाले दुःख तुल्याएको मात्र छैन, दुई पार्टीबीच दुरि समेत बढेर गएको छ । सरकारमा जाने र नजानेबीच बिबाद त एउटा देखाउने बहाना मात्रै हो । ओली सरकार राष्ट्रवादी अहिलेको सरकार अराष्टवादी भएर होइन प्रमुख कुरा राजनीति नै हो । नेपालको राजनीति कहाँ कसरी सन्चालन हुन्छ, कसरी राजनिती अघि बढ्छ भन्ने कुराले पनि काम गर्ने रहेछ । नेपालको राजनीति नेपालीको हातमा छैन भनेर बेलाबेलामा प्रश्न उठ्ने नगरेको होइन तरपनि हाम्रो देशका नेताहरू आफु अनुकुल कुरा गर्ने चलन छ । आफु सरकारमा हुँदा आफु राष्ट्रवादी आफु सरकारबाट हटेपछि बिदेशी चलखेल देख्ने आँखा नै अचम्मको छ । आफु सरकारमा जाँदा आफै गए सरकारबाट हट्दा बिदेशीले हटायो भन्नुको पछाडि कुन खालको तर्क हो सबै नेपाली जजताले बुझ्ने गरि भनिदियो भने राम्रो हुने थियो ।
खाली खोक्रो राष्ट्रवादको नारा घन्काएर केही हुनेवाला छैन । असली राष्ट्रवाद कै कुरा गर्ने होभने सारा नेपालीको साथ र समर्थन रहने छ । हैन भने ‘ताक परे तिवारी नत्र गोटामे’ कुरा गरेर अब जनताले बिश्वास गर्नेवाला छैन । हुन त संविधान निर्माणको समयदेखि नै छिमेकीको चलखेल नचलेको होइन । उसले भने अनुसारको कुरा नेपालको संबिधानमा नलेखिएको कारण उसको असन्तुष्टि छताछुल्ल भएकै हो । नेपाल र नेपाली माथि नाकाबन्दी गरेको कुरा पुरानो भएको छैन् । नेपालमा जहिले पनि आफ्नो हस्तक्षेप जारी राख्दै आएको भारतले नेपालमा राजनीति दल फुटाउने जुटाउने गरेर आफ्नो स्वार्थ पूरा गर्दै आएको छ । अहिले दुई राप्रपालाई मिल्न नदिने शक्ति पनि छिमेकी भारत हुन सकने कुरामा शंका गर्न सकिन्छ । तर कवि भुपि शेरचनले भने जस्तो हामी खाली खेलौना मात्रै हुने, आफै मिल्न नसक्ने जुन कबिता लेख्नु भएको छ त्यो आजको दिनसम्म आईपुग्दा पनि सत्य साबित भएको छ ।
कमल थापालाई भारतले आफ्नो विश्वास पात्र मान्दै आएको थियो तर राजनीति घटनाक्रमले उनी पनि भारतको विश्वास पात्र बन्न सकेनन् अनि आफ्नो अनुकूल चल्ने नेता खोज्नु अन्यथा होइन । नेपालको चौथो राजनीति शक्ति भनेर आफ्नो स्थान बनाई रहेको समयमा दुई राप्रपा मिलाएर कमल थापा अझै शक्तिशाली बन्न खोजेको समयमा एकाएक पार्टी एकता रोकिन पुग्नुलाई सामान्य रूपमा हेर्न मिल्दैन । जे भएपनि नेपाल र नेपालीको हितमा हुने कामलाई सबै मिलेर अघि बढनु पर्छ । तबमात्र विदेशी चलखेल र हस्तक्षेप रोकिने छ । प्रचण्डले कमल थापालाई ओली सरकारकै पालाको हैसियत दिने प्रस्ताव राख्दा समेत उनले असहमति जनाए तर पशुपतिशमशेर राणाको राप्रपा सरकारलाई समर्थन गर्दै सरकारमा सामेल भएपछि दुई राजनीति दलको एकीकरण रोकिन पुगेको मात्र छैन अब एकता नै भाडिन पुगेको छ ।