श्रमदान गरेर झोलुङे पुल मर्मत

बागलुङ, ३१ साउन – जिल्लाको भुजी खोलामा आएको बाढीले गाउँमा आवतजावत गर्ने झोलुगें पुलमा क्षति पु¥याएपछि समस्यामा परेका अधिकारीचौर वडा नं ५ का स्थानीयहरुले आफैले जनश्रमदान गरी पुलको मर्मत गरी सञ्चालनमा ल्याएका छन् ।
गाविसको वडा नं ५ स्थित खोरिया, थाम्का, तलेत्रा र सिरिमोडका झण्डै ६० घरधुरी आवतजावत गर्ने उक्त पुलमा क्षति पुगेपछि स्थानीयहरु आवातजावत गर्न पाएका थिएनन् । उक्त ठाउँका बासिन्दाले आफैले २ दिनसम्म श्रमदान गरी पुलको मर्मत गरेपछि अहिले ढोरपाटनमा लाग्ने जनैपूर्णिमामा मेला भर्न जानेहरुका लागि समेत सहज भएको छ ।
बाढीले पुलको अन्य भाग बगाएपनि लुठ्ठा भने नबगाएकोले उनीहरुले मर्मत गर्नु पहिले उक्त लुठा मार्फत वारीपारी गर्ने गरेको बताएका छन् । यसैगरी, सोही वडाको तुलानेमा रहेको तुलाने माध्यमिक विद्यालयमा पनि उनीहरुले श्रमदान गरी विद्यालय सञ्चालन गर्ने भएका छन् ।
बाढीले विद्यालयको ३ कोठे भवन बगाएपछि विद्यार्थीहरुलाई खुल्ला चौरमा पढाउनु पर्ने बाध्यताका बाबजुद स्थानीयहरुले मर्मत गरी कक्षा कोठामै सञ्चालन गर्ने बातावरण बनाउन लागेको ज्ञानबहादुर श्रीपालीले जानकारी दिए । १ सय ९८ जना विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयको बाढीले बगाएको भवन निर्माणका लागि जनश्रमदानको काम सुरु गरिसेकेको पनि उनले जानकारी दिए ।