व्यक्तिगत खाताबाट मात्रै सासु भत्ता वितरण

पर्वत, ३२ साउन – कुस्मा नगरपालिकाले चालु आर्थिक बर्ष देखि ब्यक्तिगत खाताबाट मात्रै  सामाजिक सुरक्षाभत्ता बितरण गर्न तयारी थालेको छ । सामाजिक सुरक्षा भत्ताको दुरुपयोग रोक्न र सेवाग्राहीले ब्यक्तिगत रुपमा लाभान्वित होस भन्ने उद्देश्यले साउन देखि सामाजिक सुरक्षाभत्ता बुझ्न बैंकहरुमा खाता खोल्न अनिवार्य गरेको हो । कुस्मा नगरपालिकाले यस अघिसम्म बृद्ध, एक महिला र जेष्ठ दलित नागरिकलाई राष्ट्रिय बाणिज्य बैंक मार्फत मात्रै खाता खोली सामाजिक सुरक्षा भत्ता बितरण गर्दै आएको छ । नगरपालिकाले सामाजिक सुरक्षा समितिको सोमबार बैठक मार्फत हरेक ब्यक्तिको निजी खातामा सामाजिक सुरक्षा भत्ता पठाउने निर्णय गरेको छ । त्यसका लागि सदरमुकाम कुस्माबजारका ‘क’ र ‘ख’ बर्गका बैंकहरुमा खाता खोल्ने ब्यबस्था मिलाउने तयारी भएको कार्यकारी अधिकृत चण्डिका पौडेलले बताए । नगरपालिकाले सबै वडाका सामाजिक सुरक्षाभत्ता पाउनेहरुको खाता खोल्नका लागि भदौ र असोजको पहिलो साता गाउँमा र बैंकमा आएर खाता खोल्ने तयारी गरिरहेको छ । त्यसका लागि बैंकहरुसंग छलफल गरि टुंगोमा पुगिने अधिकृत पौडेलले बताए । अहिलेसम्म राष्ट्रिय बाणिज्य बैंकले मात्र बितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता ब्यक्तिगत खाता खोल्ने भएकाले एउटा बैंकले मात्र संभव नभएकाले अन्य बैंकमा समेत खाता खोल्ने ब्यस्था गरिने उनले बताए । कुस्मा नगरपालिका क्षेत्र भित्र अहिलेसम्म ७० बर्षभन्दा माथिका जेष्ठ नागरिक १ हजार ४ सय जना, ७० बर्षभन्दा माथिका दलित जेष्ठ नागरिक २ सय ८९ जना, ६० देखि ७० बर्ष सम्मका दलित जेष्ठ नागरिक ४ सय ४३ जना, ६० बर्षभन्दा कम उमेर भएका एकल महिला ३ सय ६५ जना र एकल महिला ४ सय ४३ जनाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन । अहिलेसम्म बाणिज्य बैंकमा आएर रकम बुझ्दा बृद्ध बृद्धालाई सहज हुने गरेको बताउँदै जेष्ठ नागरिक मञ्च पर्वतका अध्यक्ष लोकनाथ आचार्यले सरकारले अनिवार्य रुपमा ब्यक्तिगत खातामा बितरण गर्ने भनेपछि समस्या भएको बताए । उनले ब्यक्तिगत खाता खोल्दा पनि बृद्धबृद्धाले बिना झण्झट सहज हिसाबले रकम लिने ब्यबस्था मिलाउन आग्रह पनि गरे । बैंकबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्दा दुरुपयोग बढेको गुनासो पछि जिल्ला बिकास समिति पर्वतले दुई बर्ष पहिले देखि नै सबै गाबिसमा ब्यक्तिगत खाता खोलेर बितरण गर्ने ब्यबस्था मिलाएको थियो । यसरी बितरण गर्दा दुरुपयोग धेरै रोकिएपनि अझै पनि नजिकको हकदार बनेर रकम बुझ्ने तर बृद्ध र एकल महिलाहरुलाई रकम नदिने प्रबृत्ति भने रोकिन नसकेको गुनासो आउने गरेको छ ।