मृगौला पीडितद्वारा सहयोगको याचना

बागलुङ, १ भाद्र – जिल्लाको भकुण्डे गाउँ विकास समिति–७ का मृगौला पीडित भद्रबहादुर थापाले आफ्नो जीवन रक्षाको लागि अपिल गरेका छन् । दुवै मृगौला फेल भई मृगौला प्रत्यारोपण गर्न आर्थिक समस्या भएपछि परिवारले आर्थिक सहयोगका लागि अपिल गरेको हो ।
भद्रबहादुर थापा बचाउ अभियान उपचार सहयोग समितिले मंगलबार बिहान बागलुङ बजारमा पत्रकार सम्मेलन गरी मृगौला प्रत्यारोपणको लागि करिव १० लाख खर्च लाग्ने जानकारी दिँदै परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले सहयोगका लागि सबैलाई आग्रह गरेको छ । थापाले गत चैत्रदेखि पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराउँदै आएका छन् ।
मृगौला प्रत्यारोपणको लागि छोरा वा छोरी तयार भएपनि आर्थिक कारणले उपचारमा समस्या भएको थापाकी श्रीमती दिलमाया थापाले बताइन । ‘आफुसँग भएको दुई चार पैसा सबै सकियो’ थापाले भनीन् ‘अब त डाईलसिस गर्ने पैसा पछि छैन कसरी उपचार गर्ने ।’ थापाका एक छोरा एक छोरी रहेका छ ।
सरकारले निःशुल्क डाईलासिसको व्यवस्था गरे पनि निःशुल्क उपचारको लागि लामो समय पालो गर्नुपर्ने बाध्यता रहेको थापाले बताइन् । ‘हप्तामा एक पटक डाईलसिस गर्नुपर्ने हुन्छ तर सरकारी सेवाको लागि एक महिनामा एक पटक पनि पालो पाउन गाह्रो भयो’ उनले भनिन् । उपचारको लागि हाल सम्म ५ लाख बढी खर्च भएको परिवारले बताएको छ ।
थापाको उपचारमा सहयोग गर्न धवलागिरी अञ्चल अस्पतालका सिनियर अहेव उद्धिप थापाको संयोजकत्वमा भद्रबहादुर थापा उपचार सहयोग समिति गठन गरिएको छ ।