‘पहाडकी परी’ खोप्रा लेक

सन्तोष गौतम
म्याग्दी, १ भाद्र – पहाडको टाकुरामा वरपर हरियाली छाएको भिरालो घाँसे मैदान । पुष्ठभुमिमा दन्तलहरझै हिमाल । तलतिरका वन, टाढा, टाढाका मनमोहक पहाडी भुगोल एवं ग्रामिण बस्तीहरु । बिहानीमा देखिने सुर्योदयले म्याग्दीको शिख गाविस–६ मा पर्ने खोप्रा लेकको सौन्दर्यलाई थप आकर्षक बनाउँछ ।
DSC03820‘पहाडकी परी’को रुपमा परिचय बनाउदै गएको खोप्रा लेक समुन्द्रि सतहदेखि तिन हजार ६०० मिटरको उचाईमा अवस्थित छ । मनास्लु, माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरी, धौलागिरी, गुर्जा लगायतका दर्जनौ हिमश्रृंखलालाई नजिकबाट अवलोकन गर्न पाउनु खोप्राको प्रमुख बिशेषता हो ।
दृष्य अवलोकनका लागि मात्र नभई खोप्रा प्राकृतिक, जैविक र भौगोलिक हिसावले पनि मनमोहक छ । भिरालो पहाडको टुप्पोमा अवस्थित समथर खोप्राबाट सुर्योदयको साथमा म्याग्दी, पर्वत र कास्कीका पहाडी बस्ती एवं पोखरा बजार लगायत थुप्रै मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।
DSC05783यसका साथै खोप्रा क्षेत्रमा ५० भन्दा बढी प्रजातिका जडिबुटी तथा हिमाली वन पैदावारका साथै एक दर्जन प्रजातीका लालीगुराँस पाईन्छन् । मृग, घोरल, डाँफे लगायत जंगली जनावर र पंक्षीहरुको अवलोकन गर्न सकिन्छ । प्राकृतिक सौन्दर्यता, रंगिविरंगी मगमग बास्ना आउने दर्जनौ प्रजातीका फुल, जडिवुटी, बोटबिरुवाको अवलोकन गर्न पाउनु खोप्राको बिषेशता रहेको शिख पाउद्धारका अगुवा भिमबहादुर तिलिजाले बताए ।
रमथर भुगोलको चरनमा पालीएका चौरी र भेडाका बथानले पर्यटकलाई लोभ्याउने गरेको छ । एकै ठाउँमा प्रकृतीको धेरै किसीमका सौन्दर्यतामा रमाउन पाउनु खोप्राको आकर्षण भएको हालै त्यस क्षेत्रको भ्रमण गरेर फर्कीएका बागलुङका सुवास श्रेष्ठले बताए । खोप्रामा सूचना प्रबिधिका अभियन्ता महाबिर पुनले बेतारे ईन्टरनेटको रिपीटर टावर, मौसम सूचना केन्द्र सञ्चालन गरेका छन् ।
DSC05837बसन्त ऋतुमा खोप्रा वरपरका पाखो लालीगुराँस फुलेर रंगीन्छ । बर्खा याममा रंगी बिरंगी बुकी फुलेर वातावरणमा उमंग थपिन्छ । बादलले एकै छिनमा हिमाललाई ढाक्ने र केही समयमा खुल्ने गरेको दृष्य बादल र हिमालले लुकामारी खेलेजस्तो लाग्छ । खोप्रालाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न स्थानीय बासिन्दाले व्यवस्थित पदमार्ग निर्माण र खानेबस्ने सुबिधाका लागि सामुदायीक लज सञ्चालन गरेका छन् ।
वि.स २०६५ मा स्थापना भएको २० जना क्षमत्ताको सामुदायिक लजको आम्दानी पाउद्धार मावि र नांगीको हिमाञ्चल उच्च मावि सञ्चालनका लागि खर्च हुदै आएको छ । वार्षिक करिब चार सय जनाको अनुपातमा खोप्रामा बिदेशी पर्यटक भ्रमणका लागि आउने गरेका सामुदायिक लजका व्यवस्थापक नविन पुनले बताए ।
हरेक वर्षको साउन महिनामा करिब एक हप्तासम्म खोप्रा लेकमा चौरी गाईको आलो रगत पिउने मेला लाग्ने गर्छ । असोज, कात्तिक र चैत, बैशाखको याम खोप्रा यात्राको लागि उपयुक्त मानिन्छ । शिखको बयली, कास्कीको घान्द्रुक, म्याग्दीको तातोपानी पाउद्धार र नारच्याङहुँदै खोप्रा पुग्न सकिन्छ ।
DSC05850विश्व प्रसिद्ध पर्यटकीय गन्तब्य मानिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप) अन्तरगत पर्ने खोप्रालाई अन्नपूर्ण धौलागिरी सामुदायीक पर्यावरणीय पदमार्गले समेटेको छ । बयली डाँडखर्क र नारच्याङ हुदै खोप्रा पुग्ने बाटो भिरालो, साधुरो तथा पदचिन्ह नहुँदा पर्यटकले दुख पाउने गरेका छन् ।
खोप्रा भएर अन्नपूर्ण हिमालको फेदीमा रहेको खयरबाराही तालमा पुग्न सकिन्छ । समुन्द्रि सतहदेखि चार हजार ६०० मिटरको उचाईमा अवस्थित खयरबाराही तालमा हरेक वर्षको जनै पूर्णीमाको दिन मेला लाग्ने गर्छ ।
पृष्ठभुमिको हिमाल देखिने ताल परिसरको थानमा पुजाआजा र दर्शन गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास छ । खोप्राको पर्यटन प्रर्वद्धनका लागि पाउद्धारका बासिन्दाले आफन्तको स्मृतीमा पदमार्ग निर्माण गर्दै आएका छन् । डाँडखर्क र नारच्याङ तर्फको पदमार्गको मर्मत एवं सुधारका लागि पहल गरेपनि सरकारी निकायबाट सहयोग नभएको स्थानीयको गुनासो छ ।