विश्वासको यात्रा

ढोरपाटन दैनिकले आफ्नो जन्म र सार्थक अस्तित्वको १३ बर्ष पुरा गरी आजबाट १४ औं बर्षमा प्रवेश गरेको छ । करिव डेढ दशकको यो अवधीमा ब्यवसायिक पत्रकारिताको स्पष्ट मार्गचित्र वोकेर हामी अनवरत यात्रामा छौ । यसबीचमा मुलुकमा महत्वपूर्ण राजनीतिक परिवर्तन भए । दशक लामो सशस्त्र द्धन्द्धको अन्त्य गर्दै, छ दशक लामो नागरिकको संघर्षलाई मुलुकले नयाँ संविधानमार्फत संघिय लोकतान्त्रिक गणतन्त्रका रुपमा संस्थागत गर्यो । यद्यपी यसका सफल कार्यान्वयनका चुनौति कायम नै छन् । आत्मस्वाभिमानका साथ मुलुकले चार महिना लामो अघोषित नाकावन्दीको सामना गर्यो । गतबर्षको विनासकारी भूकम्प र पराकम्पले मुलुक अझै थिर बन्न सकेको छैन । पूनर्निर्माणको महाअभियान जारी छ । राजनैतिक स्थिरता कायम हुन सकेको छैन । संविधानप्रतिका असन्तुष्टिका स्वरहरु साम्य भएका छैनन् । यस्तो राजनैतिक अस्थिरता र प्राकृतिक प्रकोपका विच पनि मुलुक अग्रगमनको दिशामा उन्मुख छ । सहयात्रालाई पछ््याउदै अगाडि बढ्दा शान्ति र समृद्धिको सूनौलो भविष्य हाम्रै काँधमा छ ।
नागरिक अधिकार, स्वतन्त्रता र समृद्धिको संरक्षणबाटै मुलुक सही अर्थमा सार्वभौम र समृद्ध बन्न सक्छ । सार्वभौम र समृद्ध राष्ट्रका स्वाभिमानी नागरीक नेपाली बन्नु पर्दछ । सार्वभौम हैसियत विपरीत निर्देशित ब्यवहार, चिन्तन र कार्यशैलीको चोटिलो प्रहार हामीबाट हुनै पर्दछ । वाह्य हस्तक्षेपबाट मुक्ती पाउन सचेततापूर्वक आर्थिक उन्नतीको बाटोमा नलागी सुखै छैन । यसका लागि विवेकशील राजनीतिक नेतृत्वको आवश्यकता छ । साना साना स्वार्थमा होईन, मुलुकको वृहत्तर हितमा विवेकशील नेतृत्वको आवश्यकता पर्दछ । मुलुकलाई आर्थिक समृद्धीको वाटोमा लगेर स्थायित्व दिन सकेमा मात्र लोकतन्त्र÷गणतन्त्र टिकाउ हुन सक्दछ । यसका लागि मुलुकका सवै राजनैतिक दलमा न्यूनतम साझा समझदारी आवश्यक छ, र विश्वासको सहयात्रा अगाडि बढाउनु पर्दछ । यसमा हाम्रो पहरेदारी कायमै छ ।
तथ्यमा आधारित सत्य समाचार र विविध दृष्टिकोण सम्प्रेषणको नागरिक आवाज ढोरपाटन दैनिक हो भन्ने हामीलाई विश्वास छ । स्वतन्त्रता, जवाफदेहिता र निर्भिकताबाट लेखिने विद्या पत्रकारिता हो । असजिलो परिस्थितिमा सञ्चार माध्यमको भूमिका अझ सशक्त, जिम्मेवार र उत्तरदायीपूर्ण हुनुपर्दछ । पत्रकारिता जवाफदेहीविहिन हुनै सक्दैन । हामी हाम्रो जवाफदेही र उत्तरदायीपूर्ण पेशामा अडिग छौ । हाम्रो अपेक्षा, संघर्ष, सफलता र स्त्तरीकरण समस्त पाठकवर्ग, विज्ञापनदाता, आमनागरिक र शुभेच्छुकको सहयात्रामा मात्र सम्भव र दिगो हुनेमा हामी विश्वस्त छौ । आदरणिय लेखक र श्रद्धेय पाठकको सम्मानमा पुस्तक प्रकाशनको निरन्त्तरतामा हामीले यो बर्ष ‘ढोरपाटनका पत्र’ पुस्तक प्रकाशन गरेका छौ ।