स्वास्थ्य बिमा लागू

बागलुङ, २ भाद्र – जिल्लामा बुधवारबाट स्वास्थ्य बिमा लागु भएको छ । नेपाल सरकारले  देशका अन्य २ जिल्ला सहित बागलुङमा पहिलो चरणमा सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत स्वास्थ बिमा लागु भएको हो ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बागलुङले धौलागिरी अञ्चल अस्पतालमा आउने आजको पहिलो बिरामी तथा बिमा सदस्य भिम कुमारी पाध्याको बिमा परीचय पत्र स्क्यान गरी बिमा सेवा सुरु गरेको हो ।
बागलुङमा असार मसान्तसम्म सामाजिक सुरक्षा कार्यक्रममा दर्ता भएका १६ सय ५५ सदस्यहरुलाई भाद्र १ अर्थात बुधबारबाट अञ्चल अस्पताल सहित कार्यक्रममा समावेश भएका अन्य ८ सेवा प्रदायक अस्पताल तथा जिल्ला भित्रका ३ ओटा स्वास्थ केन्द्रबाट ५० हजार बराबरका सेवा पाउने छन् ।
जसमध्ये औषधि, प्रसुती सेवा, अक्सिजन सेवा, मेडिकल वार्ड, मधुमेह,बाल रोग, प्रजनन्, आँखा, दन्त परीक्षण लगाएतका सेवा रहेका छन् साथै,बहिरंग, प्रयोगशाला, एक्सरे, कार्डियोग्राफि, घाउ चिरफार, अल्ट्रासाउण्ड, इन्डोसकपी, कोलोनोस्कपी, फिजीयोथेरापी पनि समेटिएको छ । यस्तै  क्यान्सर, मुटुरोग, मृगौला, स्पाइनल, हेड इन्जुरी, दम, अल्जाइमर, डिमेन्सिया जस्ता कडा रोगहरुमा समेत ५० हजार सम्मको सेवा प्रधान हुने समितीले जनाएको छ ।
बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, समितिका बरिष्ठ जनस्वास्थ्य प्रशासक चुडाँमणी भण्डारी, क्षेत्रिय स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डा. तारानाथ पौडेल ,स्थानीय विकास अधिकारी भरत गौतम,बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठ लगाएतले सेवाको उद्घाटन गरेका थिए ।
पहिलो चरणमा एकै परीवारका ५ जना सदस्य बराबर २५ सय र त्यस भन्दा बढीमा प्रति व्यतिm ४ सय २५ रुपयौँका दरले दर्ता सहयोगीका माध्यमबाट स्वास्थ्य बिमा गर्न सकिने जनाइएको छ ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बागलुङले जिल्लाका  सबै गाविस तथा नगरपालकिामा ५२जना दर्ता सहयोगिमार्फत बिमा सदस्य दर्ता गरीरहेको जनाएको छ । हालसम्म बागलुङमा करिब २१ सय जनाले स्वास्थ्य बिमा गरेको जिल्ला संयोजक जीवलाल खरेलले जानकारी दिए ।