जलाधार क्षेत्रको संरक्षणमा ५१ लाख बढी लगानी

म्याग्दी, २ भाद्र – जिल्लाको भकिम्ली गाविसमा जलाधार क्षेत्रअन्तर्गत विभिन्न कार्यक्रममा साढे ५१ लाख रुपैयाँभन्दा बढी रकम लगानी भएको छ । जिल्ला भू–संरक्षण कार्यालय, स्थानीय उपभोक्ता र भकिम्ली गाविसमार्फत कुल ५१ लाख ५२ हजार ७४३ रुपैयाँ बराबरको जलाधार क्षेत्रको संरक्षणमा लगानी गरिएको हो । ‘स्थानीय सामाग्रीको प्रयोग गरौं, कम खर्चिलो भू–संरक्षण प्रविधि अपनाऔं’ भन्ने मूल नारासहित आर्थिक वर्ष २०६९÷७० बाट गरिएको कार्यक्रमको तीन वर्षको प्रगति समीक्षा र सार्वजनिक सुनुवाई गरिएको थियो । कार्यक्रमबाट हालसम्म भकिम्ली गाविसका ७१९ घरधुरी लाभान्वित भएका छन् । भू–संरक्षण कार्यालय म्याग्दीबाट मात्रै भकिम्ली गाविसमा ३७ लाख ५७ हजार १५४ रुपैयाँ जलाधार क्षेत्रको संरक्षणका लागि विभिन्न शीर्षकमा खर्च गरिएको जिल्ला भू–संरक्षण कार्यालयले जनाएको छ । यसैगरी स्थानीय उपभोक्ताको जनश्रमदान १६ लाख ९५ हजार ६३० रुपैयाँ र भकिम्ली गाविसबाट ६९ हजार रुपैयाँ पहिरो रोकथाम, भू–क्षय न्युनीकरणल गायतका विभिन्न क्षेत्रमा लगानी गरिएको छ । भू–संरक्षण कार्यालयको सहयोग, गाविसको साझेदारी र स्थानीयको पहलमा भकिम्ली गाविसको सबै वडामा खानेपानीका मुहान तथा पोखरीको संरक्षण र मर्मत गरिएको भू–संरक्षण अधिकृत दिवाकर पौडेलले बताए । त्यस्तै हरियाली सडक निर्माण, खेतबारी तथा पाखो संरक्षण, गल्छी एवं पहिरो उपचार, ढल निकास, पावर समूहलाई आयआर्जन कार्यक्रम, फलफुल र डालेघाँसका विरुवा वितरण, गोरेटोबाटो निर्माण, विद्यालयमा संरक्षण शिक्षा, सिँचाई कुलो निर्माण, ग्याविन जाली लगाउनेलगायतका कार्यक्रमहरु सञ्चालन गरिएको उनले जानकारी दिए । जलाधार क्षेत्रको संरक्षण गरी प्राकृतिक सन्तुलन कायम राख्न र विकासका पूर्वाधारको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले कार्यक्रम गरिएको अधिकृत पौडेलको भनाई छ । कार्यक्रममा रनकुमारी पुन, ओममाया रोका, रत्नबहादुर जिसी, प्रेमबहादुर पुन, खिमदेवी मगर, कमला पुन, फुलमाया पुन, डम्बरबहादुर छन्त्याल, मनबहादुर रोका, पदमबहादुर पुनले आ–आफ्नो वडामा महिला पावर समूह र वडा समन्वय समितिमार्फत सम्पन्न गरिएका कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । प्रति वडालाई भू–संरक्षण कार्यालयले तीन वर्षसम्म ५२ हजार रुपैयाँका दरले अनुदान सहयोग गरेको छ  । त्यसलाई घुम्ती कोषमार्फत परिचालन गरी अहिले १० लाखभन्दा बढी रकम बचत गर्न सफल भएको स्थानीयले बताएका छन् । कार्यक्रममा भू–संरक्षण अधिकृत दिवाकर पौडेलले सहजीकरण गरेका थिए । गाविस सचिव शिव शर्माको अध्यक्षता, भू–संरक्षण कार्यालयका सव–इन्जिनियर विरेन्द्र महतोको स्वागत र सामाजिक परिचालक कमला निउरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा समन्वय समिति संयोजक जसबहादुर पुन र सचिव पूर्णमाया जिसीले मन्तव्य राखेका थिए ।