मुस्ताङमा स्याउ उत्पादन सात प्रतिशतले घट्यो

मुस्ताङ, २ भाद्र – गत हिउँदमा कम हिउँ परेकाले मुस्ताङमा यसवर्ष स्याउको उत्पादन घटने भएको छ । समयमा हिउँ नपरेको, लामो सयमसम्म खडेरी तथा जिजीना मथ नामको कीराको आक्रमणका कारण फूल र पात नष्ट हुँदा गत वर्षको तुलनामा सात प्रतिशत उत्पादन घट्ने जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ ।
मुस्ताङमा गतवर्ष करिव चार हजार ८ सय मेट्रिकटन स्याउ उत्पादन भएकोमा यस वर्ष करिब चार हजार मेट्रिक टन मात्रै उत्पादन हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङका कृषि योजना अधिकृत तप्तबहादुर गुरुङ्गले जानकारी दिए ।
उनका अनुसार हिउँदमा प्रयाप्त हिमपात नभएको र फूल खेल्नेबेला जिजिनामथ नामक पुतलीले फूल र पात सबै सखाप पारेकाले उत्पादनमा ह्रास आएको बताए । जिल्लामा एक हजार ६९ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको भएपनि ३ सय ३५ हेक्टरमा लगाएको बोटबाट मात्रै उत्पादन हुने गरेको गुरुङले बताए ।
जिल्लाको टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, झोङ, घमी र छुसाङ लगयतका गाविसमा विगत लामो सयमदेखि स्याउको व्यावसायिक खेती हुँदै आएको र प्रत्येक वर्ष एक सयदेखि १ सय १० हेक्टर क्षेत्रफलमा विस्तार हुने गरेको कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत साबित्री बरालले जानकारी दिए ।
मुस्ताङमा उत्पादित स्याउको बजार राम्रो भएकाले बजारीकरणमा समेत खासै समस्या नभएको उनले बताए । अहिले कृषकहरूको बगैँचामै पुगेर ठेकेदारहरूले बगान नै खरिद गरिसकेकाले बजार खोज्नुपर्ने समस्या समेत नरहेको उनको भनाई छ । केही समय पहिलासम्म २० देखि ४० रुपियाँ दरमा विक्री हुने गरेको स्याउ अहिले ९० देखि एक सय रुपीयाँसम्म पुग्ने देखिएको कार्यालयको भनाई छ ।
सबै गाविससम्म यातायातको सरल पहुँच भएका कारण अहिले कृषकले राम्रो मूल्य पाएको कार्यालयका प्राविधिक मनिता तामाङ्गले जानकारी दिइन । अहिले मुस्ताङ्गमा रोयल डेलीसिएस, गोल्डेन तथा रिचारेड डेलिसियस जातका स्याउको खेती हुदै आएको छ । यातायातको सहज पहुँच र राम्रो मूल्य समेत पाउन थालेपछि अहिले जिल्लाका विभिन्न गाविसहरूमा व्यावसायिक रुपमा फर्महरू थपिएकाछन् ।
विभिन्न सहकारी तथा कृषि समूहहरूको व्यवस्थापनमा ८ देखि १० करोडसम्म लगानी गरेर फर्म संचालन भएको कार्यालयका योजना अधिकृत गुरुङ्गलले जानकारी दिए । व्यावसायिक फर्म संचालन गर्ने कृषकहरूलाई कार्यालयले प्राविधिक तालिम, अनुदान तथा स्याउका विरुवाहरू समेत वितरण गर्ने गरेको गुरुङ्गले जानकारी दिए ।
स्याउको बजारीकरणमा समस्या नभएपनि कृषकहरूले विक्रि गर्दा काँचो स्याउ विक्री गरेकाले बोटमा रोग देखिँदा यस वर्ष उत्पादनमा कमी आएकाले यस वर्षदेखि कृषकहरूलाई काँचो स्याउ विक्री नगर्न तथा नटिप्न सल्लाह दिएको छ ।
भदौको तेस्रो साताबाट मात्रै फल टिप्न उपयुक्त हुने भएकाले त्यसभन्दा पहिला काँचो स्याउ नटिप्न अनुरोध गरिएको गुरुङ्गको भनाई छ । कार्यालयका अुनसार यसबर्ष करिव ३० करोड रुपियाँ बराबरको स्याउ बिक्रीको अनुमान गरिएको छ । स्याउ छिमेकी जिल्ला म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौं लगायतका बजारमा विक्रि हुँदै आएको छ ।