पेशागत सुरक्षा महासंघको मुख्य दायित्व– डा. विष्ट
बागलुङ, २ भाद्र – नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र बिष्टले श्रमजिवि पत्रकार ऐन पूर्णरुपमा कार्यान्वयन गराउने प्रतिवद्धता जनाएका छन् ।
ढोरपाटन दैनिकको १३औं वार्षिकोत्सवको अवसरमा बागलुङमा बुधवार आयोजित कार्यक्रममा बोल्दै बिष्टले साना लगानीकर्ता र श्रमजिवि पत्रकार पलायन नहुने गरी ऐन कार्यान्वयनको ढाँचा ल्याएको बताए । आफ्नो कार्यकालमै ऐन लागू गराएरै छाड्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । सरकारले ल्याएको आम संचार नीतिको कार्यान्वयन, पत्रकार आचारसंहिता लागू र पेशागत सुरक्षा महासंघको मुख्य दायित्व भएको समेत डा. विष्टले बताए ।
‘नेपालको पत्रकारिता व्यवसायिकता मात्र नभएर अग्रगमनको आन्दोलनको समेत नेतृत्वदायी संस्था हो’ बिष्टले भने, ‘आन्दोलनमा सघाएका पत्रकारले पेशागत हित र सेवा सुविधा खोज्दा आनाकानी गर्ने मिडिया संचालकलाइ बाध्यकारी रुपमा ऐन कार्यान्वयनमा लगाइनेछ ।’ ऐन कार्यान्वयन गराउने संस्थालाइ राज्यको सेवा सुविधा बढाउने र कर छुट दिन लगाइने उनले बताए ।
कार्यक्रममा माओवादी केन्द्रका नेता तथा पूर्व शिक्षा मन्त्री दिननाथ शर्माले सबैको विचार समेट्न सक्नुपर्ने धारणा राखे । संचारमाध्यम एकजनाको मात्र नभइ सबैको बन्न सकेमा समाजमा शुसाशन कायम कायम हुने धारणा राखे ।
राजनीतिक दल, प्रशासन, कर्मचारीतन्त्र र नागरिक समाजलाइ सहि सूचना दिन पत्रकार सक्षम हुनुपर्ने धारणा राखे । ढोरपाटन दैनिक प्रकाशन गर्ने युनिक संचार सहकारीका अध्यक्ष कृष्णमैया अधिकारीको अध्यक्षता, ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकुष्ण बोहोराको स्वागत र पत्रकार दिल शिरिषको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रिय प्रचार विभागका सचिव बिष्णु रिजाल, राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक एकराज पाठक, राजनीतिक दलको तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, बागलुङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बसन्तकुमार श्रेष्ठ, साहित्यकार प्रेम छोटा, ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम लगायतले बोलेका थिए ।
२०६० भदौ १ गते स्थापना भएको ढोरपाटन दैनिक मोफसलमा निरन्तर प्रकाशित हुने क बर्गको दैनिक पत्रिका हो ।
टिका– विद्या पुरस्कार प्रदान
ढोरपाटन दैनिक प्रकाशन गरेको युनिक संचार सहकारी संस्थाकी अध्यक्ष कृष्णमैया अधिकारीले बाबु टिकाबहादुर र आमा विद्या विद्यालक्ष्मी राजभण्डारीको स्मृतिमा स्थापित ‘टिका विद्या स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार राजेशचन्द्र राजभण्डारी र भाषा शर्मालाइ प्रदान गरिएको छ ।
ढोरपाटन दैनिकको १२ औं वार्षिकोत्सवको अवसरमा १लाख रुपैयाँ राशीको अक्षयकोषबाट स्थापित यो पुरस्कारबाट पहिलो पटक उनीहरुलाइ पुरस्कार प्रदान गरिएको हो । दुवै जनालाइ १० हजार १ सय ११ रुपैयाँ पुरस्कार सहित सम्मान पत्र दिइएको हो । वार्षिकोत्सवका कार्यक्रमका प्रमुख अतिथि डा.महेन्द्र बिष्टले उनीहरुलाइ पुरस्कार प्रदान गरेका थिए ।
पत्रकार राजेशचन्द्र राजभण्डारी २०४३ साल देखि विभिन्न संचारमाध्यममा काम गर्दै आएका छन् । हाल उनी एभिन्युज टेलिभिजनमा कार्यरत छन् । त्यस्तै भाषा शर्मा बागलुङका विभिन्न संचारमाध्यममा काम गर्दै हाल नागरिक दैनिक काठमाण्डौमा कार्यरत छिन् ।
लेखक र स्तम्भकारलाई सम्मान
बार्षिकोत्सवको अवसरमा नेपाली साहित्यमा उल्लेख्य योगदान दिएका पूर्व शिक्षामन्त्री, एमाओवादी केन्द्रका नेता एवं लेखक दीननाथ शर्मालाइ सम्मान गरिएको थियो ।
शर्माले आत्मपरक निवब्ध र राजनीतिक दस्तावेजहरुको लेखनमा उल्लेख्य भूमिका निर्वाह गरेका छन् । बागलुङको अमलाचौर घर भइ नेपाली राजनीतिको उच्च तहमा पुगेरपनि उनले निरन्तर लेखरचनालाइ जारी राखेका छन् ।
त्यस्तै बार्षिकोत्सवकै अवसरमा ढोरपाटन दैनिकका निरन्तर लेख रचना लेख्ने स्तम्भकार भरत बागलुङे, बाहिरी संचारमाध्यमबाट बालकृष्ण सुवेदी, उत्कृष्ठ कार्यसम्पादन गरेका कर्मचारीहरु मध्येबाट ज्योतिष सूर्य पौडेल समेतलाइ पुरस्कार तथा सम्मान गरिएको थियो । नियमीत विज्ञापनदाता जुपिटर एजुकेशनल कन्सल्टेन्सीलाई सम्मान गरियो ।
ढोरपाटनका पत्र पुस्तक विमोचन
ढोरपाटन दैनिकले आफ्नो बार्षिकोत्सवका अवसरमा ‘ढोरपाटनका पत्र’ पुस्तक प्रकाशन गरेको छ । ढोरपाटनका नियमीत स्तम्भकार पत्रकार एकराज पाठकले लेखेको ‘राजधानीको पत्र ढोरपाटनलाई’ स्तम्भका लेख/निबन्धको संगालो ‘ढोरपाटनका पत्र’ पुस्तक बिमोचन गरिएको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा.महेन्द्र बिष्टले उक्त पुस्तक बिमोचन गरेका हुन् ।
पत्रिकाको स्थापना कालदेखिनै पाठकले ‘ढोरपाटनलाइ राजधानीको पत्र’ शिर्षकमा नियमित स्तम्भ लेख्दै आएका छन् । पुस्तकमा ७५ वटा लेखरचना संग्रहित रहेका छन् । पाठक राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक हुन् ।
बागलुङको अमलाचौर घर भएका पाठकले राजधानीमा बसेर पनि ढोरपाटनका लागि नियमित लेख रचना लेख्दै आएका हुन् । पुस्तकको टिप्पणी अधिकारकर्मी राम शर्माले गरेका थिए । ‘ढोरपाटन दशक’ पछि प्रकाशित यो ढोरपाटन दैनिकको दोस्रो प्रकाशन हो ।