सूचना नदिनेलाई कारवाही गरिने

बागलुङ, ४ भदौ – प्रत्येक कार्यालयमा सूचना अधिकारी तोक्ने र उनीहरुको फोटो सहितको नाम नराख्ने कार्यालय प्रमुखलाइ कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले चेतावनी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयको आयोजना र नेपाल पत्रकार महासंघको संयोजनमा आयोजित राष्ट्रिय सूचना दिवश समारोहमा बोल्दै प्रजिअ पाण्डेयले प्रत्येक नागरिकले मागेका सूचना दिन सबै कार्यालय, संघसंस्था र राजनीतिक दल बाध्य हुने बताए । ‘मागेको सूचना पाउनैपर्छ, जवसम्म सूचना लुकाउने अवस्था रहन्छ, त्यहा“ कमजोरी छ भन्ने बुझीन्छ’ पाण्डेयले भने, ‘राज्यको अग्रगामी विकासका लागि सूचनाको पहु“च आम नागरिकमा पुग्न जरुरी छ ।’ सूचना लुकाएको र मागेको समयमा नदिएको थाहा पाएमा त्यस्ता सूचना अधिकारी र कर्मचारीलाइ कारवाही गर्ने उनले चेतावनी दिएका हुन् ।
हरेक कार्यालयका सूचना अधिकारीलाइ कार्यालयको पूर्ण सूचना जान्ने अधिकार भएको भन्दै उनले थाहा नपाउनु प्रमुखको नभइ उसैको कमजोरी भएको उनले टिप्पणी गरे । जनतालाइ सूचना नदिने कर्मचारीको मानसिकता परिवर्तन गर्न उनले आग्रह पनि गरेका थिए । २०६४ सालमा सूचनाको हक सम्बन्धी ऐन आएपछि राष्ट्रिय अखण्डता र सुरक्षामा खलल पुग्ने बाहेकका सबै सूचना दिन मिल्ने व्यवस्था गरेको छ । उक्त व्यवस्था अनुसार सूचना नदिए आयोगमा उजुरी दिन पाउने कानूनी व्यवस्था छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हरिनारायण गौतमले सूचनाको हकलाइ व्यवस्थित गर्न सकेमा देशको विकास संभव हुने बताए । विकासको गतिमा हिडेका धेरै देशले सूचना व्यवस्थित गरेकोले सफलता पाएको उनले बताए ।
प्रजिअ पाण्डेयको अध्यक्षता, पत्रकार महासंघका सचिव दिल शिरिषको संचालन र महासंघका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको स्वागतमा सम्पन्न कार्यक्रममा नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठ, बागलुङ नगरपालिकाका योजना अधिकृत युक्तप्रसाद सुवेदी, गलकोट सूचना तथा संचार सहकारी संस्थाका अध्यक्ष राज थापा लगायले बोलेका थिए । कार्यक्रममा सहभागिले राखेको जिज्ञाशा पछि पाण्डेयले राजनीतिक दल, सबै संघसंस्थाले पनि त्रैमासिक रुपमा खर्च तथा अन्य प्रगती प्रतिवेदन सार्वजनिक गर्नुपर्ने धारण राखेका थिए ।