ओली सरकारले ५ करोड दिएकै हो, मैले ‘लिन्न’ भने ।

बागलुङ,४ भदौ–अहिले देशभर चर्चामा रहेको राष्ट्रिय आबिस्कार केन्द्रका अध्यक्ष महावीर पुनले केपी ओली सरकारले केन्द्रलाई ५ करोड दिएपनि आफुले लिन नमानेको वताएका छन् । आविस्कार केन्द्रको प्रचारका लागि शनिवार बागलुङ आएका पुनले अन्तरक्रिया कार्यक्रममा भने– प्रधानमन्त्री (सरकार) लाई मैले ५० करोडको प्रस्ताव पेश गरेको थिए, अन्तिम अवस्थामा आएर ओली सरकारले विज्ञान मन्त्रालय मार्फत ४÷५ करोड लैजान भन्यो, मैले लिन्न भनेको हुँ ।’
विगत चार बर्षदेखि सरकारको आश्वसान कुरेर वसेको भएपनि बजेट भाषणमा आफ्नो कार्यक्रम नपरेपछि जनतालाई महादान माग्न आएको छु, पुनले भने–अव आविस्कार केन्द्र तपाईहरु जस्तै सवै नेपालीको सहयोगबाट सञ्चालन गर्ने हो । सहयोगका लागि सवैतिरबाट फोन र इमेल आइरहेका छन् । अव काठमाण्डौ पुगेर जम्मा भएको सहयोगको परिणामा घोषणा गर्नेछु ।
बागलुङ उधोग बाणिज्य संघको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा पुनले केन्द्र जनताको चन्दाबाट संचालन गर्ने गरी देशभरी आर्थिक संकलन अभियान थालिने बताए ।
केन्द्र संचालनमा आएपछि पहिलो पटक देशभरका युवाहरुको बिचार तथा तर्क संकलन गर्ने, त्यसलाइ विकास तथा उत्पादनमा लगाउने बताए । उनीहरुको आइडियालाइ प्राविधिक सहयोग गर्ने र लगानीकर्तासँग जोड्नका लागि पहल गर्ने चरणबाट विकास गरिने उनले बताए ।
‘अनुसन्धान केन्द्र भएकोले धेरै अनुसन्धान असफल हुन पनि सक्छन’ पुनले भने, ‘सफल भएपछि एउटै अनुसन्धानले पनि देशको आर्थिक समृद्धिलाइ उचो बनाउन सक्छ ।’ उनले विदेशीका सामान बेचेर, नेपालीलाइ विदेशमा काम गर्न पठाएर मात्र धनी बन्न नसक्ने धारणा राखे ।