भारतीय प्रधानमन्त्री मोदी र गृहमन्त्री निधिबीच भेटवार्ता

काठमाडौं, ४ भदौ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच शनिवार बिहान भेटवार्ता भएको छ। भेटमा गृहमन्त्री निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी मोदीलाई पठाएको विशेष सन्देशसहितको पत्र पनि हस्तान्तरण गरेका थिए।
आफ्नै निवास सेभन रेस कोर्समा भएको भेटमा मोदीले प्रचण्ड नेतृत्वको नयाँ सरकारलाई सहयोग गर्ने बचन दिएका छन् । ‘प्रधानमन्त्रीले भारत सरकार र भूकम्पपछिको पुनर्निर्माणमा नेपाली जनतालाई सहयोग गर्न प्रतिवद्ध छ भन्नु भएको छ’ प्रधानमन्त्रीको कार्यालयले भनेको छ । अघिल्लो वर्ष वैशाखमा भएको विनाशकारी भूकम्पपछि पुनर्निर्माणमा सहयोग गर्ने ठूलो दाता हो भारत । र, प्रचण्ड सरकारले भूकम्प प्रभावित परिवारलाई थप एक लाख अनुदान दिन चाहेको भन्दै यसमा भारतीय सहयोग चाहेको छ ।

प्रचण्डको विशेष दूतका रुपमा गृहमन्त्री निधि बिहीबार भारत पुगेका हुन्। उनले यसअघि भारतीय राष्ट्रपति प्रणब मुखर्जी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज लगायतसँग भेटवार्ता गरिसकेका छन्।