नखर्माउली संग डाईबर फ“सेपछि !

तीते करेली
कृष्णराज शर्मा
कुनै पनि कार्यको थालनी गर्दा होस्, अथवा कतै बाटो लाग्दाहोस्, शुभ साईत हेरिन्छ । यो शुभ साईतको बारेमा मान्छेहरूका फरक–फरक विश्वास र धारणाहरू छन् । कसैले मान्छन् । कसैले मान्दैनन् । मान्ने त मान्ने नै भए । नमान्नेले पनि थालेको कामको उल्टो परिणाम हात परेपछि अथवा त्यस्तो घटना घटेपछि कार्यारम्भ पूर्वको अवस्थाको लेखाजोखा गरेर साईत जुराउन पर्ने रहेछ भन्छन् । भयङ्कर आस्तिकहरू पनि मन–मनै साईत हेरेर काम गर्छन् । बाटो लाग्छन् । यि आस्तिकहरू आफ्ना सन्तानसँग कुरो लुकाएर बुढाबुढीले खुसुक्क कान–कानमा साईतका कुरा गर्छन् । मैले भन्न हुन्न के तैंले सुटुक्क चीना हेराई । ज्योतिषीले के भन्छ त्यही गरम्ला बुढी । छोराछोरीलाई नभन्नु, बुझिस् ? यो चीना हेराएको थाहा पाए म नेता कमरेड हुन सक्दिन, बुझिस् ? जय नेपाल भनेपनि पत्याउन्नन्, बुझिस् ? मान्नुस् या नमान्नुस् यो सत्य हो । साईत मान्नेले साईतै बिथोलियो भन्ने लागेमा अगाडी बढ्दैन । र पुनः अर्को साईत पर्खन्छ । अनि अगाडी बढ्छ । साईतको बारेमा यस्तो छ हिजोआजको समय । कतिपय आरम्भहरू फेरी साईत जुराउने अबसर नै मिल्दैन । जस्तै प्रधानमन्त्रीको शुभ साईत भनेको सपथ समय हो । यो साईतमा गडबड भए अर्को साईत खोज्नै सकिन्न । तर अस्ति साउन २० गते त्यस्तै भयो । गडबड भयो । प्रचण्डले बोल्दा बोल्दै अकमकाए । यो अकमकाउनु भनेको साईत बिग्रनु थियो । अकमकाउनुको कारण ईश्वर नमान्नु थियो । यसैबेला शुभ साईतमा अशुभ उभियो । त्यसपछि अशुभ संकेत देख्न घण्टा कुर्नु परेन । हेरौं के के भयो !
साउनको १९ गते प्रचण्ड संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भए । भोलीपल्ट शीतल निवासमा आयोजित भव्य समारोहमा राष्ट्रपति विद्या भण्डारीबाट उनले सपथ लिए । सपथ पत्रमा लेखिएका शब्द मध्ये ‘ईश्वर’ शब्द छुटाएर सपथ लिए । यसरी सपथ खाएको घण्टा नबित्दै कर्णाली नदीमा जहाज दुर्घटना भयो । पाईलटहरू नदीमा हामफालेर बाँचे । जहाज नदीमा बग्यो । त्यसको केही दिनपछि गोरखाबाट सुत्केरी बिरामीको उपचार गराउन काठमाण्डौ ल्याउँदै गर्दा हेलिकप्टर दुर्घटना भयो । हेलिकप्टर पनि मर्यो अरू सातजना मान्छे पनि मरे । फेरी काभ्रेमा बस दुर्घटना हुँदा ३५ जना एकै चिहान बने । भीरमा क्षतविक्षत् लाशहरू देख्दा मन थामी नसक्नु थियो । त्यही दिन महाकाली अञ्चलमा भएको अर्को बस दुर्घटनामा परेर चारजना ठहरै भए । साउन मसान्तको दिन परासीको दाउन्ने र बागलुङको रेशमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा थप चार जनाले बिदा लिए । यसरी साउन २० गते यताका बाह्र दिनमा करिब पाँच दर्जन नेपाल आमाका मुटुका टुक्रा निर्दोष छोराछोरीहरूले अनाहकमा ज्यान गुमाए । चारपाँच दिनको शिशुको रगत पोखियो । होनहार युवाहरूको सपना पोखियो । बाबाआमाका सपना चकनाचुर बनेर फुटे । एकै परिवारका सा–सात जना यि दुर्घटनाहरूले खोसेर लगे । गाउँ बस्ति शोकाकुल त छ–छ, उजाड र फुङ्ग उडेको अवस्थामा छ । बस्तिमा बाँचेकाहरूमा एकापसमा जाँगर हराएको छ । सबैको जीवन सुस्ताएको छ । न जीवनको रस छ,न त आश भरोशा र जोश छ । जताततै जीवन देखि निराशा छाएको छ । अमूल्य जीवनको मूल्य तोकेको सुनेर मुटुहरू काँपेका छन् । कसलाई के भन्ने ! कसलाई सुनाउने ? के सुनाउने ? किंकर्तब्यमुढ मनहरू चूपचाप छन् । नेपालै भरिका मन हार खान थालेका छन् । हारेका मन जिताउन कसैले खोज्दैन । जान्दैन । मौकाको फाईदा लुट्ने स्वार्थीहरू उल्टै मन चोर्न दौडेका छन् । यो हालत सुधार्न कतै गम्भीर चिन्ता देखिंदैन । तर मेरो मनले गम्भीर भएर भन्यो– हे भगवान् ! तिम्रो अपमान एउटाले गर्छ, अरूलाई किन सजाएँ दिन्छौ ? हे ईश्वर ! तिम्रा सुन्दर रचनाहरू, तिम्रा सुन्दर शील्पहरू किन फोतर्छौ ? किन कोतर्छौ ? जो दोषी छ, उसैलाई दण्ड देऊ ! निर्दोष माथी अन्याय नगर ! जसले ईश्वर मानेन उसलाई छुन सक्दैनौ ? रातदिन तिम्रो भजन कीर्तन गाउने माथी किन यस्तो कठोर निष्ठुरी बन्छौ ? हे भगवान, हे ईश्वर ! कृपा गरेर तिम्रा सन्तान तिमीले नै अकालमा खोसेर नलैजाऊ, नमार ! यो मेरो मनको पुकार भगवानले सुनेछन् भने आईन्दा यस्तो कहालीलाग्दो दिन नेपालीको घर आँगनमा कहिल्यै आउने छैन ।
परारैदेखि हाम्रो देशमा भयानक दुर्घटनाहरू हुँदै आएका छन् । गिरीजाकालमा पनि ठूल–ठूला दुर्घटना भए । पाकिस्तान एअरलाईन्स र थाई एअरवेजका बोईङ जहाजहरू उनकै पालाका दुर्घटनामा परे । नेपाली हवाई आकाशका यि कहिल्यै नमेटिने र कहिल्यै नबिर्सने काला घटना हुन् । पाँच पटक प्र.म.बन्ने सौभाग्य पाएका गिरीजा जतिपटक प्र.म.बन्थे दुर्घटना निम्ताउँथे । र भन्ने गरिन्थ्यो फेरी गिरीजा प्र.म.हुने भएछन् लौ अब के सुन्नु पर्ने हो ! एक प्रकारको अशुभ संकेत थिए गिरीजा । त्यसो त, अरू बाँकी सबै प्रधानमन्त्रीहरू शुभै शुभका जलघडाले भरिपूर्ण थिए भन्न खोजेको होईन । अरूका पालामा पनि ठूलठूला दुर्घटना भएका छन् । थुप्रै नेपालीहरूले ज्यान गुमाएका छन् । कृष्णभीरको पहिरोले दशकौं सतायो । शयौं मान्छे खायो । दर्जनौं बस कार ट्रक खायो । त्यो बेलामा पनि प्रधानमन्त्री थिए । गिरीजा त अब यो संसारमा छैनन् । तर उनका कुराहरू इतिहास बनेर पढिन्छन् । गिरीजालाई यहाँ त्यसरी नै पढिएको हो ।
अब आयो दोश्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डका कुरा । अर्थात पुष्पकमल दहाल अझै भनौं छबिलालका कुरा । उनी पहिलो पटक प्रधानमन्त्री बन्दाका बखतमा घटेका राजनीतिक घटनाक्रमलाई केलाएर हेर्दा अहिले पनि डराई रहेछन मान्छेहरू । केलाउन पनि पर्दैन नाङ्लामा राखेर हेरे पुग्छ । पशुपतीका भट्ट र आर्मीका चीफ कटुवाल साहेब हेरे पुग्छ । दोश्रो कार्यकालको शुभारम्भ मै काष्टिङ झूर गरे । त्यही माथी भनिएको घटना घटाए । सुनसरीमा भैंसी पूज्न हुने, ईश्वरको नाममा शपथ खान नहुने ? यहींनेर प्रचण्डले अशुभ संकेत गरे । यही कारण देश डराई रहेको छ । उनको पुरा कार्यकाल भरी के–के हुने हो चिन्ता छ चारैतिर । प्रधानमन्त्रीको शपथ खाएको बाह्रदिन साठी जना मरे । सरकारले यि घटनालाई नियमित आकस्मिकता मात्रै ठानेको छ । यस अघिका सरकारले पनि मान्छे मर्नुलाई यसै ठान्थे । तर धर्मै छाडेका थिएनन् । यिनले छाडे । कामना गरौं, थप अशुभ केही सुन्न नपरोस् ।
मान्नु हुन्छ तपाईं ? म बागलुङको मेरो घरबाट काठमाण्डौ हिंड्ने दिन तीस गतेको आईतबार साईत जुराएदेखि मेरो मनमा चिसो पस्यो । चिसो किन पस्यो भन्ने कुरा मै भन्न डराउँछु । तैपनि भन्छु, सुन्नुस्– म चढ्ने गाडी कस्तो छ । मेरो गाडीको चालक कस्तो हो । गाडी हाँक्दा डाईबरले तरूनी सित कत्तिको फोनमा कुरा गर्छ । आफ्नो सिटको आडमा कस्ति नखर्माउली राख्ने हो । नखर्माउलीलाई देखाउन कुन गतिमा गाडी दौडाउने हो । कस्ता गीत बजाउने हो । नेपाली दोहोरी बजाउँछ कि हिन्दी बजाउँछ । त्यो नखर्माउलीले डाईबरका स्टेरिङमा गएका हात समातेर उतै टाँसिन्छे कि । यही बेला ड्याङ्ग आवाज आउने हो कि । अरे बाबा मेरो मन चिसो मात्रै होईन बरफ हुन्छ, यि कुरा सम्झदा । मान्छे कति कोच्ने हो । कतिवटा मुढा राखेको छ । दुईटा सिटमा तीन जना हाल्छ । तीन जना हाल्दा निचोरिएको ग्यास कस्तो आउने हो । यो मेरो मनको चिसो कुनै एउटा नेपाली वीर र बहादुरले गलत भन्दियो भने म विष खाएर मर्न तयार छु । सक्नुहुन्छ कसैले मेरो कुरा गलत भन्न ? यस्तो छ नेपालीको जीवनरेखा । नेपालीको भाग्यरेखा । अझ भएन ईश्वर भन्न लाज मान्ने । भगवानको कृपामा बाँच्नेहरू भगवानलाई लात् मार्छन् । पशुपतीनाथले चलाएको देश भन्दाभन्दै बनारसी विश्वनाथले चलाउन थालिसके । डाईबरको साथमा खलासी हुनुपर्नेमा नखर्माउली बसेपछि गाडी गन्तब्यमा कसरी पुग्छ ? अहिले देशमा भैराखेको यथार्थ यही हो । अझ ईश्वर मान्दिन रे ! अन्तमा, यतिसम्म भनौं कि, जतिसुकै जनताका समस्याका चर्का कुरा गर्ने सरकार आएपनि सरकारले केही नेपर्दैन । मर्ने मर्दै गर्छन्, सरकार भोज खान छोड्दैन । उसलाई भन्नु बेकार छ । जनता आँफै सचेत बन । अरूको भर नपर । सरकार भनेको राक्षस् हो, राक्षस ! यसले मान्छे खान्छ, मान्छे ! मान्छेको मासुको भोज खान्छ । त्यही भएर दिनदिनै गाडी गुल्टाउँछ । यो वा ऊ सरकार भनेर गोडा नमोल । आफ्नो ज्यू बचाऊ ! बाँचेपछि त्यसै धन हो । जीवन धन हो, अरू लोभ नगर !