‘विचारको खोजीदेखि वस्तुको आविष्कार र निर्यातसम्म’

बागलुङ, ५ भदौ -देशभर चर्चामा आएको राष्ट्रिय आबिष्कार केन्द्रलाइ ४ वटा सूचक सहितको मोडलमा विकास गरिने म्यागासेसे पुरस्कार बिजेता महाविर पुनले बताएका छन् ।
शनिवार बागलुङमा आयोजित एक कार्यक्रममा पुनले आविष्कार केन्द्र जनताको चन्दाबाट संचालन गर्ने गरी देशभरी आर्थिक संकलन अभियान थालिने बताए । कम्तिमा ५० करोड रुपैयाँ सहित संचालन गर्नेगरी सरकारसँग माग गर्दा नपाएपछि उनले जनताको चन्दाबाट केन्द्र संचालन गर्ने तयारी गरेको बताए ।
विज्ञान मन्त्रालयले ४/५ करोड दिन्छु त भनेको थियो तर मैले सो रकम लिन्न भने, पुनले भने– ‘चार बर्षदेखि सरकार प्रमुख र मन्त्रालय धाउदा पनि नदिएपछि सरकारको रकम नलिने घोषणा गरेको हुँ ।’ केन्द्र संचालनमा आएपछि पहिलो पटक देशभरका युवाहरुको बिचार तथा तर्क संकलन गर्ने, त्यसलाइ विकास तथा उत्पादनमा लगाउने बताए । उनीहरुको आइडियालाई प्राविधिक सहयोग गर्ने र लगानीकर्तासँग जोड्नका लागि पहल गर्ने चरणबाट विकास गरिने उनले बताए ।
‘अनुसन्धान केन्द्र भएकोले धेरै अनुसन्धान असफल हुन पनि सक्छन’ पुनले भने, ‘सफल भएपछि एउटै अनुसन्धानले पनि देशको आर्थिक समृद्धिलाई उचो बनाउन सक्छ ।’ उनले विदेशीका सामान बेचेर, नेपालीलाई विदेशमा काम गर्न पठाएर मात्र धनी बन्न नसक्ने धारणा राखे । अहिलेसम्म विश्व बजारमा श्रम, दिमाग र बस्तुको उत्पादन बेचेर आर्थिक आर्जन गर्न सकिने भएपनि दिगो विकासका लागि उत्पादन आवस्यक भएको उनले बताए ।
आफ्नो स्थानीय साधन श्रोतबाट बस्तु उत्पादन गरेर निर्यात गर्न सकेमा राष्ट्रले आर्थिक समृद्धिमा सफलता पाउन सक्ने उनले बताए । ‘नेपालकै जलश्रोत, जडिबुटी र संभावित बस्तु उत्पादन गरेर बिदेश निर्यात गर्न सक्नुपर्छ’ उनले भने, ‘प्रतिभाशाली व्यक्तिलाइ प्रविधि र उत्पादनलाई बजार खोज्ने काम केन्द्रले गर्छ ।’ व्यक्तिगत स्वार्थ र फाइदाका लागि आँफूले आविस्कार केन्द्र भन्दै नहिडेको उनले स्पष्ट पारेका थिए । लाखौं युवालाई नेपालमै बसेर काम गर्न पाउने वातावरण पनि केन्द्रले गर्ने उनले लक्ष राखेका छन् । केन्द्रले १० मेगावाट सम्मको विद्युत उत्पादन गर्ने, विद्युतलाई केन्द्रकै काममा खर्च गर्ने समेत योजना छ । यो अभियानलाइ अगाडि बढाउन विश्व बैंक र एशियाली विकास बैंकमा ऋण खोज्न पुगेका पुनलाइ ३० प्रतिशत स्थानीय सहभागिता र ७० प्रतिशत ऋण दिन सक्ने आश्वासन दिएपछि उनी नेपाल फर्केर सरकारसँग बजेट माग गर्न थालेका थिए । यो अभियानलाइ सफल बनाउन सरकारका विज्ञान प्रविधिमन्त्रीदेखि अर्थमन्त्रीसम्म र प्रधानमन्त्री तहमा पनि छलफल भएको उनले प्रष्ट्याए ।
राज्यतहबाट बजेट दिने खासै चासो नभएपछि जनताको दैलो चाहरेर भएपनि आविस्कार केन्द्र संचालन गर्ने उनले प्रतिवद्धता जनाए । ताररहित इन्टरनेट सेवाको शुरुवात गरेर म्याग्दीको नाँगी गाउँलाइ चर्चामा ल्याएपछि उनले अन्तराष्ट्रिय स्तरको म्यागासेसे पुरस्कार पाएका थिए ।
अहिले उनले नेपालका २ सय बढी गाउँमा इन्टरनेटबाट जोडिसकेका छन् । म्याग्दी र मुस्ताङमा यस्तो प्रविधिको बढी प्रयोग भएको छ । उक्त सफलतापछि उनले आविस्कार केन्द्रको अवधारणा ल्याएका हुन् । झण्डै ३ बर्ष अघि पनि उनले नेपालको एक मात्र शिकार आरक्ष रहेको ढोरपाटन स्थित मैदानलाइ शितकालिन ओलम्पिक खेलका लागि अभ्यास गर्ने मोडल मैदान बनाउन प्रस्ताव गरेका थिए । त्यसको विकास गर्न सकिने संभावना र पर्यटन प्रवद्र्धनबाट बर्षेनी करोडौ रुपैयाँ आम्दानी गर्न सकिने बस्तुतथ्य आधार सहितको प्रस्ताव पुनले पर्यटन बोर्ड र मन्त्रालयमा पठाएका थिए ।
सरकारको उदासिनाताका कारण उक्त प्रस्ताव पनि अहिले सम्म अलपत्र परेको उनले गुनासो गरे । आविस्कार केन्द्रका लागि सहयोग गर्न चाहने नेपालीलाइ एभरेष्ट बैंक र हिमालयन बैंकमा रहेको आविस्कार केन्द्रको खातामा रकम जम्मा गर्न सकिने व्यवस्था भएको उनले बताए । इन्टरनेट मार्फत नेपालका सबै गाउँहरु जोडेर नेपालीलाइ प्रविधि युक्त बनाउने तथा त्यसबाट राजश्व समेत संकलन गर्न सरकारलाइ ९ बर्षदेखि सुझाव दिएपनि कार्यान्वयनका लागि वास्ता नभएपछि उनले आवस्यक परेमा अनसन बसेर ध्यानाकर्षण गराउनुपर्ने समेत उनले बताए । बागलुङ उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ बागलुङ शाखा र क्यान महासंघ बागलुङले संयोजना गरेको अन्तरक्रियामा पुनले व्यवसायीलाइ आविस्कार केन्द्रको अभियानमा सहयोग गर्न आग्रह गरेका थिए ।