रुट परमिट नभएका सडकमा सवारी संचालनमा रोक

म्याग्दी, ६ भदौं – रुट परमिट नभएका सडकमा ठुलो जनधनको क्षती हुने गरी सडक दुर्घटना हुन थालेपछि धौलागिरि अञ्चलमा समेत रुट परमिट नभएका सडकमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
आइतबार बेनीमा यातायात ब्यवसायीसंग भएको कार्यक्रममा रुट परमिट विना सोमबारदेखी सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको म्याग्दी जीप तथा बस सञ्चालनक समितिका उपाध्यक्ष मोहन केसीले ढोरपाटनलाई जानकारी दिए । उनका अनुसार, बेनी–जोमसोम सडकमा अस्थायी रुट परमित भएपनि जिल्लाका अन्य ग्रामिण सडकहरुमा नभएको बताए ।
काभ्रेमा भएको सडक दुर्घटना पछि गृह मन्त्रालयले देशभरका प्रशासनलाई रुट परमिट नभएका सडकमा सार्वजनिक यातायात रोक्न निर्देशन दिएपछि आज उक्त निर्णय भएको हो । ‘रुट नभएका सबै सडकमा सार्वजनिक सवारी सञ्चालन भएको देखिए सिधै कारवाही हुन्छ । भोली देखी चेकजाँच कडाई हुन्छ’ प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले भने ।
निर्णय संगै सडक सञ्जाल जोडिएका म्याग्दीका कुनै पनि सडकमा यातायातका साधन सञ्चालन हुने छैनन् । पश्चिम म्याग्दीको दरवाङ सहित जिल्लाभरको सडकमा यातायातका साधन सञ्चालन नहुदाँ सर्वसाधारले अर्को निर्णय नभएसम्म पैदलयात्रा गर्नुपर्ने भएको छ । यसैविच यस विषयमा सोमबार दिउँसो ३ बजे बागलुङमा बैठक समेत राखिएको छ ।