असुरक्षित यात्रा

हरेक प्रकाशित हुने अखबारहरुमा सवारी दुर्घटनाका घटनाहरु अनिवार्य आउने गरेका छन् । नेपालमा हवाईपछि सबैभन्दा दुर्घटना हुने सवारी साधन हुन् । सवारी साधन दुर्घटनाका कारण निर्दाेष नागरिकहरुले अनाहक ज्यान गुमाउन बाध्य भएका छन् । प्राविधिक जाँच बिना बनाईएका ग्रामिण सडक होस् वा राष्ट्रिय राजमार्गमा पनि क्षमताभन्दा बढी यात्रु बोक्ने परम्पराका कारण भयानक सवारी दुर्घटना हुने गरेका छन् । विकासको नाममा अहिले घर घरमा मोटरबाटो लैजाने सनकका कारण दुर्घटनाको दर पनि बढ्दै गएका छन् । प्रायः जसो वर्षामा सबैभन्दा बढी ग्रामिण सडकहरु सवारी चलाउनै नसक्ने अवस्था रहेका छन् । तर, त्यो जोखिमको मुल्यांकन नै नगरी सवारी साधनहरु चलाउँदा नागरिकको ज्यान जाने संख्या पनि बढ्दै गएको छ । अहिले दैनिक जसो दुर्घटनाका हुने क्रम जारी रहेको छ । क्षमताभन्दा यात्रु बढी बोक्ने, रुट परमिट नभएका सडकमा जर्बजस्ती सवारी चलाउने, चालकहरुमा सवारी दुर्घटनाको बारेमा आवश्यक ज्ञान नहुनु, यात्रुहरुले पनि दुर्घटनाको जोखिमबारे मुल्यांकन नै नगरी जर्बजस्ती सवारीमा कोचिने स्वभावका कारण पनि सवारी दुर्घटना बढ्दै गएका हुन् । सवारी साधन व्यवस्थापन र सडकको बारेमा ट्राफिक प्रहरी र प्रशासन सचेत नहुँदा पनि चालकले जर्बजस्ती सवारी चलाउने गरेका छन् । सवारी चालकको जर्बजस्तीकै कारण काभ्रेमा भयानक दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको छ । देशका अधिकांश कृषि सडकहरु वर्षासंगै सवारी चलाउनै नसक्ने अवस्था हुन्छन् तर त्यसको जोखिमबारे सम्बन्धित निकायले सचेत नगराउँदा दुर्घटना बढेका हुन् ।
सवारी साधन चलाउनै नपाउने सडकमा जर्बजस्ती गर्ने, क्षमताभन्दा यात्रु बोक्ने सवारीका चालकलाई सम्बन्धित निकायले जबसम्म कडा कार्बाही गर्न सकिदैन । तबसम्म दुर्घटनामा न्युनिकरण नआउनेमा निश्चित छ । त्यसैले रुट परमिट नभएका सडकमा सवारी सञ्चालनमा रोक लगाउन जरुरी छ । यातायात व्यवस्था कार्यालय, प्रहरी, प्रशासन, ट्राफिक प्रहरी र यातायात व्यवसायी मिलेर रुट परमिट नभएका सडकमा सवारी चलाउनमा प्रतिबन्ध लगाउन जरुरी छ । त्यसको लागि यातायात व्यवसायीले आनाकानी गर्नु हुँदैन । आइतबार बेनीमा यातायात ब्यवसायीसंग भएको कार्यक्रममा रुट परमिट विना सोमबारदेखी सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको छ जुन स्वागतयोग्य छ । यसलाई कार्यान्वयनमा ल्यानको लागि सरोकारवाला निकायले पक्कै पनि जिम्मेवारी बहन गर्नेछन् भन्ने नागरिकले अपेक्षा गरेका छन् । काभ्रेमा भएको सडक दुर्घटना पछि गृह मन्त्रालयले देशभरका प्रशासनलाई रुट परमिट नभएका सडकमा सार्वजनिक यातायात रोक्न निर्देशन दिएपछि मात्रै तातेका सम्बन्धित निकायले यसलाई सधै निरन्तरता दिन जरुरी छ । त्यसको लागि समय समयमा अनुगमन गर्न समेत सम्बन्धित निकायले बेवास्ता गर्नु हुँदैन । यात्रुको यात्रालाई सुरक्षित गर्नको लागि यातायात व्यवसायीले अवैध रुपमा चल्दै आएको सिण्डीकेट प्रथालाई अन्त्य गर्न जरुरी छ ।