तामाखानी प्रयोगमा आउने कहिले ?

म्याग्दी, ६ भदौं – जिल्लाको ताकम–८ मच्छिममा रहेको तामाखानी बर्षौदेखी प्रयोगविहीन बनेको छ । बस्तीबाट टाढा जंगलभित्र रहेको खानी उत्खनन्मा स्थानीयले चासो देखाएपनि राज्यको संयन्त्रबाट अपेक्षाकृत सहयोग प्राप्त नभएकाले भग्नाबशेषमा परिणत हुदै गएको हो ।
करिव साढे तीनसय बर्ष पुरानो खानी २७ फिट उचाईको खानीभित्र पस्ने खाल्डो बाढीले पुरिँदै गएको छ । खानीको अवस्था बुझ्ने क्रममा लामो सुरूङ देखिनुका साथै तामाजस्तै रंग भएको ढुंगा समेत फेला परेको थियो ।
सुरूङ प्रवेशद्धारमा खानी खनेको खोप्पा, पानीको मुहान, तामाको रंग देखिने गरेको छ । स्थानीय सिपको आधारमा उत्खनन् गरिदै आएको तामालाई राज्यले अंकुश लगाउँदै आम्दानीको दोब्बर कर तिनुपर्ने बाध्यता सृजना गरेपछि बन्द भएको थियो ।
नेपाल सरकारले देशभरी रहेका खानीको सम्भाब्यता तथा उत्खनन् सुरू गरेपनि खानी तथा भुगर्भ विभागमा खानीको अन्वेषण पटकपटक अनुरोध गर्दा समेत चासो नदेखाएको स्थानीय यूवा रेशम छन्त्यालले बताए । ‘अझैपनि खानी बाहिर तामा भेटिन्छ । यसलाई उत्खनन् गर्नुपर्छ’ उनले भने । बुढापाखाका अनुसार घन, छिनो, कोदालोको सहायताले पहाडभित्रबाट तामा निकालिने भएकाले आधुनिक यन्त्र उपकरणको अभाव तथा राज्यले समेत तामाखानी सम्बन्धि निति नभएकाले अलपत्र परेको स्थानीय सरोकारावालाको भनाई छ । जिल्लाको ओखरबाटो, मल्कवाङ, ज्यामरुककोट, गुर्जा, कुईनेमंगले, पाखापानीको ठाडाखानी, कुहुँ लगाएतका एक दर्जन स्थानमा खानी तथा उत्तरी म्याग्दीको शिख गाविसमा नुन खानी समेत भेटिएको छ । जिल्लामा साना सहित ठुला भण्डारण क्षमता भएका खानी रहेका छन् ।
अल्लसंख्य छन्त्याल जातीले तामाखानीलाई जिविकोपार्जको पेसा बनाएको किम्बदन्ती रहेको छ । जहाँ खानी हुन्छ त्यही बसाईसराई गर्ने गरेको समेत पाइन्छ । ‘खानी भएको क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण छ । राज्यले सक्रियता देखाए हामीले साथ दिन्छौ’ गुर्जाका झक छन्त्यालले भने ।
उनका अनुसार सयबर्षभन्दा धेरै लामो इतिहास रहेको खानीको बास्तविकतालाई आधार बनाएर नेपालीको जनजिवनसंग सम्बन्धित विभिन्न जानकारी मुलक कार्यहरू बनाएर समेत विदेशी पर्यटकलाई भित्राउन सकिन्छ । यता जिल्ला भित्र रहेका खानीको उत्खनन्को पहल भइरहेको स्थानीय विकास अधिकारी चिरञ्जीवि पौडेलले बताए । ‘हामीले प्राथमितामा राखेका छौ । केन्द्रबाट समेत जिल्लामै पुगेर काम गर्न सुरु गरेकाले अव सजिलो भएको छ’ पौडेलले भने ।
उनका अनुसार, जिल्लाभित्र रहेका तातोपानी कुण्ड सहित विभिन्न किसिमका खानीहरूको उत्खनन् भएमा जिल्लाको आर्थिक समृद्धिमा सहयोग पुग्ने बताए । म्याग्दीको उत्तरी क्षेत्र हुदै बग्ने कालिगण्डकी नदी र पश्चिम क्षेत्रबाट बग्ने म्याग्दी नदीमा बर्खाको समयमा सुनको समेत खोजी हुने गरेको अवस्थामा सुनखानीको समेत सम्भावना जिवितै रहेको सरोकारवालाहरूको भनाई छ । असारदेखी भदौसम्म तटिय क्षेत्रका बासिन्दाले सुनचाँदी पसलका कालिगढको सहयोगमा बालुवामा सुन चाल्ने गर्दछन् ।