३३ सडकमा सवारी संचालनमा रोक

पर्वत, ७ भदौं – जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालन हुँदै आएका सवारी साधनमा रोक लगाइएको छ । यातयात व्यवस्था विभागबाट जारी सूचना अनुरुप पर्वतका ग्रामीण क्षेत्र जोड्ने सवै सडक सञ्जालमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । सर्वजनिक सवारी सञ्चालन आचारसंहिता अन्तर्गत सञ्चालन नभएको भन्दै यी सडकहरुमा सवारी साधनमा रोक लगाइएको हो ।
सवारी साधन रोक लगाइएपनि अर्को व्यवस्था जारी नभएसम्मका लागि अत्यावश्यक स्थानमा सवारी सञ्चालन गर्न अनुमति दिने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासेनीले जानकारी दिए ।
पर्वत सदरमुकाम कुश्माबजारबाट विभिन्न ३३ ग्रामीण सडकहरुमा विना इजाजत सवारी सञ्चालन हुँदै आएका छन् । सोमबार प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासेनीको अध्यक्षतामा बसेको जिल्ला यातयात व्यवस्थापन समितिको बैठकले यातयात व्यवस्था विभागबाट अस्थायी सडक कायम नगर्ने अवस्था सम्म ग्रामीण सडकमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
सोही बैठकले सवारी साधन सञ्चालन हुन सक्ने पर्वतका विभिन्न १७ ग्रामीण सडकमा अस्थायी सडक कायम गरी सवारी साधन सञ्चालन गर्ने र भाडादर निर्धारण गर्न यातयात व्यवस्था कार्यालय बागलुङमार्फत यातयात व्यवस्था विभागमा पठाउने निर्णय समेत गरेको छ । त्यस्तै बैठकबाट सवारी साधन जोखिम रुपमा सञ्चालन भइरहेका विभिन्न १६ सडकहरुमा स्थलगत अनुगमन गरी अस्थायी सडक कायम गराउन सिफारिस गर्ने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी मरासेनीले जानकरी दिए ।
‘अहिले अस्थायी सडक कायम गर्न सकिने १७ सडक छन् र १६ सडकका लागि स्थलगत अनुगमन गरी अनुगमनको रिपोर्टका आधारमा इजाजत प्रदान गर्छौ’ ग्रामीण क्षेत्रमा सञ्चालन हुने सवारीसाधनहरुमा यात्रुको अत्याधिक चाप सँगै जोखिमपूर्ण यात्रा गर्ने र दुर्घटना निम्तिन सक्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो व्यवस्था लागु गर्न लागिएको हो । यातायात व्यवस्था विभागबाट ३ दिन भित्र अस्थायी बाटो कायम गराउने आश्वासन पाएको र सो अवधि सम्म ग्रामीण सडकमा पूर्ण रुपमा यातयात बन्द गरिने प्रजिअ मरासेनीले बताए ।
‘मानवीय संवेदनालाई मध्यनजर गर्दै घाइते, सुत्केरी लगायतका अवस्थामा भने सञ्चालन गर्न दिइनेछ’ उनले भने । सडक अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारी प्रविण ढकालको संयोजकत्वमा ७ सदस्यीय समति समेत गठन भएको छ । उक्त समितिले ७ दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन समेत दिइएको प्रजिअ मरासेनीले जानकारी दिए ।
त्यस्तै प्रहरी निरिक्षक ध्रुबबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि कार्ययोजना निर्माण गर्न समेत कार्ययोजना मस्यौदा तर्जुमा उपसमिति गठन गरिएको प्रजिअ मरासेनीले जानकारी दिए ।