मेलाका लागि खुलाईएको कोरला नाका १२ दिनमै बन्द

बिनोद त्रिपाठी
मुस्ताङ, ७ भदौं – चीन र नेपालका सिमानाबासीलाई किनमेल गर्न मेलाका लागि खुलाईएको कोरला नाका १२ दिनमै बन्द भएको छ । १५ दिनका लागि नाका खुल्ला गर्ने भनिएपनि ब्यापार नभएका कारण ३ दिन अगावै चीनले सिमाना बन्द गरेको स्थानीय ब्यापारीले जनाएका छन् ।नेपाल तर्फको सडक खराब भएका कारण ब्यापारीहरु कोरला पुग्न नसकेकोले मेलामा ब्यापार हुन सकेन । मेलामा ब्यापारी सहभागी न्युन हुनु, नेपाल तर्फको सिमाना सुरक्षा चुस्त नहुनु कारण देखाएर चीनले सहमति बमोजिमको अबधि भन्दा अगावै सिमाना बन्द गर्दे आएको छ ।
दुबै देशका स्थानीय अधिकारी बिच असारमा भएको मौखिक सम्झौता अनुसार, १५ दिनका लागि बुधबार भदौ ८ गतेसम्म नाका खुलाउने भनिएको हो । साउन २६ गतेदेखि खुलेको नाका चीनका स्थानीय अधिकारीले अचानक आइतबार -यहि ५ गते) नै सिमानाको गेट बन्द गरिदिए । ब्यापार नै नभएकोले १२ दिनमै कोरला नाका बन्द गर्नु परेको चीन तर्फका अधिकारीलाई उद्धृत गर्दे नेपाली ब्यापारीले जनाएका छन् । नाकाको मुल गेट खुलेपछि नेपाली ब्यापारीहरु सिमाना पारी लागेको मेलामा पुगेर सामान खरिद गर्ने चलन छ । हिउदमा हिउँ पर्ने भएका कारण उपल्लो मुस्ताङका बासिन्दा घरमा नबस्ने भएकोले उत्साहजनक रुपमा सामान खरिद हुन सकेन । अब यो बर्षका लागि नाका नखुल्ने भएकोले हिउंदमा घर कुर्न बस्नेहरुलाई आबस्यक सामान अहिले नै जोहो गरेर राख्ने चलन छ ।
ब्यापारीले सामान खरिद गरेपछि स्थानीय ढुवानीकर्ताले मुस्ताङ तर्फका बजारमा पुर्याउने काम गर्छन् । नेपाल तर्फको कच्ची सडक भएकोले सामान ल्याउन यहां ट्याक्टरको प्रयोग गरिन्छ । ‘यसपाली ब्यापार नभएकोले खासै ढुवानी हुन सकेन, ढुवानीकर्ता घ्याचो गुरुङले  भने, ‘अपेक्षा अनुसारको ब्यापार नभएकोले सिमाना बन्द भएको हो, अरु खास केहि कारण होइन ।’
खासगरि, यो पटकको नाका खुल्ला हुँदा उन, चाइनिज चाउचाउ, भेडा, च्यांग्रा लगायत आयात गरिएको भंसार कार्यालयले जनाएको छ । चीनका ब्यापारीले नेपाली उत्पादन पश्मिना, खाद्यान्न लगायतका सामान खरिद गर्दे आएपनि यस पटक निर्यात शुन्य भएको छ । कार्यालयका अनुसार, १२ दिन अबधिमा ९७ हजार ८ सय भन्सार महसुल संकलन भएको छ ।
नेपाल तर्फको सडक अति नै खराब भएकोले ब्यापारीहरु कोरला नाका पुगेर सामान खरिद गर्न सकेनन्, भंसार प्रमुख शुक्रदर्शन ढुंगानाले भने, जोमसोमबाट कोरला नाकासम्मको सडक सुधार नभएसम्म कोरला नाकाको आयात निर्यातमा कठिनाई पुगेको छ ।’ असारको जस्तो उत्साहजनक रुपमा ब्यापार हुन नसकेको उनले बताए । म्याग्दीको बेनीबाट कोरला पुग्न आधा दर्जन स्थानमा खोला बढेकोले सवारी चल्न नसक्दा ब्यापारी आउन सकेनन् । अल्पकालिन रुपमा खुल्दै आएको कोरला नाकाबाट यहि असारमा २ लाख ९३ हजार ६ सय राजस्व संकलन भएको थियो । कोरला नाका जाने सडकमा पर्ने यहांका खोलाहरुमा पुल नहुँदा बषर्ायाममा सवारी संचालन बन्द हुने गर्छ ।
पहिला पनि असार १ देखि लागेको ब्यापारिक मेलाका लागि २५ दिनलाई सिमाना खुल्ला गर्ने भनिएको थियो । नेपालीलाई मेला अबधीभर कुनै भिषा आवश्यक पर्देनथ्यो । यो बिषयमा जेठमै दुबै तर्फका सिमानाका प्रसाशनिक अधिकारी, स्थानीय ब्यापारी र सुरक्षाकर्मी बिच मौखिक सहमति भएको थियो । उक्त सहमतिको आधारमा गत बर्ष एक साता मात्र लाग्ने मेला अबधि बढाइएको थियो ।
तर, दलाई लामाको तस्विर टासेका ब्यक्ति र भारतीय मुलका केहि मानिसको प्रबेशको कारण देखाएर चिनियाँ सुरक्षा अधिकारीले तोकिएको मेला अबधि अगावै सिमाना बन्द गरिदिएका थिए । स्वतन्त्र तिब्बतका अभियन्ता दलाई लामाको पोशाक लागेका -रातो कपडा) ब्यक्ति देख्ने बित्तिकै चिनिया सुरक्षाकर्मीले नेपालीलाई पनि शंकाको दृष्टिले हेर्ने भएकोले सिमानामा चीनले कडाई गर्न थालेको छ । यहांको ढुंग्वासेन बजार भन्दा केहि वर लागेको मेलामा स्थानीयले १२ दिनसम्म आबस्यक सामान खरिद गरे । ढुंग्वासेन बजार सिमानाबाट ३० किमी चीन तर्फ पर्छ ।
यहाँको चीन तर्फको सिमानामा खम्बा जातिको बसोबास छ । खम्बाहरुले अलग राज्यको माग गर्दे बिद्रोह गरेका कारण अझै पनि चिनिया अधिकारीहरुले उनिहरुलाई एउटा राज्यबाट अर्कोमा जान अनुमति दिंदैनन् । ०३० सालतिर खम्बा बिद्रोह समुहले नेपाल तर्फको जमिनमा अखडा बनाएर बसेका थिए । त्यो प्रभावले अझै पनि चिनिया अधिकारीले खम्बासंगको मिलोमतोको आशंकामा सिमानाका नेपालीलाई निगरानी गर्दै आएका छन् ।