एमालेले सात प्रदेशको संयोजक र सहसंयोजक तोक्यो

काठमाडौं, ७ भदौ – नेकपा एमालेले आफ्नो प्रादेशिक संरचना तयार गर्दै त्यसका संयोजक र सहसंयोजकहरू तोकेको छ । स्थायी समितिको मंगलबारको बैठकले संविधानअनुसार सात प्रदेशको काम गर्ने गरी एमालेले पार्टी संरचना निर्माण गरेको हो । संविधानमा अञ्चल नहुने व्यवस्था जस्तै एमालेमा पनि अब अञ्चल कमिटीहरू रहने छैनन् । अन्य दलहरूले पनि प्रादेशिक संरचना बनाउने घोषणा गरेका छन् । तर निर्माण गरिसकेका छैनन् ।
सात वटा प्रदेशका संयोजकमा ३ जना अध्यक्ष केपी ओली र ४ जना नेता माधवकुमार नेपाल समूहका छन् । त्यस्तै उपसंयोजकहरूमा ६ जना ओली र एकमात्र नेपाल पक्षका छन् । पार्टीभित्र एकताबद्ध भएर जाने संकल्प गरेको यही बैठकले प्रदेशका संयोजक र उपसंयोजकहरू सहमतिमा मिलाएको हो ।
प्रदेश–१ को संयोजकमा सचिव भीम आचार्य र सहसंयोजकमा वैकल्पिक पोलिटब्युरो सदस्य शेरधन राईलाई तोकिएको छ । त्यस्तै प्रदेश–२ मा स्थायी समिति सदस्य सत्यनारायण मण्डललाई संयोजक र पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी सहसंयोजक तथा प्रदेश–३ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य संयोजक र पोलिटब्युरो सदस्य काशीनाथ अधिकारीलाई सहसंयोजकको जिम्मेवारी दिइएको एमालेले जनाएको छ ।
त्यस्तै प्रदेश–४ को संयोजकमा स्थायी समिति सदस्य किरण गुरुङ र पोलिटब्युरो सदस्य गणेश तिम्सिना सहसंयोजक, प्रदेश–५ मा संयोजक उपमहासचिव विष्णु पौडेल, वैकल्पिक पोलिटब्युरो सदस्य दलबहादुर राना सहसंयोजक तोकिएको छ । प्रदेश–६ को संयोजकमा उपाध्यक्ष युवराज ज्ञवाली र पोलिटब्युरो सदस्य यामलाल कँडेल सहसंयोजक तथा प्रदेश–७ को संयोजकमा उपाध्यक्ष भीम रावल र वैकल्पिक पोलिटब्युरो सदस्य कर्ण थापा सहसंयोजक तोकिएका छन् ।
संयोजकमध्ये शाक्य, ज्ञवाली, रावल र आचार्य ४ जना नेपाल पक्ष र पौडेल, मण्डल, गुरुङ गरी ३ जना अध्यक्ष ओली पक्षका हुन् । त्यस्तै सहसंयोजकमध्ये राई, अधिकारी, तिम्सिना, राना, कँडेल र थापा गरी ६ जना अध्यक्ष ओली पक्षका हुन् भने चौधरी एक जना मात्र नेपाल पक्षबाट सहसंयोजक बनाइएको छ । प्रादेशिक कमिटीका सदस्यहरूमा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्यहरू, जिल्ला अध्यक्षहरू, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरू र भ्रातृ संगठनका केन्द्रीय पदाधिकारीहरूलगायत रहनेछन् ।
स्थायी समिति बैठकले विगतमा पार्टी कामको जिम्मेवारी दिन बाँकी र विगत सरकारमा मन्त्री रहेका नेतालाई पार्टी कामको जिम्मेवारी दिएको छ । उपमहासचिव घनश्याम भुसाललाई प्रवास क्षेत्रको सम्पर्क, समन्वय र नेतृत्व तथा महेन्द्रबहादुर पाण्डेलाई युवा फाँट इन्चार्जको जिम्मेवारी दिइएको सचिव योगेश भट्टराईले जानकारी दिए । त्यस्तै लालबाबु पण्डितलाई राजकीय मामिला विभागको प्रमुख, राधा ज्ञवालीलाई महिला फाँट इन्चार्ज, अग्नि खरेललाई स्थानीय विकास विभाग प्रमुख र हरि पराजुलीलाई किसान फाँटको सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।