समर्पणका १३ वर्ष

राम थापा ‘अविरल’
मसँग त्यो सुविधा उपलब्ध छैन । कि, म ढोरपाटनको सफलता वर्णन गर्न सकुँ । यसका योगदान पत्ता लगाउन सकुँ । आलोचक बनुँ । सल्लाह दिउँ । तर, एउटा हैसियत भने मसँग छ । त्यो, हो पाठकीय हैंसियत । जुन एउटा अखबारका निमित्त सदा सर्वप्रिय हुन्छ । समाचार–उपभोक्ता भएर म आज विचारहरु गर्नेछु । ढोरपाटनकाप्रति धारणाहरु निर्माण गर्नेछु । यो, एउटा औसत पाठकीय सन्तुष्टी, अपेक्षा र गुनासोमिश्रित सामाग्री हुनेछ । मलाई थाहा छैन । कि, यसले ढोरपाटनको गुन–गान गाउँछ, या आलोचना गर्छ । खैर, ढोरपाटनले आफ्नो प्रकाशनको गौरवमय १३ वर्ष पार गरेको छ । सायद, यो गौरवको आयातन पर समाजसम्म छ । ४ हजार ७ सय ४५ दिनपछि आएर यसले १४ औं वर्षको सङ्घारमा पाइला राखेको छ । यो स्वर्णीय घडीमा म बधाई दिन चाहन्छु । ढोरपाटनकर्मी र यसका शुभेच्छुकहरुलाई । यो ‘उन्मेद’ पछि–पछिसम्म रहोस् । सञ्चार, प्रविधि पछ्याइरहेको समाजमा ढोरपाटन एउटा ‘नामुद’ अखबार बनोस् । सूदुर लक्ष्य चुमोस् । शुभकामना ।
समयको कडीमा ः
कुनै चीजको सफलता हेर्न उसको विगत जानुपर्ने हुन्छ । उसका कर्महरुको हिसावहरु गर्नुपर्ने हुन्छ । सापेक्षित रुपमा तुलनाहरु गर्नुपर्ने हुन्छ । ढोरपाटनलाई वितेको समयको तुलोमा राखेर पनि हेर्नुपर्ने हुन्छ । यसको समग्रतामा सही÷गलत विश्लेषण हुनुपर्छ । ढोरपाटनको उदयनै यस्तो कठिन प्रहरमा भयो, जतिबेला अभिव्यक्ति स्वतन्त्रतानै कुण्ठित अवस्थामा थियो । सञ्चार गर्नु, अपराध ठहरिन्थ्यो । सञ्चार माध्यमहरु निशानामा थिए । धेरै कम सञ्चार माध्यमहरु अस्तित्वमा थिए । एउटा जर्जर काल थियो, त्यो । युद्धको चक्रव्यूह्मा सञ्चार माध्यमपनि फसेका थिए । मुलुकले संकटकाल भोगिरहेको थियो । त्यो कठिन–कठिन कालमा पनि यो, डगमगाएन । २०६० भदौ १ गते यसले तय गरेको यात्रा अहिले पनि जारी छ । १३ वर्षमा यसले व्यहोरेका जिजीविषा आफ्नै होलान् । कति प्रकट, कति अप्रकट । जुनसुकै परिस्थितीमा पनि निरन्तर नागरिकको ‘थाहा’ पाउने अधिकारको प्रवद्र्धनमा यो समर्पित छ । यसले आफ्ना दिव्य १३ वर्षहरु समाजका लागि अर्पण गरेको छ । खराबका विरुद्ध र असलका पक्षमा ढोरपाटनले गरेको वकालत स्मरणीय छ । जवाफदेही र सामाजिक उत्तरदायित्व सहितको पत्रकारितामा ढोरपाटनले केही ठाउँ अबश्य बनाएको छ । भनिन्छ, परिर्वतन भनेको चीजलाई ‘बदल्नु’ हो । चीजको बदलावलाई समग्र आलोकमा राखेर विवेचना गरिनुपर्छ । रुप र सारमा ठूलो भिन्नता आउन दिइनुहुन्न । के चीज बदल्यौं, के राम्रो ग¥यौं, परिणाम के ? ढोरपाटनले आफूलाई समीक्षाको तातो भट्टीमा राख्नुपर्नेछ । बेला भइसकेको छ । समयको सापेक्षतमा आफूलाई प्रमाणित गर्न । १४ वर्षमा लाग्नु भनेको एक बालक किशोर हुनु पनि हो ।
मुद्दाको छनोट ः
समाचारको मुद्दा या विषयवस्तुले पाठक तान्ने हो । मुद्दाको स्तर र सवंदेनशीलताले अखबारको हैंसियत निर्माण गर्छ । सही विषयवस्तु रोज्दा मात्र हामीले समाजका लागि राम्रो गरेका हुँदारहेछौं । त्यो छनौटको कौशल अखबारसँग हुनुपर्छ । सम्पादक, सम्वाददातासँग हुनुपर्छ । एउटै समाचार–खोजले अखबारलाई स्थापित गर्छ, कहिलेकाँही । र, एउटै भुलले समाप्त गर्ने खतरा पनि हुन्छ । अतः अखबारको आफ्नै समाचार नीति हुनुपर्छ । सम्पादकीय नीति हुनुपर्छ । तत्कालिक समयमा अखबारको ‘कन्टेन’ के हो ? त्यसलाई घटनाक्रमसँग विश्लेषण गरेर पत्ता लगाउनुपर्ने हुन्छ । कहिलेकाँही हाम्रा समाचारहरु त्यसै ‘लरखराएजस्ता’ हुन्छन् । त्यो विषयवस्तुको ज्ञान र संवेदनशीलता ग्रहण नगर्दाको उपज हो । पछिल्लो समय सबैभन्दा बिकाउ छ भने, मानिसहरुका कथा । तिनलाई हाम्रा अखबारहरुमा ल्याउनु जरुरी छ । जसरी अहिले अनलाइन पत्रिकाले जर्बजस्त लिइरहेका छन् । कथाको पत्ता लगाएर त्यसलाई जिवन्त ढङ्गले प्रस्तुत गर्न सके, त्यसले पाठक खिच्छ । यावत क्षेत्रका व्यक्तिसँग त्यस्ता कथाहरु हुन सक्छन् । मानिस जहिलेपनि अरुहरुका बारेमा जान्न, सुन्न, पढ्न चाहन्छ । हामीले नेता, ओहदाका मानिस, व्यपारी, कवि, कलाकारका कथा धेरै बनाएका रहेछौं । तर, हामीले बनाएका रहनेछौं । गोठालाका, रिक्सा चालकका, कबाडी संकलकका, सिनेमा घरमा चाउचाउ बेच्ने बालकका । या, भन्नुस् गरिबका, सुकम्वासीका, दृष्टिविहीनका, अपाङ्गता भएका व्यक्तिका, एड्स प्रभावितका, हिंसापीडितका कथा कम बनाएका रहेछौं । हामीले धेरै–धेरै गर्न सक्दा रहेछौं । अनि, किन नगर्ने ?
विविधता खै ?
सञ्चार सामाग्रीका विविध स्वरुप छन् । अखबारमा विविधता ल्याउन सकिने सजिला उपायहरु छन् । तर, हामीले गर्दा रहेनछौं । ज्ञान, सूचना, मनोरञ्जन र उत्प्रेरणा दिने÷जगाउने सञ्चार माध्यमले ‘दिग्दारीपूर्ण’ प्रस्तुती दिएर बस्नुहुन्न । समाचारका शैलीहरुमा पनि नयाँपन देखिनुपर्छ । समाचारको बनोट उस्तै, मुद्दा उस्तै, शैली उस्तै, पात्र पनि उनै आदि÷इत्यादिले पाठकमा रुची बढाउन्न । बरु, अरुची पैदा गर्छ । खै हामीले समाचार–कथा लेखेको, अन्तर्बाता खै ?, रुपक खै ? कहाँ छ, मनोरञ्जन । स्थलगत ‘रिर्पोटिङ्ग’ले कहाँनेर ठाउँ पायो ? अब हामीले प्रश्न गर्नुपर्छ आफैलाई । हाम्रो अखबारको कुन सामाग्रीले पाठकलाई उत्प्रेरणा जगायो ? यसकारण, सामाग्रीको प्रस्तुतीमा विविधता ल्याउनैपर्छ । जिल्लातिरका अखबार करिव कलाहिन छन् । साज–सज्जामा हामी नराम्रोसँग पछि छौं । विज्ञापन सजावटको सौन्दर्य–ज्ञान हामीसँग छैन । अत्याधुनिक प्रविधिसँग खेल्ने जनशक्ति अभाव छ । हामी ‘फोटोसप’ समेत नचलाइ ‘पेजमेकर’मै विज्ञापन बनाउने बढी छौं । सीप भएर पनि हामीसँग समय छैन । समय हुँदा जाँगर छैन । जाँगर हुँदा श्रमको मुल्य छैन । हामी यस्तै–यस्तै स्थितीमा छौं । ‘लेआउट’ मा ढोरपाटनले अब विचार गर्नुपर्छ । छपाइको गुणस्तर बढाउनुपर्छ । ढोरपाटनले यसतर्फ पनि सोचोंस । फूललाई शिरमै सजाउनुपर्छ, पैंतालामा सजाएर हुन्न ।
र, अन्त्यमा ः
सञ्चारमाध्यम सामु अवसर छन् । चूनौती त हुने भइहाले । समाज विकासको क्रममा आफूलाई कहाँ राख्ने, सञ्चारमाध्यमले सोंच्नुपर्ने बेला भएको छ । प्रविधिको फड्को र मानवीय अभिरुचीमा आएको फेरबदलले पनि सञ्चार माध्यमहरुलाई प्रभावित तुल्याएको छ । मोबाइलमा समाचार ‘सर्च’ गर्ने पुस्ता तयार भइसकेको छ । अनलाइन पत्रिकामा आकर्षण छ । सञ्चार उद्यमी र अनुभवी पत्रकारको समेत अनलाइन पत्रिकामा आवद्धता बढेको छ । अनलाइन समाचारका उपभोक्ता बढ्दा छापामा घट्नेछन् । तर, अखबारको आकर्षण नेपालमा त्यति छिटै सकिने छैन । अहिले पनि विश्वसनीय, भरपर्दो रुपमा छापा माध्यमलाई लिइन्छ । रेडियो, टेलिभिजन, र अनलाइनको जति पहुँच अखबारको छैन । अखबारहरु बढी बजार केन्द्रित छन् । ढोरपाटनले पनि आफ्नो पहुँच विस्तारमा जोड दिओस् । समाजका विभेद, असमानताको विरुद्ध र न्यायपूर्ण समाज निर्माणमा आवाज बुलन्द गरोस् । अहिले पनि तमाम विकृति, विसङ्गतीहरुका बीचबाट नेपाली समाज गुज्रिरहेको छ । न्याय, शुसासनको प्रत्याभूति जनसाधारणले गर्न सकेका छैनन् । विकासको समान वितरण छैन । भ्रष्टचार व्याप्त छ । गरिबि, बेराजगारीले नेपाली समाज आहात छ । बल्ल आएर समृद्धिको सपना देख्न त, थालेका छौं । त्यो कहिले बिपना हुन्छ । थाहा छैन । यति हुँदा–हुँदै पनि हामी सकारात्मक हुनुपर्ने बेला छ । स–साना राम्रा प्रयासहरुले पनि सहि नतिजा दिदोँ रहेछ । समाजलाई साना खुसीहरुमा रमाउन सिकाऔं । यस दिशातर्फ धवलागिरिकै अग्रणी ढोरपाटन दैनिकले खबरदारी गरोस् । नागरिककाप्रति पूर्ण उत्तरदायी बन्न सकोस् । यसका असल कर्महरुको समाजले धेरै पछि–पछि सम्म सम्झना गरिरहनेछ ।
[email protected]
भाद्र १ गते ढोरपाटन दैनिकको १३ औं वार्षिकोत्सवमा प्रकाशित लेख