इमेजले लोकगीत प्रतियोगिता गर्ने

बागलुङ, ९ भदौ – इमेज च्यानलले देशभरबाट लोक गीत संगीतको संरक्षणका लागि विशेष कार्यक्रम संचालन गर्ने भएको छ । देशभरी प्रतियोगिता गरेर उत्कृष्ठ कलाकारलाइ स्थापित गर्ने च्यानलको योजना रहेको कार्यक्रम प्रस्तोता तथा प्रतिनिधि अनुषा अधिकारीले बताइन् ।
छनौटका लागि पोखरा, इटहरी र काठमाण्डौमा प्रतियोगिता आयोजना गरिने बताइएको छ । भदौको २४ र २५ गते पोखरामा तथा असोजको ४ र ५ गते इटहरीमा प्रतियोगिता आयोजना हुनेछ ।
प्रतियोगितामा भाग लिनका लागि सहभागिले नाम दर्ता गरेपछि नेपाल टेलिकमको एक एकवटा सिम दिइने तथा पहिलो चरण सकिएकालाइ एक एक हजार रुपैयाँको रिचार्ज समेत गरिने छ । उत्कृष्ठ छनौट भएकालाइ १ लाख रुपैयाँ नगद पुरस्कार सहित इमेज च्यानलमा प्रस्तोताको अवसर पनि दिने व्यवस्था छ ।
बागलुङमा सहभागिले राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान मार्फत फारम भरेर बुझाउन सकिने व्यवस्था मिलाइएको छ । हरेक व्यक्तिले एकल गित गाउनुपर्ने, शुद्ध नेपाली भाषा र संस्कृति झल्कने गरी गाउनुपर्ने प्रावधान छ । प्रतियोगिताका लागि नेपाली नागरिक हुनुपर्ने, नागरिकता र परिचयपत्र हुनुपर्ने, पहिलो चरणमा आँफू खुसी लोकगीत गाउन सक्ने व्यवस्था छ ।
दोश्रो चरणमा पुगेपछि भने आयोजकले गीत तथा भाखा दिने व्यवस्था मिलाइएको अधिकारीले बताइन् । बुधवार बागलुङमा आयोजित पत्रकार सम्मेलनमा अधिकारी सहित च्यानलका अर्का प्रस्तोता महेश काफ्लेले पनि अभियान बारेमा प्रष्ट पारेका थिए ।