प्रम कृषि विशेष कार्यक्रम संचालन हुने

बागलुङ, ९ भदौ – चालु आर्थिक बर्ष नेपाल सरकारले बागलुङमा प्रधानमन्त्री कृषि विशेष कार्यक्रम संचालन गर्ने भएको छ ।
प्रमुख खाद्यान्न बाली, तरकारी र सुन्तलाका लागि विशेष ब्लक निर्माण गरेर कार्यक्रम संचालन गर्ने सरकारी कार्यक्रमलाइ जिल्ला कृषि विकास कार्यालयले तयारी गरेको सूचना अधिकारी बिप्लब अधिकारीले बताए । कार्यालयले मकै खेतीका लागि तंग्राम, धम्जा, भीमापोखरा र पालालाइ विशेष ब्लकको रुपमा अगाडि सारेको छ ।
त्यस्तै सुन्तला खेतीका लागि बिहुँ, सिगाना, तित्याङ र भकुण्डेमा १ सय हेक्टर जमिनलाइ ब्लक बनाउने तयारी गरेको हो । साथै चालु बर्षमै कार्यालयले जिल्ला भित्र मकै, तरकारी, धान र अन्य कृषि फलसका लागि १०/१० हेक्टर क्षेत्रफलका २० वटा पकेट क्षेत्र बनाउने तयारी समेत गरेको छ । ती क्षेत्र जिल्ला कृषि विकास कार्यालय र कृषि समितिले निर्धारण गर्नेछ ।
बागलुङमा ३ सय १२ हेक्टरमा ३ हजार ५ सय मेट्रिकटन तरकारी फलेको छ । उक्त कार्यक्रम पछि यो उत्पादन अझै बढ्ने विश्वास लिइएको छ । कार्यक्रम संचालन हुने निश्चित भएपनि मन्त्रालयबाट स्विकृत कार्यक्रम र बजेटको विस्तृत विवरण भने आउन बाँकी रहेको बताइएको छ ।
बागलुङमा गत आर्थिक बर्ष २०७२/७३ मा २० हजार ३ सय १ हेक्टरमा ६५ हजार ७ सय मेट्रिकटन मकै उत्पादन भएको छ । त्यस्तै ४५ हेक्टर क्षेत्रफलमा ६५ मे टन मकैको बीउ उत्पादन भएको छ । २ सय हेक्टरमा ६० हजार रुखमा २९ हजार मे टन सुन्तला उत्पादन भएको छ । किसानले एक बर्षमा सुन्तला विक्रिबाट १० करोड रुपैयाँ आम्दानी गरेका छन् । त्यस्तै कार्यालयले जिल्लाका किसानलाइ ५ सय वटा मौरी घार २५ प्रतिशत अनुदानमा वितरण गरेको थियो । ती घारबाट २८ मे टन मह उत्पादन भएको छ ।
स्थानीय ५ हजार ५ सय ८६ मुडेघारबाट ८ सय केजी मह उत्पादन भएको छ । नगदेबालीतर्फ ११ हेक्टरमा अलैची लगाइएको छ भने विभिन्न गैरसरकारी संस्था समेतको सहयोगमा जिल्लामा १० मे टन अलैची उत्पादन हुने गरेको छ । वृहत्तर मकै विकास कार्यक्रम अन्र्तगत ८ सय हेक्टरमा १७ मेटन बीउ उत्पादन भएको थियो । जिल्लामा प्लाष्टिक टनेलमा गोलभेडा उत्पादनको क्रम पनि क्रमश बढीरहेको छ । कार्यालयले अनुदान दिएका २ हजार ७ सय प्लाष्टिक टनेलमा किसानले गोलभेडा खेती गरिरहेका छन् ।
गत आवमा मात्र कार्यालयले ४ सय ६० वटा टनेल २५ प्रतिशत अनुदानमा वितरण गरेको थियो । जिल्लामा आलु विशेष कार्यक्रम पनि संचालनमा छ । ढोरपाटन, ताराखोला, पाण्डवखानी, गाजा दह आसपासमा समेत प्रसस्त आलु उत्पादन हुँदै आएको हो ।
अन्य जिल्लाभन्दा फरक गरी बर्षातमा पनि बागलुङमा आलु उत्पादन हुन्छ । हिउदमा २ हजार हेक्टर र बर्षातमा १ हजार हेक्टरमा आलु उत्पादन भैरहेको अधिकारीले जानकारी दिए । उक्त क्षेक्रफलमा ३० हजार मेटन आलु उत्पादन भइ जिल्ला र बाहिर समेत खपत भैरहेको हो ।
कृषि सामाग्री संस्थानको पर्वत कार्यालय र साल्टट्रेडिङ कार्यालयबाट ५ सय ८६ मेटन रसायनिक मल र ६ मेटन प्राङगारिक मल खपत भएको देखिएको छ । जिल्लामा साना सिंचाइ कार्यक्रम अन्र्तगत गत आवमा ४१ वटा कार्यक्रम संचालन भएका छन् । त्यस्तै गत आवमै प्लाष्टिक पोखरी १५ वटा, सहकारी खेती २ वटा र सहकारी सिंचाइ १ वटा सम्पन्न भएको कार्यालयको तथ्यांक छ ।