पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु

पोखरा, ९ भदौ – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले निर्माण कार्य सुरु गरेको छ ।
गत वैशाख १ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको शिलान्यास गरेलगत्तै वर्षायाम सुरु भएकाले निर्माणको काम अघि बढ्न सकेको थिएन ।
कम्पनीले यही सेप्टेम्बर १ (भदौ १६) गतेदेखि २०३२ सालमा अधिग्रहण गरिएको तीन हजार १ सय ६ रोपनी र पछि थप गरिएको ६ सय २९ रोपनीको पूरै जग्गामा तारबार लगाउन सुरु गर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका सिनियर इन्जिनियर चन्द्रमणि सापकोटाले जानकारी दिए ।
pokhara international airport 1कम्पनीले प्राविधिक कर्मचारी, कामदार र सामान राख्ने अस्थायी भवन बनाउन सुरु गर्न लागेको छ । आयोजनाको मूल गेटबाट विमानस्थलसम्म पुग्ने कच्ची बाटोलाई पक्की बनाउने काम सकिएको छ ।
मुलुककै गौरवशाली आयोजनाको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०२० जुलाई सम्ममा सक्ने लक्ष्य राखिएको छ । चीनको एक्जिम बैंकको करिब रु २१ अर्बको ऋण सहयोगमा विमानस्थल निर्माण हुन लागेको छ ।