यी हुन कांग्रेसबाट बन्ने नयाँ १३ मन्त्री

काठमाडौं, ९ भदौ – कांग्रेसले सरकारमा सहभागि हुने १३ जना मन्त्रीको नाम टुंगो लगाएको छ। बिहीबार साँझ १३ जना मन्त्रीको नाम औपचारिक रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइएको छ । नयाँ मन्त्रीको शुक्रबार बिहान नौ बजे सपथको कार्यक्रम राखिएको छ ।
यसअघि पार्टीका नेता रामचन्द्र पौडेल पक्षको असन्तुष्टिका कारण मन्त्री छनोटमा अवरोध हुदै आएको थियो । पार्टी सभापति शेरबहादुर देउवाले पौडेल समूहलाई पाँच मन्त्री दिने सहमति गरेपछि मन्त्री छनोट भएको हो ।
कांग्रेसबाट शुक्रबार सहभागि हुने मन्त्रीहरुमा देउवाले ६, पौडेलले पाँच, नेता कृष्णप्रसाद सिटौलाले एक र अर्का नेता खुमबहादुर खड्काले एक गरी १३ मन्त्रीको सपथ खुवाउने छ ।
congressकसले पाए कुन जिम्मेवारी ?
सीतादेवी यादव –शान्ति तथा पुनर्निर्माण

प्रकाशशरण महत –परराष्ट्र
अर्जुननरसिंह केसी –सहरी विकास
बालकृष्ण खाँड –रक्षा
सुर्यमान गुरुङ –श्रम
जीवनबहादुर शाही –पर्यटन तथा नागरिक उड्यन
गगन थापा –स्वास्थ्य
केशवकुमार बुढाथोकी –सामान्य प्रशासन
दीपक गिरि –सिँचाई
रोमी गौचन थकाली –वाणिज्य
नविन्द्रराज जोशी –उद्योग
हृदयराम थानी –सहकारी तथा गरिवी निवारण
शंकर भण्डारी –वन
कांग्रेसमा मन्त्रालयको भागवण्डामा विवाद आएपनि प्रधानमन्त्री दाहालसँग सल्लाह गरेर कांग्रेसले १५ मन्त्रालय पाउने सहमति भएको छ । मधेसी मोर्चा तत्काल सरकारमा नआउने भएकाले कांग्रेसलाई १५ मन्त्रालय दिन माओवादी तयार भएको हो ।
देउवाले परराष्ट्र मन्त्रीमा डा.प्रकाशसरण महतलाई पठाउने भएका छन् । त्यस्तै रक्षामा बालकृष्ण खाँड र शहरी विकासमा अर्जुननरसिह केसी मन्त्री हुने भएका छन् । पर्यटन मन्त्रालयको जिम्मेवारीमा जीवनबहादुर शाही जाने भएका छन् । सुर्यमान गुरुङ श्रम र  केशवकुमार बुढाथोकी सामान्य प्रशासन मन्त्री हुने भएका छन् ।
पौडेलबाट दिपक गिरी सिचाई, ह्दयराम थानी गरिबी निवारण तथा सहकारी, नविन्द्रराज जोशी उद्योग, रोमी गौचन थकाली वाणिञ्य र सीतादेवी यादव शान्ति मन्त्री हुने भएका छन् । सिटौलाको सिफारीसमा युवा नेता गगन थापा स्वास्थ्य मन्त्री हुने भएका छन् भने खड्काको सिफारीसमा शंकर भण्डारी वन मन्त्री हुने भएका छन् ।
यसअघि कांग्रेसबाट उपप्रधान एवम् गृहमा बिलमेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातयात मन्त्रीमा रमेश लेखक गैसकेका छन् । अब कांग्रेसको भागमा जम्मा मन्त्रीको संख्या १५ पुगेको छ ।
माअ‍ोवादी केन्द्रले भने प्रधानमन्त्री बाहेक ८ मन्त्रालय पाएको छ । माओवादीले चार जना राज्य मन्त्री पनि बनाइसकेको छ । कांग्रेसबाट पनि ५ जना राज्य मन्त्री हुने सहमति भएपनि त्यसको निर्णय अर्को हप्ता मात्रै हुने भएको छ । सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि शुक्रबार सिंगापुर जाने र पाँच दिनपछि मात्रै फर्कने भएकाले पनि राज्य मन्त्रीको नियुक्ति पछि धकेलीने भएको हो ।