दौरा सुरुवालमा सजिएर सपथ लिए कांग्रेस मन्त्रीहरुले

काठमाडौं, १० भदौ – प्रधानमन्त्रीमा निर्वाचित भएको २३ दिनपछि प्रचण्डले आफ्ना मन्त्रीपरिषद्लाई पूर्णता दिएका छन् । काँग्रेसको तर्फबाट पछिल्लो पटक १३ मन्त्रीले सपथ लिएपछि सरकारले पूर्णता पाएको हो । नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री दाहालको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतल निवासमा पद तथा गोपनियताको सपथ गराइन् ।
नेपाली कांग्रेसको तर्फबाट अर्जुननरसिंह केसी सहरी विकास, प्रकाशशरण महत परराष्ट्र, बालकृष्ण खाँड रक्षा, जीवनबहादुर शाही पर्यटन, केशवकुमार बुढाथोकी सामान्य प्रशासन, सूर्यमान गुरुङ श्रममन्त्री भएका छन्  । सीतादेवी यादव शान्ति तथा पुनर्निर्माण, दीपक गिरी सिँचाइ, रोमी गौचन थकाली वाणिज्य, नवीन्द्रराज जोशी उद्योग, हृदयराम थानी गरिबी निवारण तथा सहकारी मन्त्री भएका छन् । गगन थापा स्वास्थ्य र शंकर भण्डारीले वन मन्त्री बनेका छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल साउन १९ गते व्यवस्थापिका–संसद्बाट प्रधानमन्त्री पदमा निर्वाचित गरेको थियो । उनले साउन २० गते पद तथा गोपनीयताको शपथ लिए । नेपाली कांग्रेसको साथ र सहयोगमा प्रधानमन्त्री पदमा निर्वाचित भएका दाहालले आफ्नो मन्त्रिमण्डललाई अहिले तेस्रोपटक विस्तार गरेका हुन् ।