महिला सामाजिक कार्यतर्फ अग्रसर

गुमानसिंह भण्डारी
बागलुङ, १० भदौ – गलकोट मल्मको घुम्टे प्रगति कृषक समुह समाज विकासमा अग्रसर बनेको छ । २०६३ सालमा ३० जना महिलाहरुको समुह गठन गरि पहिलो बर्षदेखिनै समाजिक कार्य गर्दै आएको छ ।
समुहले पहिलो बर्षमा समुहकै सदस्यले निशुल्क प्रदान गरेको जग्गामा टमाटर खेतिबाट ४० हजार आम्दानी गर्न सफल भएको थियो । महिलाहरुले टमाटर खेतिबाट राम्रो आम्दानी गरेको देखेपछि मल्मका अन्य समुहले पनि खेति सुरु गरेको समुहकी पुर्व अध्यक्ष उमा थापाले बताए ।
समुले गाउघरमा हुने बिवाह, ब्रतबन्ध, पुजापाठ, बिदेशबाट आएका ब्यक्ति, कार्यक्रम लगायतमा सहभागी भई भजन गाउने र पैसा संकलन गर्ने गरेको छ । समुहमा संकलन गरेको रकमले हालसम्म मोटरबाटो निर्माणमा १ लाख ७० हजार, कृषि भवन निर्माणमा १ लाख १० हजार, प्रगति प्राथमिक बिद्यालयको रजत जयन्तिमा ३० हजार, खड्क कालिका मन्दिर निर्माणका लागि १० हजार, मल्मका सञ्चालन गरिएको स्वास्थ शिविरमा ५ हजार सहयोग प्रदान गरेको छ । हाल समुहको कोषमा ३ लाख बढि रकम जम्मा भएको छ ।
मासिक रुपमा समुहमा आवद्ध सदस्यहरुबाट १, १ सय जम्मा गर्ने र संकलित रकम प्रत्येक ६, ६ महिनामा असुल गर्ने गरि ६ प्रतिशत ब्याजदरमा बितरण गर्ने गरेको समुका अध्यक्ष दुर्गा बस्नेतले बताए ।
आगामि दिनहरुमा तरकारी खेतीसँगै समाजिक कार्यमा समेत हालेमालो गर्दै जाने योजना बनाएको समुहका सचिव मिना थापाले बताए । समाजमा महिलाहरुले पनि केहि गर्न सक्छन भन्ने उद्देश्यका साथ समुह गठन गरि सामाजिक कार्य गर्दै आएको समुले जनाएको छ ।