खाद्य सुरक्षाः बद्लिदो परिवेश

प्रकाश थापा
खाद्य सुरक्षा भन्नाले हामीहरुले खाने कुराहरु जस्तै चामल, दाल, तरकारी, फलफुल, विभिन्न जडिबुटी र अन्य खाने अन्नहरुको पहुँच, संरक्षण, उत्पादन र दिगो उपयोग भन्ने बुझाउँछ । वर्तमान परिवेशमा विश्वभर खाद्य सुरक्षा बहसमा आइरहेको विषय हो । विश्वका विभिन्न देशमा समय समयमा लाग्ने खाद्य संकट अर्थात् भोकमरीले गर्दा खाद्य सुरक्षाको आवाज ठुलो स्वरमा उठेको छ । मानिसको आधारभूत आवश्यकतामा गास वा आहार पहिलो श्रेणीमा पर्दछ । यही कुराले पनि खाद्य सुरक्षा कत्तिको महत्वपूर्ण छ भन्ने विषयलाई प्रष्ट्याउँछ । नेपाल कृषि प्रदान देश हो जहाँ हिमाल, पहाड र तराईका फाँट रहेका छन् । खाद्य सुरक्षाका हिसावले हेर्ने होभने दक्षिण एसियामा नेपाल अरु राष्ट्रभन्दा बलियो स्थानमा आउँछ । ग्लोबल हंगर इन्डेक्स (विश्व भोकमरी सूचकांक) २०१५ को प्रतिवेदनमा खाद्य सुरक्षाको सूचकांकमा नेपाल ५८ औ स्थान हासिल गरेर दक्षिण एसियाका राष्ट्रहरुमध्ये बलियो अवस्थामा देखिएको छभने भारत नेपालभन्दा पनि कमजोर अवस्थामा अर्थात् ८० औ स्थानमा छ । दक्षिण एसियामा खाद्य सुरक्षाका दृष्टिकोणले पछाडि परेको अफगानिस्तानको स्थान ९७ औंमा छ । दक्षिण एसियामा अरु राष्ट्रभन्दा बलियो स्थानमा देखिए पनि नेपाल आफैमा खाद्य सुरक्षाको हिसाबले गम्भीर अवस्थामा छ ।
खाद्य सुरक्षाका लागि कृषि, वन र पशुपालनको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यसको संयोजन गर्ने भूमिका सरकार र उपभोक्ता दुबैको साझा दायित्व हो । खाद्य उत्पादनमा कृषकको सबैभन्दा ठूलो भूमिका रहेको हुन्छ । तसर्थ हरेक उपभोक्ताले हरेक दिन एक पेट खाना पाउँदा पहिलो धन्यवाद कृषकलाई दिनु पर्दछ र कृषकलाई नै ईश्वर सम्झनु पर्दछ । कृषि पेशा अंगाल्ने व्यक्तिलाई सबैभन्दा ठुलो मानिस सम्झनु पर्दछ । यो संस्कारको विकास नेपालमा नहुनाले पनि कृषि पेशाप्रति सकरात्मक धारणा बन्न र आकर्षण बढ्न सकेको छैन ।
नेपालमा खाद्य सुरक्षाको प्रबन्ध मिलाउन कृषि क्षेत्रको विकास गर्नु अत्यावश्यक छ । कृषिको कुरा गरिरहँदा वन क्षेत्र पनि यससँगै जोडिन आउँछ । कृषि र वनले एक आपसमा पारस्परिक सम्बन्ध राख्दछन् । कृषिको उत्पादकत्व बढाउन वनको उत्तिकै महत्व हुन्छ । त्यसैले खाद्य सुरक्षा बढाउन वन क्षेत्रको विशेष भूमिका रहन्छ । कृषि, वन र पशुपालनको सम्बन्ध अति घनिष्ठ छ । कृषिका लागि चाहिने हलो, जुवादेखि लिएर घर भित्रका आवश्यक कुराहरु निर्माण गर्न वन नै चाहिन्छ । यसैगरी वनमा रहेको सोत्तर र मलिलो माटोले कृषि क्षेत्रको उत्पादकत्व बढाउन भूमिका खेलेको हुन्छ । कृषि कार्यका लागि पशुपालन अर्को महत्वपूर्ण अंग हो । पशुपालनलाई चाहिने घाँस वन क्षेत्रले उपलब्ध गराउँछभने कृषि उत्पादनका लागि चाहिने मल र साधन पशुपालनले उपलब्ध गराउँछ ।
वन क्षेत्रको उपयोग परापुर्व कालदेखि नै हुँदै आइरहेको हो । हामीले वनबाट विभिन्न किसिमका जडिबुटी र फलफुल उपयोग गरिरहेका छौं । जस्तो कि हामीलाई ज्वरो आउँदा हामीले चिराइतोको प्रयोग गर्दछौ भने पेट दुख्दा सतुवा खान्छौ । यस्ता जडिबुटी प्रयोग गर्ने हाम्रा आफ्नै परम्परागत सिप र ज्ञानहरु पनि छन् । यसैगरी हामी तरकारी तथा अचारका रुपमा वनमा पाइने कोइरालो, सिप्लिकान, बाँको, रुपा साग, तरुल, गिठा, भ्याकुर, बाँसको तामा, टुसा आदि खाँदै आइरहेका छौ । यी सबै खाद्य वस्तु हुन् । हामीले प्रत्यक्ष वा परोक्ष रुपमा खाद्य संकट टार्न कृषि, वन र पशुपालनको अधिकतम् उपयोग गरिरहेका छौ । यसरी कृषि, वन र पशुपालन एक अर्काका परिपूरक क्षेत्र हुन् । खाद्य सुरक्षाका लागि यी तीनवटै क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ ।
नेपालमा खाद्य सुरक्षा हालैका वर्षहरुमा एकदमै जटिल अवस्थामा पुगेको छ । मूलत जनसंख्या वृद्घि, प्राकृतिक प्रकोप, अव्यवस्थित भूउपयोग प्रणाली, मजदुरको कमी, वैदेशिक रोजगारप्रतिको आकर्षण, भौगोलिक प्रभाव आदि कुराले नेपालको खाद्य सुरक्षामा जटिल समस्या थपिदिएको छ । हाल सालका वर्षहरुमा जनसंख्याको वृद्घि व्यापक मात्रामा भएपनि हामीहरुको खेतीयोग्य जमिन भने सीमित मात्रा छ । अझ भनौ अव्यवस्थित भूउपयोग प्रणालीले त भएको खेती योग्य जमिन नै घटिरहेको अवस्था छ । हरेक गाउँ, ठाउँमा अव्यवस्थित सहरीकरणको कारण धान फल्ने खेतहरु धमाधम प्लटिङ गरी घडेरीको रुपमा विक्री भइरहेका छन् । यो प्लटिङको रोग हरेक जिल्लाहरुमा व्यापक रुपमा फैलिरहेको छ । जलवायु परिवर्तनको नकारात्मक प्रभावले प्राकृतिक प्रकोपहरु दिनानुदिन बढिरहेका छन् । बाढी र पहिराले खेतीयोग्य जमिन नष्ट पारिरहेको अवस्था छ । जलवायु परिवर्तनको कारण कृषिबालीको चक्रमा नै फेरबदल भइरहेको छ । तापक्रम वृद्घिले खेतीमा समस्या छाएको छ । अन्नबालीमा रोग, किराको प्रकोप बढिरहेको छ । यसैगरी देशको जैविक विविधता समेत संकटमा छ । यसरी जलवायु परिवर्तन पनि खाद्य सुरक्षाका लागि जटिल समस्याका रुपमा देखा परिरहेको छ ।
हाम्रो सामाजिक तथा आर्थिक अवस्थाका कारण नेपालीहरुको वैदेशिक रोजगारप्रति आकर्षण प्रतिवर्ष बढ्दो अवस्थामा रहेको छ । रोजगारीका लागि खाडी मुलुक, भारत, जापान, अमेरिका, अष्ट्रेलिया, युरोप लगायतका विभिन्न मुलुक जाने क्रम बढ्दो छ । हुन त वर्तमान विश्वव्यापीकरणको युगमा एक देशबाट अर्को देशमा पुग्नु खासै ठुलो कुरा त होइन । तर पनि यस कारणले समाजका विविध पक्षहरुमा असर पारिरहेको छ । दैनिक रुपमा विप्रेषणबाट आउने रकमले समाजमा सकारात्मक परिवर्तनहरु पनि ल्याएको छ । तरपनि ग्रामीण भेगमा वैदेशिक रोजगारका नकारात्मक असरहरु देखिन सुरु भईसकेका छन् । युवा जनशक्तिको विदेश पलायनले गाउँघर तिर खेतीपातीको लागि ज्याला मजदुर पाउन अति गाह्रो छ । पहिलेदेखि चली आएको अर्मपर्म लगाएर काम गर्ने, खेतीपातीमा सहयोग गर्ने प्रचलन विस्तारै हराउँदै छभने गाउँमा रहेको महंगो जनशक्ति पनि समयमा उपलब्ध नहुनुले खेती गर्न अति गाह्रो छ । बढ्दो विप्रेषणका कारण सहरमा बसी खानेको संख्या बढी र कृषि पेशामा लाग्नेहरुको संख्या कम हुने क्रम तीव्र गतिमा छ । विप्रेषणबाट आएको रकम समेत उपयुक्त तरिकाले प्रयोगमा छैन । खाद्य सुरक्षाको बढावाका लागि प्रयोग गरिनु त परै जाओस्, उल्टै लगानी जति कृषियोग्य धान खेतलाई नष्ट गरी घर घडेरी र जग्गा प्लटिङको व्यवसाय बढिरहेको छ । यसले गर्दा खाद्य सुरक्षामा थप चुनौतीहरु थपिएका छन् । विप्रेषणले गर्दा कृषि क्षेत्रमा मात्र नभई वन तथा पशुपालनमा समेत प्रभाव परेको छ । विप्रेषणका कारण वन क्षेत्रमा पहिले जस्तो चाप छैन् । मानिसहरुको जीवन शैलीमा आएको परिवर्तनले गर्दा वन जाने घाँस दाउरा गर्ने, जडिबुटी ल्याउने, फलफुल टिप्ने प्रचलनमा पनि कमी आइरहेको छ । पशुपालन गर्नेको संख्यामा पनि कमी आइरहेको छभने बजारमा खाद्य सामग्रीको माग अत्याधिक छ । यसरी एकातर्फ खाद्यान्नको उत्पादन घट्नु र अर्कातर्फ खाद्यान्नको माग बढ्नु राम्रो संकेत होइन । यसले अन्त्यमा खाद्यान्न संकट ल्याउँछ ।
यसरी बढ्दो जनसंख्या, सहर केन्द्रित बसाई, जलवायु परिवर्तन र वैदेशिक रोजगारप्रतिकोे आकर्षण अवश्य पनि खाद्य सुरक्षाका चुनौतिहरु हुन् । अहिलेको अवस्थामा विगतका दशकहरुमा भन्दा व्यापक परिवर्तनहरु देखिएका छन् । बद्लिदो परिवेशका कारण खाद्य सुरक्षामा जोखिमपूर्ण अवस्था छ । नेपालमा हाल सालैको भारतीय नाकाबन्दीको प्रभावले पनि हाम्रो खाद्य सुरक्षाको अवस्थालाई प्रष्ट रुपमा झल्काएको छ । अन्ततः खाद्य सुरक्षालाई बढावा दिन कृषि, वन तथा पशुपालनको विकासमा राज्यले विशेष जोड दिनु पर्दछ । जलवायु परिवर्तन, भूउपयोग तथा वैदेशिक रोजगारीका सवालमा राज्यले उपर्युक्त कदम चाल्नु पर्ने देखिन्छ । बद्लिदो परिवेशलाई समयमा नै सम्बोधन गर्न नसके भविष्यमा यसले खाद्य संकटको जटिलता निम्तिने निश्चित छ ।
(लेखक थापा जिल्ला वन कार्यालय बागलुङका सहायक वन अधिकृत हुन् ।)