क्याविनेटबाट हरायो ३३ प्रतिशत महिला अधिकारका कुरा

द्वन्द्वपीडित सीतादेवीलाई शान्ति मन्त्रालयको जिम्मा
सृष्टि पौडेल
काठमाडौं, १० भदौ – गत फागुनमा भएको नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट कोषाध्यक्षमा निर्वाचित सीतादेवी यादव पाँच महिनापछि नै मन्त्री बन्न सफल भइन्। सीतादेवी पहिलो पटक मन्त्री बनेकी नयाँ अनुहार हुन्।  शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादव पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारकी एक्लो महिला मन्त्री बनेकी छिन्।
कांग्रेस, मधेसवादी दल, राप्रपा लगायत दलहरुको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वमा बनेको सरकारमा कांग्रेसले एक महिलालाई स्थान दिनु बाहेक अन्य कुनै दलले महिला प्रतिनिधि पठाएनन्। सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले महिलालाई राज्यमन्त्री बनाएपछि फुल मन्त्री भने दिएन।
संसदको सबैभन्दा ठूलो दल कांग्रेसले पनि १५ मन्त्रालय आफूले पाउँदा एक जना महिलालाई मात्रै सरकारमा पठाएको छ। राज्यका हरेक क्षेत्रमा महिला सहभागिता ३३ प्रतिशत बनाउनु पर्ने माग महिलाहरुको भएपनि कुनै पनि दलले त्यसलाई अबलम्बन गरेका छैनन्। वर्तमान सरकारमा महिला सहभागीता हेर्ने हो भने निकै न्यून छ।
३१ सदस्यीय मन्त्रिमण्डल बन्दा महिलाको सहभागीता तीनजनामै सीमित भएको छ, त्यो पनि एकजना मन्त्री र दुईजना राज्यमन्त्रीमा। माओवादीले राधिका तामाङलाई कृषि विकास राज्यमन्त्री र धनमाया बिकलाई विनाविभागीय राज्यमन्त्री बनाएको छ। कांग्रेसबाट शान्ति तथा पुनःनिर्माण मन्त्री बनेकी सीतादेवी वर्तमान सरकारमा ‘फूल’ मन्त्री बन्ने सौभाग्य प्राप्त गरिन्।
भारत मोतिहारीमा जन्मिएकी ६१ वर्षीय यादवको कांग्रेसको सक्रिय राजनीतिमा भने २०५७ सालपछि मात्रै आएकी हुन्। २०५७ साल असार ५ गते श्रीमान् चन्द्रनारायणको तत्कालीन माओवादीले हत्या गरेको थियो। श्रीमानको हत्यापछि यादव कांग्रेसको राजनीतिमा लागेकी हुन्।
श्रीमान् चन्द्रनारायणको हत्यापछि उनी जिल्ला सभापतिकी उम्मेदवार बनेर विजयी भएकी थिइन्। संयोग मान्नुपर्छ, माओवादी द्वन्द्वमा मारिएका तथा बेपत्ता पारिएकाहरूको सत्यनिरुपण तथा मेलमिलापमाथि छानबिन चलिरहेका बेला माओवादीपीडित यादव शान्ति तथा पुनःनिर्माण मन्त्रीको जिम्मेवारी पाएकी छिन्।
सीतादेवीको माइती भारतको बिहार हो। उनको माइती बिहार राज्यको मधुवनी जिल्लामा रहेको छ। बिहार माइती भएकी उनले आफ्ना दुई छोरीको बिहे भारतमै गरिदिएकी छन्। उनका एकजना छोरा पनि भारतको बिहारमै बस्ने गरेका छन्।