कसरी हुन्छ दुर्घटना ? हजार किमिमा एउटै चालक :

डीआर पन्त
अतरिया,११ भदौ – ‘गाडी चालक एक्लै हो ?’ दार्चुलाबाट झन्डै १ हजार किलोमिटर लामो दूरी तय गरी राजधानी जान लागेको बसका चालकलाई प्रश्न गर्दा उनले उत्तर दिन सकेनन् । १९ वर्षीय हेल्परले उत्तर दिए, ‘म हुँ नि अर्को चालक, देख्नु भएन ?’ सँगै उभिएका ट्राफिक प्रहरीले अर्को चालकको विषयमा चासो नै राखेनन् । न त उनले कुनै सोधखोज नै गरे । कानुनले अढाई सय किलोमिटरभन्दा लामो दूरीको यात्रामा दुई जना चालक हुनुपर्ने व्यवस्था गरे पनि सुदूरपश्चिममा यसको पालना गरिएको छैन् ।
सुदूरपश्चिमको मुख्य नाका अत्तरियाचोकमा शुक्रबार सुदूरका विभिन्न जिल्लाबाट राजधानी जाने ७ वटा यात्रुवाहक बसमा एकजना मात्र चालक थिए । कुरा भएका सबै चालकले दुई जना हुनुपर्ने नियमबारे थाहा भए पनि आफू एक्लैले राजधानीसम्म बस लैजानुपर्ने लाचारी प्रकट गरे ।
‘यो देशमा नियम/कानुन कसले मानेको छ र हजुर, ठूला–ठूला दुर्घटना हुँदा केही दिन सबै तात्ने गर्छन् फेरि उस्तै चाला,’ महाकाली यातायातका चालक नन्द सिंहले गुनासो गरे, ‘बस मालिक, ट्राफिक प्रहरी, यात्रु, यातायात समिति सबैलाई यात्रुवाहक बस उच्च जोखिम मोलेर राजधानी पुग्छ भन्ने जानकारी छ, तर कसैले पनि यो विषयमा चासो नै राख्दैनन् ।’ यात्रुहरूले पनि यो विषयमा कुनै सोधखोज नै गर्दैनन् । बसमा यात्रा गरिरहेका बैतडी महाकाली गाविसका जयबहादुर बोहराले भने, ‘दुई जना चालक हुन्छ भन्ने मैले त आजमात्र थाहा पाएँ ।’
यातायात व्यवसायी दिनेश जोरा नियम ठीक भए पनि व्यावहारिक रूपमा धेरै खर्च धान्न नसकिने भएकाले एउटै चालकले गाडी चलाउने गरेको बताउँछन् । उनी भन्छन्, ‘मासिक तलब छोडेर चालकलाई प्रतिदिन ५ हजार भत्ता दिनुपर्छ । खाना खर्च, राजधानीमा बस्ने खर्चसहित हिसाब गर्ने हो भने एक जना चालकको प्रतिट्रिपमा ७ हजार बढी खर्च आउँछ ।’
उनले भने, ‘धेरै गाडी छन्, प्रतिस्पर्धा पनि उत्तिकै छ, अत्तरियाबाट १८ सय भाडा भए पनि ७ सयमा यात्रु लैजानुपरेको छ ।’ खर्च धान्न गाह्रो भएकाले नै २ जना चालक राख्नुपर्ने नियम कसैले पनि नमानेको उनले बताए । ‘सेती यातायातले सञ्चालन गरेका केही एसी बसमा भने दुई चालक छन्,’ अत्तरिया ट्राफिक पोस्टका एक प्रहरीले भने, ‘अरू कुनै पनि समितिका बसमा दुई चालक राख्ने कानुनी प्रावधान पालना गरिएको छैन ।’
बस मालिकले लामो दूरीको रुटमा जोखिम हुने जानकारी हुँदाहुँदै पनि एकैजना चालकबाट काम चलाउने गरेका छन् । भीमदत्त राजमार्गको रूपसकाँडामा २ वर्षअघि ३४ जनाको ज्यान जाने गरी भएको दुर्घटनापछि केही दिन दुई जना चालक भए/नभएको ट्राफिकले चेकजाँच पनि गर्‍यो तर केही दिनपछि फेरि सबैले बिर्सिए,’ ती ट्राफिकले भने ।
सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमेश थापा पनि दुई जना चालक राख्नुपर्ने नियम कसैले पालना नगरेको स्वीकार गर्छन् । ‘प्रहरीले दुई जना चालक छन् कि छैनन् भनेर चेकजाँच गर्ने गरेको भए पनि अधिकांशले छल्ने गरेका छन्, दोस्रो चालकको टेलिफोन नम्बर, नाम–ठेगाना माग्ने गरिएको थियो,’ प्रहरी उपरीक्षक थापाले भने, ‘जे गरे पनि दुई जना चालक राख्ने नदेखिएपछि अहिले त्यो पनि गरिएको छैन ।’
कानुनले व्यवस्था गरे पनि कानुन छलेर यातायातसम्बन्धी धेरै व्यवस्था लागू हुन नसकेको उनले बताए । बिहान ७ बजे दार्चुला, बझाङ, बाजुरा जस्ता दुर्गम जिल्लाबाट राजधानीका लागि चल्ने यात्रुवाहक बस सधैंभरि उच्च जोखिममा हुने गरेका छन् । एसपी थापाले भने, ‘१ चालकले २९ घण्टासम्म कसरी गाडी चलाउन सक्छ ? सबैले दुई चालक अनिवार्य राख्न र कानुन पालना गराउन सबैले पहल गर्नुपर्छ ।’ कान्तिपुर दैनिक