धौलागिरीमा एउटा मात्र सडकको ‘रुट परमीट’

बागलुङमा मात्रै दुई मुख्य सडक र  ६३ वटा शाखा सडकहरु छन
बागलुङ, ११ भदौ – सुन्दा पनि अचम्म लाग्न सक्छ धौलागिरी अञ्चलमा एउटा मात्रै ग्रामिण सडकको ‘रुट परमीट’ कायम छ भन्दा । तर सत्य त्यही नै हो कि अञ्चलमा बेनी–जोमसोड सडक बाहेक अन्य कुनै पनि ग्रामिण क्षेत्रका सडकको ‘रुट परमीट’ छैन् । अञ्चलमा एउटा वाहेक अन्य ग्रामिण सडकको रुट परमीट नभएपछि बागलुङमा अस्थायी रुपमा रुट परमिट कायम गर्ने निर्णय गरिएको छ ।
अञ्चलका पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङमा स्थानीय प्रशासनले रुट कायम नभएका सडकमा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएपछि रुट परमीट दिन सुरु गरिएको हो ।
ग्रामिण क्षेत्रका सडकको रुट परमिट नभएकाले सार्वजनिक सवारी साधन ठप्प भई यात्रुहरुले सास्ती पाउन थालेपछि यातायात व्यवस्था कार्यालय धौलागिरीको समन्वयमा सम्भव र तुलनात्मक रुपमा सहज सडकहरुमा अस्थायी रुट परमिट कायम गर्न सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
यातायात व्यवस्था बिभागबाट स्थानीय स्तरबाटै अस्थायी रुट परमिट कायम गर्न परिपत्र गरेपछि सरोकारवालाको संयुक्त बैठकबाट बागलुङ जिल्लामा ६ वटा सडकलाई रुट परमिट दिइएको छ । बुधवार बसेको बैठकले बागलुङ–कुश्मिशेरा हुदै बरेङ, बागलुङ–सिगाना हुदै गाजाको दह, बागलुङ–बुर्तिबाङ–निसी, बागलुङ–हटिया हुदै ताराखोला, बागलुङ–अक्षेते हुदै भिमापोखरा धम्जा–तंग्राम र बागलुङ–कँुडुले हुदै बेनीका लागि रुट परमिट कायम गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए । अञ्चलका अन्य जिल्लामा पनि सोहि अनुसार कार्य अगाडि बढाइने छ ।
अन्य सडकमा रुट परमिटका लागि जिल्ला प्राविधिक कार्यालयको संयोजकत्वमा ७ सदस्य समिति गठन गरिएको छ । सो समितिले बाटोको अनुगमन गरी भाडादर निर्धारण गरेर सिफारिस गर्ने उपरीक्षक सिंहले वताए । बागलुङमा दुई मुख्य सडक सञ्जाल बागलुङ–बुर्तिबाङ र बागलुङ–कुश्मिशेरा छन भने ६३ वटा शाखा सडकहरु रहेका छन् ।