प्राथमिक उपचार सम्बन्धि तालिम

बागलुङ, १२ भदौ – बाल केन्द्रीत विपद जोखिम न्युनिकरण कार्यमञ्च नेपाल अभियान मार्फत बागलुङका ५ वटा विद्यालयका विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाइ तीन दिने आधारभूत प्राथमिक उपचार तालिम दिइएको छ ।
प्लान इन्टरनेशनल नेपाल, सेभ द चिल्ड्रेन सहितका ५ वटा दाता संस्थाको सहयोगमा गाजा युवा क्लबले संचालन गर्दै आएको सुरक्षित विद्यालय परियोजनाले तालिम दिएको हो ।
तालिममा विद्यालय तहमा हुने जोखिम न्युनिकरणका लागि शिक्षक, अभिभावक र विद्यार्थीलाइ मानसिक रुपमा तयार बनाउने, व्यहारिक रुपमा उद्दार गर्न सक्ने बनाउने तथा सामान्य प्राविधिक ज्ञान समेत दिइएको क्लबका कार्यक्रम व्यवस्थापक सूर्यप्रसाद कंडेलले बताए । तालिममा धम्जाको जनता उमावि र लक्ष्मी उमावि, तंग्रामको धारा उमावि र नारायणी उमावि तथा रायडाडाको महाविद्याजन उमाविका शिक्षक, विद्यार्थी र अभिभावक गरी ३० जना सहभागि थिए । तालिममा प्राथमिक उपचार, घाइतेको जाँच, बेहोसी, श्वासप्रश्वास समस्या, रक्तश्राव, टाउको र मेरुदण्डको चोट र उपचार गर्ने तरिका, घाउमा लगाइने मलमपट्टी बारेमा प्रशिक्षण दिइएको हो ।
त्यस्तै हाड भाँचिएको उपचार, मर्कइ, पोलाइ तथा करेन्ट लाग्नु, जनावरको टोकाइबाट भएको घाइतेको उपचारको विधि पनि सिकाइएको हो । त्यस्तै एकैपटक धेरै जना विरामी परेमा तथा घाइते भएमा गरिने उद्धारको पद्दती बारेमा पनि प्रशिक्षण दिइएको हो । तीन दिन सम्म भएको तालिममा नेपाल रेडक्रस सोसाइटी बागलुङका प्रशिक्षक कृष्णप्रसाद आचार्य र कर्णबहादुर कार्की तथा नेपाल रेडक्रस सोसाइटी म्याग्दीका प्रशिक्षक काशीराम रेग्मी र मुक्तिप्रसाद ढुंगानाले सहजीकरण गरेका थिए ।
उक्त अवसरमा सहभागिलाइ तालिम दिनुको साथै सैद्धान्तिक र व्यवहारिक शिक्षा तथा परिक्षा पनि लिइएको थियो । परिक्षामा नारायण्णी उमाविकी सरस्वती हरिजन प्रथम, लक्ष्मी उमाविका विद्यार्थी उत्तम छन्त्याल द्वितिय, धारा माविकी कली थापा तृतिय र जनता माविकी यमुना थापा सान्त्वना भएकी थिइन् । उनीहरुलाइ तालिम समापनमा पुरस्कार समेत प्रदान गरिएको थियो । गाजा युवा क्लबका कार्यवहाक अध्यक्ष यामप्रसाद कंडेलको अध्यक्षता, क्लबका लालपुर्जाको संचालनमा सम्पन्न कार्यक्रममा प्रशिक्षक मुक्तिप्रसाद ढुंगाना,सहभागि शिक्षक शान्ति भण्डारी, रामकुमार भण्डारी लगायतले बोलेका थिए ।