मन–मनै भने– ‘गर्नु गरिस् फ्याउरा !’

कृष्णराज शर्मा
भदौ लागेपछि श्रीकृष्ण जन्मन्छन् । धुमधामले खुशियाली मनाईन्छ । नारीहरूको सर्वोत्कृष्ट दिन (हरितालिका तीज) आउँछ । महिलाहरू पनि उन्मुक्त बाताबरणमा नाच्छन् । खुशियाली मनाउँछन् । भिजेको प्रकृति पनि ओभाउन खोज्छ । शरद ऋतुको प्रतिक्षामा प्रकृति रमाउन थाल्छ । तर मलाई भने यि खुशियाली भित्र आउने भदौ पन्ध्रले रमाउन दिन्न । नाच्न हाँस्न दिन्न । विगतको एक दशक देखि भदौले टेक्नासाथ बाह्रजना नेपालीको विभत्स हत्याको भिडियो आँखा अगाडी आएर उभिन्छ । मुटु दह्रो गराएर हेरेको त्यो भिडियो अहिले म सँग छैन । छैन तापनि, मै सँग भएजस्तो बर्षेनी भदौ महिनाको आगमन संगै देख्न बाध्य बनेको छु । संझी हाल्छु ।
२०६१ साल भदौ १५ गते ईराकमा बाह्रजना नेपालीलाई पछाडी हात बाँधेर भुईंमा लडाएर गोलीहानी मारिएको थियो । आततायीहरूको यो बर्बर हत्याको भिडियो संसारभरी फैलियो । नेपालीले यो देख्दा कसैको पनि धैर्यको सिमामा बस्न सक्ने अवस्था थिएन । देशको रगत उम्लेको थियो । कता के घटना घट्छ यसको आक्रोशमा भन्ने अनुमान गरिएको थियो । यस्तो अवस्थामा भोलीपल्ट १६ गते म काठमाण्डौ जाने भएको थिंए । काठमाडौं जाँदा र पुगेपछिका घटनाको बिबरण मेरो पुरानो डायरीमा आज भेंटाएँ । जस्ताको तस्तै आदरणीय पाठक समक्ष राखें । यसको शीर्षक थियो ‘बाटो लाग्दा फ्याउरो करायो !’
गएराती ९ बजे मात्र काठमाडौं जाने एक्कासी निर्णय गरें । हुनत भदौ एघार गते शुक्रबार काठमाण्डौ पुगेर आउँछु भनेर साईत गरेपनि ११ गते पछिको लगातार ४ दिनको बिदा क्यालेण्डरमा थाहा भएपछि साथी रामकृष्णले मेरो परिवारमा खलबली पारिदिएपछि स्थगित गरेको थिएँ । राम्रैका लागि उसले यसो गरेको थियो । आज १६ गते बुधबार जानुको सट्टा १८ गते शुक्रबार जाने निधोपनि नगरेको होईन । टिकाराम काकाको कुराले आजै बिहान हिंड्ने कुरा हिंजो बेलुका निर्णय गरें । राती ११.३० बजेसम्म यात्रा अबधिभर चाहिने सामान झोलामा मिलाएँ । र बिहान उठ्न सकिन्न कि भन्दै टेलिफोन सेटमा भएको सुबिधा अनुसार बिहान पौने पाँच बजे घण्टी मिलाउन ठूली छोरीलाई लगाएँ । त्यसपछि भोलीको प्रतिक्षामा सुतें ।
बिहान भनेकै समयमा उठें । उठ्ने पनि बर्षौं बर्षपछि फ्याउरोको आवाज मेरो कानमा ठोक्कियो । कुकुरहरू बेजोडले भुक्न थाले । मेरी श्रीमतीले पनि त्यो आवाज सुनिन्छन् । बुबा आमाले पनि चालपाएको मानिन । तर कता कता फ्याउरो कराएको राम्रो होईन भन्ने बुढापाकाको भनाई सानैदेखि सुन्दै आएको थिएँ । ठीक पाँचबजे टीकाराम काकाको फोन आयो । भनें, काका गैराख्नुस् म ट्वाईलेट बाथरूम भ्याएर आउँछु भन्दै फोन राखें । हामी बिहान छ बजेको बस समात्ने हिंजोकै निर्णयमा थियौं । फ्याउरो कराएको कुरो न श्रीमतीलाई भनें न त परिवारका अरू कसैलाई भनें । साईतको समय मेरो मनले अशुभ लागेको संकेत परिवारमा सुनाउनै चाहिन । मेरो पालो राती मिलाएको झोला समात्दै भगवतीले तयार गरेको ‘ब्लाक् टी’को चुस्कीलाई शुभ साईत मान्दै काठमाण्डौ हानिएँ ।
बसपार्कमा टिकाराम काका र मेरो भेट भयो । ‘डल्फिन एअर’ नाम दिईएको २२६३ नं.को बसको टिकट लियौं । ठीक समयमा बस गुड्यो । मेरो मनमा फ्याउरो गुड्दै थियो । भगवती मन्दिरको गेट अगाडी पुग्दा कालिका भगवतीको मनमनै पुकारा गर्दै हात जोडें । हे देवी ! अशुभ केही नहोस् । हुनत पूर्व लाग्दा मोटरबाटो नै भगवतीको परिसर भएर गुज्रेको छ । यसरी बागलुङकी प्रसिद्ध देवीसँग पनि अशुभ कुरो सुनेको र अटेर गरि हिंडेको कुरा राखेर अगाडी बढ्यौं । यसपछि माथिको प्रसंग छुटेर मालढुङ्गा वारिपारीको सुरक्षा जाँचसंग जोडिदै आयो । सबेरै भएकाले पुलिस आईपुगेका रहेनछन् । नत्र पैदल मालढुङ्गाको पुल तर्नु पथ्र्यो । मैले अबको यात्रामा कति ठाउँमा यसरी चेकिङ हुने हो मनमनै खेलाउन थालें । कुश्माकटे पछि चुवामा यो क्रम साँच्चीकै शुरूभयो । पैदल हिंडे । झोला बसमै छाडिदिएँ । सोधेछन भने मेरो हो भन्दिनु होला भनेर टिकाराम काकाको जिम्मामा छोडें । टिकाराम काकालाई उमेरका कारण पुलिसले बसबाट झराल्ने काम गरेनन् । फेरी बस चढें । काँडे पुगेपछि गाडी रोकियो । डाईबरले राम्राकेटी जहाँछन्, त्यही गाडी रोक्छन् । उनीहरूलाई खानेकुरो जस्तोसुकै होस् फ्रेस हुन र गफिन यस्तो ठाउँ रोज्छन् । ठिकै लाग्यो । यहाँ दुईकप चिया दुईजनाले खाईम् । शरिरबाट झारझुर पार्न बाँकी पनि दुबैले यहीं झार्यौं । दुईकप चियाको दश रूपैयाँ तिरेर बस चढ्यौं ।
जाँदैगर्दा सुरक्षा जाँचको क्रम सिमपानीमा भयो । तीन किलोमीटर पर पुग्दा पुनः दोहोरियो । यसमा झिझो मान्नु काल निम्त्याउनु सरह थियो । पोखराको पृथ्वीचोक पार गरेर महेन्द्रपुल पगेपछि बस बिग्रियो । गाडी वर्कसप पुग्यो । गाडीको पट्टा चट् भएको पछि थाहाभयो । गाडी मर्मत गर्ने ठाउँ जस्तो थियो वरीपरी त्यस्तै थियो । चियासिया पनि नपाईने कतै फोन गर्न पनि नपाईने । केहीपर हिंडेपछि खोजेका कुरा मिले । फोन लगाएँ कुरा पु¥याएँ घर । मनमनै फ्याउरोले मलाई खाई राखेको छ । मैले के खाने मेसो पाएको छैन । टिकाराम काकाले फलआहार खानुहुन्छ । केरा खाम कृष्ण भन्नुभयो । चालीस रूपैयाँ दर्जनमा दुईजनाले आधा दर्जन केरा खायौं । फर्क्यौं, गाडी बनेको छैन ।
इराकमा हिंजो मारिएका नेपाली दाज्यूभाइको खबर पहिला नेपाल वान टिभीले सुनाएको थियो । पछि नेपाली टिभी हेर्दा देखाईएको फोटो हेर्दा कुनैपनि नेपालीको मन रहेको थिएन । गाडी मर्मतका बेला राजधानीबाट आउने पत्रिका खोज्दै गर्दा एकजना बृद्धले केबल एउटा पत्रिका ‘समाचार पत्र’ मात्रै डुलाएको देखेर किनिहालें । रोजाईको कुरै थिएन त्यहाँ । मुखपृष्ठमा पुरै यही समाचार थियो । हिंजो टिभीले देखाएको र यसमा छापिएको फोटो एउटै थियो । पढ्दै जाँदा थाहाभयो कि ति नेपालीहरूले अमेरिकी सेनालाई सहयोग गर्नु नै महाअपराध रहेछ । अल्लाहको आदेशमा उनीहरूलाई मृत्युदण्ड दिईएको रे ! पढ्दा पढ्दै मेरो रगत उम्ल्यो । त्यहाँ केरा बेच्ने दिदी र नेपाली हुनुको भावना कम बुझ्ने तर सुनेका एकदुई जना अरू थिए । ग्यारेजमा के कुरा गर्नु ? उम्लेको रगत सेलाएको शब्दमा पोख्ने कतै ठाउँ पाईन । हुँदा हुन, म भन्दा जान्ने बसका सहयात्री । तर सबैसंग बिनाचासो बोलेर यात्रामा नेताहुनुको अर्थ पनि थिएन ।
करिब दुईघण्टापछि गाडी बन्यो । गाडीको गति यति तिब्र थियो कि पोखराबाट मुग्लिङ पुग्न दुईघण्टा लागेन । यसबीचमा दुई ठाउँको चेकिङ पार गरेका थियौं । मुग्लिङको ‘भात’ खाएपछि गाडी पुरानै गतिमा दौड्यो । नौबीसेको उकालोको जाम छल्न गुरूजीहरू यसरी हतार गर्छन । कुरीनटार आईहाल्यो । मनकामना जाने आउने केबुलकारका डल्ला तलमाथी गरेको वरैबाट देखियो । मनकामना जाने गेटैमा पुग्दा पुनः फ्याउरोको आवाज मनमा गुञ्जियो । फेरी पुकारा गरें । हात जोडें, मनकामना माई रक्षा गर ! गाडी आफ्नै गतिमा थियो । भगवतीलाई पुकार्दा नपुकार्दै काठमाडौंबाट धरान जाँदै गरेको गाडी त्रिशुलीमा झ्वाम् परिसकेको रहेछ । पीच सडकमा चारजनाको लाश पल्टिएका थिए । जीवनमा प्रत्यक्ष यति धेरै लाश देखेको आजै हो । त्यसो त, २०३८ सालमा बागलुङको भीमपोखराको अक्षेतेमा पहिरोले बगाएका ३२ जनाको लाश काँठेखोलामा देखेको छु । यस्तो देखेको थिईन । मेरो मनमा फेरी फ्याउरो कराउन थाल्यो । साँच्चै बच्चामा सुनेको बुढापाकाको भनाई सही भैराखेको त छैन ? प्रश्न मनमा उठ्छन् । गाडी अगाडी बढ्दैछ ।
मुग्लिङबाट छुटेको आधा पौनेघण्टा नहुँदै कैयौं किलोमीटर परसम्म रोकिएका गाडीको पछाडी गएर मेरो गाडी अडियो । बाहिर मान्छे हजारौं छन् । बागलुङको चैतेदशैंको मेला जस्तो । बातानुकुलित गाडीमा बसेका संभ्रानतका सन्तान, बिंडीं तान्दै टुक्रुक्क बसेका मधेशीहरू, हामीजस्ता र आईमाई केटाकेटी तातेको पीचमा हेराहेर छन् । यसो हुनुमा त्यही हिंजोको घटनाले रहेछ । मारिएका बाह्रजनामा तीनजना धादिङे रहेछन् । बेनीघाट पुग्नुपूर्व यो अवस्था छ । ठाउँ–ठाउँमा टायर बलेका छन् । पीचको कालोमा टायरको कालो लतपतिएको छ । यो समय देउवाले देश चलाएका थिए । उनीमाथी भीडले आक्रोश पोख्थ्यो । भीडबाट भन्नेले सजिलै भन्थे– मर्ने मरिहाले यसरी यात्रुलाई दुःख दिएर के हुन्छ र ! सडकका बलेका टायर पुलिसले निभाए पछि गाडीको लस्कर अगाडी बढ्यो । काठमाडौंतिरबाट एक दुई गाडी आउने बाहेक पुरै बाटो एकतर्फी बनेको थियो । जामपरेका गाडी गुडेको एकछिन पछि गाईंगुईं कुरा चल्यो । काठमाडौंमा कर्फ्यू लागेको छ ।
मेरो सिटको वायाँपट्टी क्यापधारी भलाद्मी कुश्मामा गाडी चढेदेखि चूपचाप बसेका थिए । दुईजना ट्राफिक जवानले उनलाई सीट मिलाएका थिए । उनी मोवाईलवाला थिए । भद्रपनि थिए । समयनै माओवादीको पकडमा भएकोले डराएका जस्ता लाग्थे । लाग्थ्यो पक्कै उनी प्रहरीका अधिकृत स्तरका व्यक्ति हुन् । मोवाईल लाग्ने ठाउँमा घण्टी पनि बज्थ्यो । उनको मुखबाट काठमाडौंमा बेहाल छ भनेको सम्म सुनेको छु । पटक पटक परिचय गर्न खोज्दा उनी बोल्नै चाहेनन् । बेहाल छ भन्ने उनको भनाईको आवाज र चेहराले भयङ्कर अनिष्ठ भएको बताउँथ्यो । मेरो मनमा भने बिहान कराएको फ्याउरो फेरी पस्यो ।
यतिखेर यात्रुलाई चिया खाजाको समय भएपनि गाडी थानकोट चढ्यो । डाईबरले बजाएको क्यासेट बन्द गरेर एफएम बजाए । रिङरोड भित्र प्रवेश निषेध छ । कोहीपनि आफ्नो ठाउँमा जान पाउने छैन । हामी दुईमात्र नभै सयौं बसका हजारौं यात्री असमञ्जस्यमा छन् । कलंकी पुगेपछि सेनाको स्कटीङ संगै नयाँ बसपार्क जाने शर्तमा गोंगबु पुग्यौं । बाटोमा कुनै यात्रु झार्ने अनुमति थिएन । बनस्थलीमा एक महिला झार्दा आर्मीको दह्रो झापड खायो खलासीले । पुग्यौं बसपार्क । चिन्नु न जान्नुको होटलमा पस्यौं । दुईटा बेड भएको कोठा थियो । हामी भाग्यमानी भयौं । गुन्द्रिमा भएपनि बास खोज्दै सयौं मान्छे भौंतारिएका छन् । होटल्नीको फूर्ती भूईंमा न भाँडाको थियो । रूप्से म्याग्दी होटलमा हामी बस्यौं । त्यही होटलबाट घरमा सकुशल भएको थाहा दिंए । मैले यतिबेला सम्म फ्याउरो कराएको टिकाराम काकासंग पनि कुरा गरेको थिईन । कर्फ्यूका बीच दुईदिन गोंगबु बसेर रैथाने पुरानो सुन्धारा पुगियो । राजधानी पुरै जलेजस्तो । मेनपावर कम्पनिका कुनैपनि अफिस बाँकी थिएनन् । कागजपत्र पासपोर्ट फाईल दराज टेबुल सब बाटोमा पोलिएका थिए । जताहेर्यो त्यतै त्यस्तै थियो । रिङरोड भरि टायरको धूलो थियो । जुनकामले गएको काम हुने त कुरो छोडौं । गाडीको सहजता हुँदा बित्तिकै घर फर्क्यौं । फ्याउराले यति गरायो । मनै मनै भनें– गर्नु गरिस् फ्याउरा !