वन अतिक्रमण हटाइ सामुदायिक भवन निर्माण

म्याग्दी, १२ भदौ – बेनी नगरपालिका–८ अर्थुङ्गेस्थित सानो चौतारी महिला सामुदायिक वन क्षेत्रमा भएको अतिक्रमण हटाइएको छ । स्थानीय केही व्यक्तिले सामुदायिक वन क्षेत्रमा गरेको अतिक्रमण हटाएर वृक्षरोपण गरिएको हो । सानो चौतारी महिला सामुदायिक वन उपभोक्ता समूहको सक्रियता र मङ्गलाघाट इलाका वन कार्यालयको पहलमा २.३ हेक्टर क्षेत्रफलमा भएको अतिक्रमण हटाइएको हो ।
अतिक्रमण हटाएपछि सामुदायिक वनको क्षेत्रफल ४.३ हेक्टर पुगेको मङ्गलाघाट इलाका वन कार्यालयका सहायक वन अधिकृत राजकुमार ठाकुरले बताए । यसअघि सो सामुदायिक वनको क्षेत्रफल दुई हेक्टर थियो । अतिक्रमण हटाएको पाखोमा नयाँ साँध सिमाना कायम गरी डालेघाँस प्रजातिका एक हजार ९५० वटा बिरुवा रोपिएको सहायक वन अधिकृत ठाकुरले जानकारी दिए । म्याग्दीमा सञ्चालित समुदायमा आधारित वन अतिक्रमण हटाउने अभियानअन्तर्गत हालसम्म करिब ४०० हेक्टर अतिक्रमित वन बल प्रयोग बिना नै फिर्ता भएको छ ।महिलाद्वारा सामुदायिक भवन निर्माण
म्याग्दीको राम्चेमा महिलाको सक्रियता र नेतृत्वमा सामुदायिक भवन निर्माण भएको छ । देउराली आमा समूहले राम्चे–४ मा सामुदायिक भवन निर्माण गरेका हुन् । रु नौ लाखभन्दा बढी लगानी भएको भवनमा सामुदायिक लज सञ्चालन गर्ने तयारी गरेको भवन निर्माण समितिकी संयोजक माया पुर्जाले जानकारी दिए ।
दुईतले भवनको माथिल्लो तलामा १२ जना क्षमताका छवटा कोठा रहेका छन् । तल्लो तलामा डाइनिङ, भान्छा कोठा र तालिम हल बनाइएको छ । जिविसको रु पाँच लाख २९ हजार, सांसद नरदेवी पुनको सांसद विकास कोषबाट रु एक लाख र गाविस कार्यालयको रु एक लाख ९६ हजार अनुदानमा भवन निर्माण गरिएको हो ।
लजबाट भएको आम्दानी गाउँको विकास तथा सामाजिक काममा परिचालन गर्ने लक्ष्य राखिएको छ । आमा समूहले गाउँमा सडक निर्माण, सामुदायिक विद्यालय, भवन निर्माणलगायत सामाजिक र विकास निर्माणका काममा सघाउँदै आएका छन् ।