बार्सिलोना र रियलभन्दा अरू पनि

एन्डी वेस्ट 
लन्डन, १२ भदौ – गत साता नै स्पेनी ला लिगाको नयाँ सिजन सुरु भइसकेको छ । बार्सिलोना लगातार तेस्रो लिग उपाधिको अभियानमा छ । रियल र एटलेटिको म्याड्रिड यसलाई रोक्ने प्रयासमा हुनेछन् । तर स्पेनी लिग यसपल्ट यिनै तीन ठूला क्लबमा मात्र सीमित हुने छैन । यो भन्दा अरू धेरै हुनेछ । यसपल्ट प्रशिक्षक फेरिएका छन् । माथिल्लो डिभिजनमा नयाँ क्लबले प्रवेश पाएका छन् । अनि केही यस्ता नियम पनि परिवर्तन भएका छन्, जसले लिगमा निर्णायक प्रभाव छोड्न सक्नेछ ।
बेल मुख्य भूमिकामा
रियलले पछिल्लो तीन सिजनमा दुईपल्ट युरोपेली च्याम्पियन्स लिग उचालेको छ । तर पछिल्ला आठ सिजनमा ला लिगा भने एकैपल्ट मात्र जितेको छ । यस्तो प्रश्न के छ भने के रियल यसपल्ट घरेलु फुटबलमा बार्सिलोनालाई रोक्न सफल हुनेछ त ? जिनेदिन जिदानको रियलले सिजनको सुरुआत भने राम्रोसँग गरेको छ, रियल सोसिडाडलाई ३–० ले हराएर । यस्तै रियलभित्र एउटा यस्तो सिद्धान्त तयार भइरहेको छ, जसअनुसार बर्नाबाउमा बेल अब मुख्य भूमिकामा देखिंदै छन्, क्रिस्टियानो रोनाल्डोलाई पनि उछिनेर । पछिल्लो सिजन पनि वेल्स खेलाडी राम्रै लयमा थिए ।
रोनाल्डोले ३० वर्ष छोइसकेपछि उनी बढीभन्दा बढी पेनाल्टी बक्सका खेलाडी पनि भएका छन् । र, बेललाई अब सहयोग गर्ने खेलाडी हुनेछन्, टोटेनहम छँदाकै उनका साथी खेलाडी लुका मोडरिच । रियलले यसपल्ट ट्रान्सफर मार्केटमा खासै ध्यान नदिएका कारण पनि यही हुन सक्छ ।नु क्याम्पमा नयाँ अनुहार
सबैलाई थाहा छ, रियललाई कसैले रोक्न सक्छ भने त्यो बार्सिलोना मात्र हो । यसपल्ट बार्सिलोनाले पनि राम्रो सुरुआत लिएको छ, रियल बेटिसलाई ६–२ ले हराएर । त्यसमा लुइस स्वारेजले आफ्नो चौथो ह्याट्रिक बनाए र उनी गत सिजन लिगमै सर्वाधिक गोल गर्ने खेलाडी थिए । तर पनि उनको भन्दा बढी चर्चा लियोनल मेसीकै भयो । यस सिजन बार्सिलोनाको सबैभन्दा ठूलो विशेषता हो, नयाँ अनुहारको टिम । यो नयाँ अनुहार मेसीको नयाँ ‘लुक’ ले मात्र होइन ।
यसपल्टका लागि भनेर बार्सिलोनाले केही प्रमुख खेलाडी किनेको छ र यसमध्ये तीन जनाले बेटिसविरुद्धको खेलमा डेब्यु पनि गरे । ती रहे, फ्रान्सेली डिफेन्डर लुकास डिग्ने र समयुएल समटिटी, अनि म्यानचेस्टर सिटीका पूर्व युथ मिडफिल्डर डेनिस स्वरेज ।
एट्लेटिकोको रोक्ने प्रयास
गत सिजन एट्लेटिको शीर्षस्थानबाट तीन अंकले मात्र पछाडि थियो, त्यसैले यसपल्ट पनि उसले लिग उपाधिको होडमा बलियो चुनौती पेस गर्ने पर्याप्त कारण देखिन्छन् । सन् २०१४ मा एट्लेटिकोले बार्सिलोनाको नाकमुनिबाटै लिग उपाधि जितेको थियो ।
सन् २०११ मा प्रशिक्षकका रूपमा डिएगो सिमोनी आएयता एट्लेटिको स्पेनी फुटबलमा बलियो शक्ति भएको छ, त्यसमा कुनै शंका छैन । बार्सिलोना र रियलले मात्र बढी चर्चा पाउँदा एट्लेटिको भने प्राय: एक्लिने गर्छ ।
अत्यन्त आक्रामक सेभिया
यसपल्टको ला लिगाको सबैभन्दा रोमाञ्चक फुटबल पस्किने काम गर्नेछ, सेभियाले । क्लबमा नयाँ प्रशिक्षक जोर्गे साम्पोली आएका छन् र उनले फुटबलमा जानेको एउटै विषय हो, अत्यन्त आक्रामक फुटबल । चिलीमा तीन घरेलु लिग जितेपछि नाम बनाएका थिए, साम्पाडेली । त्यसपछि उनकै नेतृत्वमा सन् २०१५ का कोपा अमेरिका पनि जितेको थियो ।
र, यो पनि नियम
खालि दर्शकदीर्घामा फुटबल खेल्नु र हेर्नुको मज्जा नै के र ? इङलिस प्रिमियर लिगसँग टेलिभिजन प्रसारणको युद्धमा रहेको ला लिगामा यसपल्ट नयाँ नियम बनेको छ र यो आफैंमा अनौठो पनि छ । मुख्य क्यामरामा आउने मुख्य दीर्घामा दर्शकको उपस्थिति ७५ प्रतिशतभन्दा कम रह्यो भने घरेलु टिमलाई जरिवाना गरिनेछ । लिगको नयाँ नियम पुस्तकले स्पष्ट भनेको छ, दर्शकको उपस्थितिलाई ख्याल राख्नु । खेल रमाइलो देखिने कारण यिनै दर्शक त हुन् । लेखक स्पेनी फुटबल पत्रकार हुन् । बीबीसीबाट अनुवाद गरिएको हो।