सन् २०१६ सर्वोत्कृष्ट वर्ष रह्यो त ?

व्योर्न लोमबर्ग
नयाँदिल्ली, १४ पुस – जनताको विवेकमा सन् २०१६ डरलाग्दो वर्ष रह्यो । धेरै मुलुकमा डरलाग्दा आतंकवादी आक्रमण भए । सिरियाली संकटले लाखौंको ज्यान लियो । टर्कीले आत्मघाती बम आक्रमण तथा असफल सैनिक विद्रोह बेहोर्‍यो । सत्तरीभन्दा बढी मुलुकले स्वतन्त्रता घटेको अनुभव गरे ।
राजनीतिक धक्कामा बेलायत युरोपेली युनियनबाट बाहिरिने तथा अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा विजय हासिल गर्ने कुरा पनि समावेश भए । यी दुबै कुरा आमसञ्चार तथा राजनीतिक उच्च वर्गले सोचेकासम्म थिएनन् । जिकालाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्यमा आपत्को रूपमा घोषणा गरियो । यो वर्ष हालसम्मकै सबैभन्दा गरम भनी मापन गरिएको वर्ष हुने देखिन्छ ।
अभिमतका पाना पढ्दा यो विश्वले त्यस प्रकारको रोगको सामाना गरिरहेको अनुभव हुन्छ जसले कुनै एक घटनाभन्दा बाहिर गई जनता बढ्दो रूपमा र खतरनाक रूपमा विभाजित भएको देखाउँछ । एक पाइला पछि हट्दा आशावादी हुनुका धेरै कारण रहेका पनि स्पष्ट हुन्छ ।
वास्तवमै हामी धेरै तरिकाले इतिहासको उत्कृष्ट समयमा बाँचिरहेका छौँ । त्योभन्दा पनि हामी सबैभन्दा डराएको कुरा भनेको त्यस्ता कुरा होइनन्, जसका लागि हामी रातभर जागा रहनपरोस् र यसका लागि २४ घण्टे समाचार तथा सामाजिक सञ्चार जिम्मेवार छन् ।
यस वर्ष सबैभन्दा बढी सम्बोधन गरिएको विषय भनेको बढ्दो असमानता हो र त्यसैमा विचार गरौँ । गत दुई दशक वा त्यसभन्दा बढी अवधिमा सबैभन्दा धेरै र सबैभन्दा कम आम्दानीबीच अन्तर बढेको निश्चय हो । सन् १८२० मा प्रायः जनता निकै गरिब थिए र यसको कारण त्यही थियो । नब्बे प्रतिशत भन्दा बढी मानव निरपेक्ष गरिबीमा बाँच्थे ।
त्यसपछि औद्योगिक क्रान्ति आइपुग्यो र जहाँ त्यो विस्तार भयो, त्यहाँ आय छिटो वृद्धि भयो । सन् १९७८ पछि चीनले र सन् १९९० पछि भारतले विशेष गरी उच्च दर प्राप्त गरे । यसको नतिजाको रूपमा गत वर्ष विश्वको जनसंख्याको १० प्रतिशत भन्दा कम व्यक्ति निरपेक्ष गरिबीमा बाँचिरहेका थिए । योभन्दा पनि विकासशील अर्थतन्त्र मध्यमस्तरलाई विस्तार गर्न सहयोग गरिरहेका छन् र उनीहरूको संख्या सन् १९८५ मा एक अर्बबाट सन् २०१५ मा दुई अर्ब ३० करोड पुगेको छ । गरिबीमा निकै कमी हुँदा गत तीन दशकमा विश्वव्यापी आय असमानता घट्नमा सघाएको छ ।
अन्य मापनमा पनि असमानता घटेको देखिन्छ । सन् १९९२ पछि मानवको जनसंख्या करिब दुई अर्ब बढे पनि विश्वव्यापी रूपमा भोका व्यक्तिहरूको संख्या २० करोडभन्दा घटेको छ । भोकमरीमा परेका जनताको संख्या १९ प्रतिशतबाट ११ प्रतिशतमा झरेको छ वा करिब आधा भएको छ ।
सन् १९७० मा विश्वका तीन चौथाइभन्दा बढी जनता निरक्षर थिए र आयभन्दा पनि शिक्षामा पहुँच अझै असमान थियो । आज पाँच व्यक्तिमध्ये चारभन्दा बढी पढ्न सक्छन् र युवा जनतालाई विद्यालयमा अभूतपूर्व पहुँच प्राप्त भएको छ । निरक्षर व्यक्ति प्रायः पुराना पुस्तामा पाइन्छन् ।
स्वास्थ्यको कथा पनि यस्तै छ । सन् १९९० मा प्रतिवर्ष एक करोड ३० लाख बालबालिका पाँच वर्ष उमेर नपुग्दै मर्ने गर्थे । खोप, राम्रो पोषण, स्वास्थ्य स्याहारका कारण यो संख्या ६० लाखभन्दा कममा झरेको छ । अझै विस्तारपूर्वक भन्दा स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धिका कारण एक शताब्दी अगाडि उच्च वर्गका व्यक्तिमा मात्र उपलब्ध सुविधा हाल बढी व्यापक रूपमा प्राप्त हुँदा जीवन उमेरको असमानता आज कम छ ।
छोटो रूपमा भन्दा विश्व एउटा झोलामा परेर नर्कतिर त जाँदै छैन । अझै पनि धेरै समस्या समाधान गर्न बाँकी भए पनि तिनीहरूले प्रायः गरी हाम्रा विचार तथा सार्वजनिक छलफलमा स्थान प्राप्त गरेका छैनन् ।
ट्रम्पको विजयका कारण पेरिसमा भएको मौसमसम्बन्धी सम्झौता उनले अस्वीकार गर्ने सम्भावना भएकाले मानव सभ्यता नष्ट हुने त्रासमा रहेको टिप्पणीकार हात निमोठ्न थालेका छन् । तर पेरिस सम्झौताले विश्वको तापक्रम वृद्धि गर्ने समस्यालाई कहिल्यै समाधान गर्दैन । वास्तवमा संयुक्त राष्ट्रसंघको भनाइमा पनि कार्बनडाइ अक्साइडको उत्सर्जनमा कटौती गर्ने भनी सम्झौता भएको तहले औद्योगिक क्रान्तिभन्दा पहिलेको स्तरमा २ डिग्री सेल्सियस (३.६ डिग्री फेरनहाइट) सम्म घटाउनु पर्ने आवश्यकतामा १ प्रतिशतले मात्र पूरा गर्न गर्नसक्छ ।
यसविपरीत निकै कम दबाब परेको व्यापार सम्झौतालाई नष्ट गर्ने ट्रम्पको वचनमा कम बल परेको छ । यसविपरीत व्यापारको विरोधलाई न्युयोर्क, बर्लिन र पेरिसमा पुर्‍याइएको छ । लागत-फाइदाको विश्लेषणले स्वतन्त्र व्यापार विश्वका सबैभन्दा गरिब जनतालाई सहयोग गर्ने एक मात्र सबैभन्दा शक्तिशाली तरिका हो भनी देखाएको छ ।
मेरो विचार मञ्च – कोपनहेगन कन्सेन्सस सेन्टरले गरेको एक अनुसन्धानमा विश्वव्यापी स्वतन्त्र व्यापारका लागि मृतप्रायः ‘दोहा डिभलपमेन्ट राउन्ड’ लाई पुनः जीवन दिन सकिए त्यसले विश्वभरका अर्बौं जनताको आय वृद्धि गर्न सक्छ र १५ वर्षमा १४ करोड ५० लाख व्यक्तिलाई गरिबीबाट बाहिर निकाल्न सक्छ भनी देखाएको छ ।
हाम्रो स्वास्थ्यका विश्वव्यापी चिन्ता पनि यस्तै प्रकारले ढल्केको छ । हामी यस वर्ष जिका विषाणुसँग धेरै डरायौं जो एकपटक मात्र अमेरिका पुगेको थियो । बालबालिकामा डरलाग्दो हानि पुर्‍याउने जिकाका विषयमा ब्राजिल तथा अन्यत्र पनि चिन्ता बढेको छ । यसको तुलनामा क्षयरोगमा कमै ध्यान गएको छ र यो विश्वको सबैभन्दा बढी मृत्यु गराउने संक्रमणकारी रोग हो ।
हामीलाई क्षयरोग कसरी उपचार गर्ने भन्ने थाहा छ, जसरी हामीलाई बालमृत्यु दर कसरी घटाउने र कुपोषण नियन्त्रण गर्ने भन्ने थाहा छ । हाम्रो ध्यान अन्य समस्यामा जाँदा यी चुनौतीले कम क्षेत्र ढाकेको भन्ने होइन ।
त्यसो भए सन् २०१७ मा राम्रो गर्ने कुरामा वचनबद्ध होऔँ । हामीले हाम्रो ध्यान गलत विषय तथा असफल समाधानमा लगाउन रोक्नुपर्छ । उदाहरणका रूपमा मौसम परिवर्तनको विषयमा हामीले हरित उर्जालाई जीवाष्म ऊर्जाभन्दा वास्तवमै सस्तो विकल्प बनाउन अनुसन्धान तथा विकास गर्नुपर्छ । हामीले सबैले सुन्ने गरी स्वतन्त्र व्यापार नै गरिबी निवारणको सोच्न सकिने सबैभन्दा प्रभावकारी नीति हो भनी चिच्याउनुपर्छ ।
यसै अवधिमा हामीले सबैभन्दा महत्वपूर्ण सूचकहरूले पनि विगतमा भन्दा आज जीवन अझै राम्रो छ भन्ने कुरा देखाएको सम्झनु आवश्यक छ । रोग, भोकमरी तथा गरिबीविरुद्ध हामीले गरेका प्रगतिको प्रशंसा गर्नैपर्छ । हामीले भोगेका वास्तविक समस्या समाधान गर्न आवश्यक छरिता विकास लगानीमा ध्यान दिई हाम्रो प्रगति निरन्तर अगाडि बढाउनुपर्छ ।
(व्योर्न लोमबर्ग कोपनहेगन बिजिनेस स्कुलका अतिथि प्राध्यापक हुन्) – रासस