मधेसी मोर्चालाई फकाउँदै कांग्रेस

काठमाडौं, १६ पुस-सत्तारुढ कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधन प्रस्ताव र निर्वाचनसम्बन्धी विधेयक अघि बढाउन सहमत भएका छन् । संसद्मा पेस गर्नुअघि एमालेसँग पुनः छलफल गर्ने समझदारी पनि उनीहरूबीच भएको छ ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठक संसद् अवरोध भइरहे पनि संशोधन प्रस्ताव पेस गर्ने निष्कर्षमा पुगेको छ ।
‘सहज होस् भनेर लामो समय एमालेलाई कुरेका हौँ । एमाले निर्वाचन चाहन्छ भने अब उसले सहयोग गर्नुपर्छ,’ बैठकपछि कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले भने, ‘सहज रूपमा टेबल गर्न दिए राम्रो हो । होइन फेरि अवरोध गरिरहे पनि संविधान संशोधन प्रस्ताव र निर्वाचनसम्बन्धी विधेयक आगामी सोमबारको संसद्मा टेबल हुन्छ । चैतमा स्थानीय चुनाव गराउनुपर्नेछ । अब एमाले मानेन भनेर हामी पर्खनेवाला छैनौँ ।’
फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले संशोधनसम्बन्धी प्रस्ताव अगाडि बढाउन कांग्रेसले सकारात्मक पहल गर्ने भनेपछि आफूहरू आशावादी भएको बताए ।
‘कांग्रेसले आफ्नै सहमतिमा अघि बढाएको प्रस्ताव अघि नबढी मुलुक अगाडि बढ्दैन भनेको छ । त्यसैले अब जुन दिन हाउस अघि बढ्छ हामी टेबल गर्छौँ भन्ने विश्वास दिलाउनुभएको छ,’ बैठकपछि यादवले भने, ‘हामीले अघि बढाएको प्रस्तावलाई पास गर्ने नैतिक राजनीतिक जिम्मेवारी हाम्रो हो । जसरी पनि पास गराउँछौँ, शंका नगर्नुस् भन्नुभएको छ ।’ नयाँ पत्रिका