त्राही त्राहीमा घर निर्माणः कसको सरकार छ बागलुङमा ?

तीते करेली
कृष्णराज शर्मा
उसो त देश पुरै अस्तव्यस्त छ । एउटा सानो ईकाईको अस्तव्यस्तताको कुरो के गर्नु ! तैपनि मनले सुखै नदिएपछि बोल्दिन भन्दापनि बोल्न मन लाग्यो । कुरो के भने, बागलुङमा एउटा नगरपालिका छ । नाम हो बागलुङ नगरपालिका । यहाँ जनताका साथै नागरिकहरू पनि बस्छन् । यही नगरपालिकाका नागरिकहरू जति सभ्य र अनुशासित हुनुपर्ने हो त्यति हुन चाहेर पनि हुन पाएनन् । किनकि नगरपालिका कार्यालय आँफै अनुशासित छैन । आँफै सभ्य छैन । भित्र–भित्रै बाजाबाजको स्थिति छ । दन्त बजान छ । कलह छ । बेमेल छ । हाकिम भान्छा पाकेपछि खाने बेलामा टुप्लुक्क भान्छामा, अघिपछि जी हजूरीमा भाग्दा रै’छन् । भान्छाका चम्चा काँटाले खान्की तयार भएपछि थाल ठटाउँदै चम्चा काँटाले जनाऊ दिएर बोलाउँदा रहेछन् । प्राबिधिकहरू आपसमा लुछाचुँडीमै व्यस्त । को भन्दा को कम । तँ भन्दा म के कम । यौटाले त आजीत भएर राजीनामा बुझाएछन् । स्वीकृति भएको छैन । एकापसमा पोलापोल । सर्पको खुट्टा सर्पैले देख्दैछन् । को ठिक हो को बेठीक हो छुट्याउनै गाह्रो ! नगरपालिका भित्रको यो रडाको भूसको आगो झैं नगर भित्र पुत्ताएको छ । रडाको समन गर्ने छाँट कतैबाट पनि देखा पर्दैन । कहिले आगो बल्ने हो त्यो पनि निश्चित छैन । आगोलागी भैहाले पनि नगरपालिकाको दमकलले निभाउनेवाला छैन । यहाँका नेताजीहरूको त कुरै नगरौं । यस्ता पानी मरूवाहरूको के कुरा गर्ने । उसमाथी नगरपालिकामा जनप्रतिनिधि नभएको बर्षौं भयो । जनताले नपत्याएका पार्टीले पत्याएका प्रतिनिधि त्यहाँ आक्कलझुक्कल पुग्छन् । विषयको गहनता बुझ्ने र नबुझ्ने दुईखाले पार्टीका प्रतिनिधिहरू त्याहाँ पुग्छन् । जनताका समस्या सुल्झ्याउने भन्दा बल्झाउने तिकडम चल्छ । पार्टीको सोझो चिताउने कि जनताको सोझो चिताउने द्विविधा छ यिनलाई । नगरबासीहरू यस्तै परिस्थितिका बीच पनि आफ्ना काम फत्ते गर्दै आएका छन् । निर्धक्क संग कानुन बमोजिम हुने र हुनैपर्ने कुनै कार्य नभएको गुनासो रातपरेपछि पोखिन्छन । काम भै हाले पनि ‘उज्यालो मुख अँध्यारो मन’ लिएर फर्कन्छन् । अँध्यारो मनले पोखेको गुनासो कसैले उठाईदिन्न । केही दिन पहिले विदेशबाट आएको नगरबासी भाईले मोटै रकम बुझाएर विवाह दर्ता गराएछन् । जानी बुझि बिरानो छोरो घरमा आउँदा अलमलमा पारेर दाज्यूभाइले लुट्न हुन्छ ? नहुने काम गर्नै मिल्दैन । हुने काममा लटपटाएर लुट्ने यही नगरपालिका होईन ? यि त अँध्यारो मन लिएर विदेश फर्की सके । यहींका पाखुरेहरू अँध्यारो मन नै सही,काम भएको खुशीयालीमा घुट्की तान्दै चुड्की मार्दै भन्छन्– त्यो वा ऊ व्यक्तिले नगरपालिका खत्तम पार्यो र त्यो सालेको भोली नै जागीर खाईदिन्छु पनि भन्न बाँकी राख्दैनन् । तर बिहानको झुल्के घाम देख्ने बित्तिकै फूलका माला पहिर्याई दिएर उनैलाई बढुवा गरिदिन्छन् । फेरी साँझ परेपछि उसैको जागीर खाई दिन्छन् । बिहान फूलमाला बेलुका साला ! यो सभ्यता हाम्रो नगरका हामी नगरबासीहरूमा छ । यो सभ्यता निरन्तर–निरन्तर जारी छ । जारी रहने छ ।
०७२ बैशाख १२ को विनाशकारी भूकम्प पछि धेरथोर पुरै देश प्रभावित छ । नगरको यो धर्ती पनि अछुतो रहेन । हल्लेकै हो । मज्जैले हल्यो । अग्ला–अग्ला घरहरू हल्लेको देखेर होंचो घरमा बस्नेले अग्ला घर डङलङ्ग पल्टन्छ कि भनेर आशा पनि राखे । धन्न,बागलुङकी भगवतीको दृष्टी पुगेर बागलुङ बजार सही सलामत रह्यो । तिनको आशामा तुषारापात भयो । त्यसो हुन पाएन । कुनै अप्रीय लाग्ने ठूलै समाचार सुन्न र देख्न परेन बजार भित्र ।
यसको लगत्तै नगरपालिकाका प्राविधिकहरू बजारका घरहरूको निरीक्षण भ्रमणमा निस्के । हरियो पहेंलो रातो स्टिकर हातमा लिएर र उनीहरूले बस्न योग्य र अयोग्य घर छुट्याए । कतिपयले तत्काल हरियो स्टिकर टाँसी मागे । होटल व्यवशायीहरू त झन् त्राहीमाम थिए । ग्राहकलाई विश्वस्त पार्न आँफैपनि हरियो धर्सो ताने । धेरै घर बस्न अयोग्य भएको बताउँदै बस्न हुने घरमा रातो स्टिकर टाँसेर मानसिक शिकार बने । केही घरधनीले आदेश मान्दै घरको उचाई घटाए । अहिले पछुतो छ । आजसम्म ति र त्यस्तै अरू घरमा मान्छेहरू बसेकै छन् । भविष्यमा भूकम्प प्रतिरोधि घर निर्माण गर्ने हल्ला खल्ला भयो । लालीगूराँस चोकदेखि बालमन्दिर चोकसम्म र जीपपार्क चोकदेखि समिक्षालय चोकसम्म चारलेनको ग्रीनरी सडक बनाईन्छ । तयार भएर बस्नुस् पनि भनियो । प्रत्येक पक्की घरको एक्स–रे गरेर त्यसको रिपोर्ट अनुसार गर्ने पनि भनियो । ख्वै ! कता गयो यो कुरो ? ल, यि त बिर्सियो । तर अहिले नगरपालिकाले नै पूर्ववत् अग्ला घर निर्माण भै राखेको देखेर पनि अनदेखा गरेको प्रष्ट छ । टाँठा बाठा हुनेखाने र पहुँचवालाले बनाएको बनाई भयो । गच्छे अनुसार घर बनाउन तम्सिएकाहरू नयाँ मापदण्ड अनुसार मात्रै घर बनाउनु पर्ने उर्दी जारी भएपछि घर निर्माणको काम रोके । बहादुर नगरबासीहरू नक्शा पास बिनै घर बनाउन तम्सिए । अझै पनि नगरपालिकाको स्वीकृति बेगर छातीका रौं देखाउँदै घर निर्माण कार्य धमाधम् गरिरहेका छन् । नगरपालिकाले ति घर कसरी बने भन्ने थाहा पाएर पनि बेखबर बनेको छ । घर निर्माण भएपछि मापदण्ड नपुगेर अथवा नियम विपरित भएको भनेर अहिले सम्म यौटा घर मात्रै भित्र सारिएको छ । यो महेन्द्र पथको खिम कुमारको घर हो । यस बाहेक दोश्रो उदाहरण यौटा पनि छैन । घर बनाउनेले पनि आँफु खुशी घर बनाउँदा राज्यलाई मुढेबलले जित्न खोज्छन् । सम्बन्धित निकाय नगरपालिकाले नियमतः अप्ठेरो परेको घरबाट पहेंलो धातु उत्खनन् गर्न पाईने हुनाले बेवास्ता गरेर बस्छ । निर्माणकार्य रोक्न खोज्दैन । नगरबासीहरू नगरपालिकालाई गन्दै नगनि घर बनाएकोमा गौरब गर्छन् । तपाईंले नक्शा पास गरेर घर बनाउनु भएको हो ? भनि प्रश्न गर्दा जवाफ छैन । उल्टै उनीहरू भन्छन– मैले नगरपालिकाको मापदण्ड भन्दा बढी छोडेर बनाएको छु । केही डर छैन भन्छन् । नगरपालिकालाई अलिकति बुझाउने त हो । फूस्स कुरा फुस्काउँछन् । यही हो नागरिक बनेका नगरबासीको नियति ? नगरपालिका र नगरबासीको सम्बन्ध के हो ? नङ र मासुको होईन ? जनताको दुःखमा एकापसमा कानुन बमोजिम सहयोग हुनुपर्ने होईन ? सरकार भन्ने चरो छ यो देशमा ? चरो भएपनि चमेरो छ !
“घर बनाउनु पूर्व कति छोडम् सर भनि सोधेकि हुम् मैले । यति छोडे हुन्छ भनेर किल्ला गाडी दिए । बनाई सकेपछि तिमिले मापदण्ड मिच्यौ । नक्शा पास हुन्न भन्छन् ।’’ यो रोदन हो बागलुङ नगरपालिका एघार की एक एकल महिलाको । उनले भनिन– “दुई तल्ला घर बनाई सकें । पानी बिजुली केही जोड्न पाईन । नहुने भए पहिला किन हुन्छ भने तिनले ?’’ उल्टै प्रश्न तेर्स्याईन । “बुढाले छोडेर जानुभयो । यि केटाकेटीको ख्याल गरम् कि यो घरको दूर्दशा हेरम् । के दशा लाग्यो हे ! भगवान् ।’’ ति महिलाको यो रोदन सुनेर मै पो रोऊँ कि जस्तो भयो । यस्तो अवस्था श्रृजना हुनुमा कसको जिम्मेवारी हुन्छ ? नगरपालिकाको होईन ? नगरपालिका जिम्मेवार बने नबनेको हेर्ने नियामक निकाय कुन हो ? जिल्ला प्रशासन कार्यालयले समन्वयकारी भूमिका अदा गर्नु पर्दैन ? यस्ता थुप्रै प्रश्नले गुम्सिएर बागलुङ नगरबासी बस्न विवश भएको देख्दा बोल्न मन लागेको हो । गाउँबाट बजार झरेकाहरू लप्पन छप्पन जान्दैनन् । बोलेको भरमा विश्वासमा पर्छन् । विश्वासमा परेर काम गर्ने थुप्रै छन यो नगरमा । निर्धाहरूलाई शोषण गर्न सिकाउने पनि यहींका नगरबासी छन् । शोषकहरूलाई ज्वाईं मानेर पाल्ने पनि हामी नगरबासी नै छौं । हाम्रै बुद्धिको बिर्को खोल्न पनि सक्दैनौं । यस्तो अवस्थामा राज्य अथवा सरकारले हस्तक्षेप गर्न सक्दैन ? राज्य प्रशासन यस्तो ‘होरा’ हेरेर कस्तो बस्न सकेको ! केही उपाए गर्नु पर्दैन ?
सानो वर्ग क्षेत्रफलमा अवस्थित बागलुङ बजारमा स–साना भूमाफियाको फूर्ती पनि त्यस्तै छ । राष्ट्रिय मापदण्ड र स्थानीय मापदण्डले परिभाषित गरिंदैछ । माफियाको स्वार्थमा धक्का पुग्ने कारण भूकम्प पूर्व किनेका पन्ध्र बाई तीस फुटका घडेरीवाला मर्कामा परेका छन् । सहकारीको ऋण लिएर बजारको बास खोज्नेहरू नीला दाँत देखाउन थालेका छन् । सिपाहीको पेन्सन बुझेर घडेरी जोड्नेहरू त्यसरी नै हिस्स परेका छन् । बानपा वडा तीनकी लाहुरेनी दिदी लाहुरेको खप्की खाँदा खाँदै दिक्क छिन् । लाहुरेले त्यस्तो कुनामा घडेरी नकिन्न भनेका रहेछन् । लाहुरेको धाक लाएर बजारमा घडेरी नकिनी नछोड्ने अड्डीले आज लाहुरेनीको ज्यान सुक्दै गएको छ । तित्याङ गाउँघर भएकी उनले गाउँ वरपरकालाई बजारमा घडेरी किनेर देखाई दिंदा आँफै देखिएकी छिन् । यि र यस्ता थुप्रैलाई दुःखले कमाएको पैसा अलपत्र पारेको छ नगर भित्र । कुन्तको बजारको कुना काप्चाका घडेरी, त्यसमाथी यो हरि विजोग ! घडेरी बनाएर मुनाफा आर्जन गर्नु र जहान केटाकेटीलाई बजारमा घर बनाएर युग सुहाउँदो बजारको सुबिधा भोग गर्न खोज्नु फरक कुरा हुन् । यि दुई फरक कुराहरूलाई यौटै डालोमा मिसाउनु हुँदैन । सरोकारवाला सबैले यसमा गम्भीर ध्यान दिनु जरूरी छ ।
सबै हेर्दा के भन्न सकिन्छ भने कानुन बमोजिम भैजाने कुराहरू आपसमा मिल्दैमा हुँदैन । नगरबासी र नगरपालिका मिलेर कानुन मिच्न सक्दैन । तर प्रचलित कानून बमोजिम हुने काम यथाशिघ्र छिटो र बिना झञ्झट हुनु पर्दछ । बल मिच्याईं नगरबासीले पनि नगरून् र नगरपालिकाले पनि अत्तो नथापोस् । अहिले दर्जनौं घर निर्माण भैरहेका छन् । नक्शापास बिनै धमाधम घर बनि रहेका छन् । नक्शापास बेगर घरधनीले राज्यका तर्फबाट प्राप्त गर्ने सम्पूर्ण सुबिधा प्राप्त गर्नबाट बञ्चित हुन्छ । मुख्य व्यापारिक क्षेत्रमा बनाउनेहरूले बनाउँदै गरेका घरहरू मापदण्ड भित्रै बनेको भएपनि त्राही त्राहीमा बनाईरहेछन् । कति सेटब्याक छोड्न पर्ने हो थाहा छ ? मिलेको छ ? भोली दुःख पाउला नी भन्दा सुतरीका डोरीले नापेर देखाउँछन् घरधनीहरू । आत्तिन्छन् र भन्छन् ऊ त्यसको घर भने एकहात छोडेर हुने मैले त डेढ हात छोडेर बनाएको छु । त्यसको फाले मैले नि फालुँला भन्छन् । यसले प्रष्ट के बताउँछ भने घर बनाउनेहरू स्याल कराउँदा डराएर घ्याम्पोमा लुकेका डरछेरूवाको कथाको अवस्थामा छन् । डरछेरूवाले भन्थ्यो रे म त डराईन बरू,म लुकेको घेम्पो मात्र हल्लेको हो । यस्तो त्राही त्राहीमा घर निर्माण गर्दैछन् नगरबासी । यतिखेर लगभग छ दर्जन घर बनिरहेका छन् बागलुङ बजारमा । कसैको नक्शापास छैन । नगरपालिकाको पारीत नीतिभन्दा व्यक्तिगत भनाईमा विश्वासमा परेर यी घर बनाउनेहरूमा छटपटी छ । प्राबिधिकहरूको आपसी बेमेलले गर्दा उसले भनेको उसलाई नहुने,त्यसले भनेको यसलाई नहुने र आ–आफ्नै व्याख्या गरिदिनाले घर बनाउनेहरू बनेको घर भत्काउन पर्ने त होईन ? भन्ने डरले दिनको भोक न रातको नींदमा परेका छन् । सुतुर्मुर्ग झैं मैले त मापदण्ड भित्र बनाएको छु,मलाई के को डर ! भनि टाउको लुकाएर शरिर देखाएर बाँच्न खोजेको सहजै बुझ्न सकिन्छ । अन्तमा,नगरपालिका सुध्रियोस् । नगरबासी सप्रियुन् । भोली फेरी कोहीपनि सर्वाङ्ग नाङ्गिएको देख्न नपरोस् । बस, म यही रोकिएँ ! …