श्रीकृष्णको बर्थडेमा श्वेताको सहयोग

काठमाडौं, १८ पुस – कलाकारहरू अचेल समाजसेवामा निकै सक्रिय देखिन थालेका छन् । धुर्मुस–सुन्तली, दीपाश्री निरौला र दीपकराज गिरी, गायिका आनी छोइङ डोल्मा जस्ता कलाकर्मीले सामाजिक कार्यमा भाग लिँदै आएका छन् । अभिनेत्री श्वेता खडका पनि सामाजिक काममा लागि खोलिएका विभिन्न संघ–संस्थासँग जोडिएकी छन् ।
श्वेताले आफ्ना पति अभिनेता श्रीकृष्ण श्रेष्ठको जन्मोत्सव अवसर पारेर हालै घर–आँगन नेपाल नामक संस्थालाई सहयोगस्वरूप १ लाख ५० हजार रुपैयाँ प्रदान गरिन् । कलाकार/निर्देशक दीपाश्रीले श्वेताका तर्फबाट घर–आँगनका सञ्चालक दीपक सिलवाललाई चेक हस्तान्तरण गरेकी थिइन् ।
अनाथ र असहाय बालबालिकालाई आश्रय दिँदै आएको संस्थाले उक्त रकम बाल आश्रम निर्माणमा खर्च गर्ने बताएको छ ।‘बाल आश्रमको जग खन्ने काममा पैसा लगानी गरिने भएको छ,’ श्वेताले भनिन्, ‘यति राम्रो काममा सहभागी हुन पाउँदा खुसी लाग्यो । यो सहयोग मेरो तर्फबाट उहाँ (श्रीकृष्ण) लाई जन्मदिनको उपहार पनि हो ।’
दिवंगत हुनुअघि श्रीकृष्ण पनि समाजसेवामा निकै तत्पर हुने गरेको श्वेताले बताइन् । ‘उहाँ अरूलाई सहयोग गर्न रुचाउनुहुन्थ्यो,’ दुई वर्षअघि दिवंगत भएका श्रीकृष्णबारे उनले भनिन्, ‘उहाँकै कामलाई निरन्तरता दिएकी हुँ । यसले उहाँको आत्मालाई खुसी देला ।’