सन् २०१७ शान्ति वर्ष हुने

संयुक्त राष्ट्रसंघ, १८ पुस – संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेसले आइतबार राष्ट्रसंघ प्रमुखका रूपमा जिम्मेवारी सम्हालेपछि नयाँ वर्षको विशेष अवसरमा दिएको शुभकामना सन्देशमा सन् २०१७ लाई सर्व प्रथम शान्ति स्थापनाको बनाउनु आफ्नो प्राथमिकता रहने बताएका छन् ।
पोर्चुगलका पूर्व प्रधानमन्त्रीको रूपमा अनुभव लिएका गुतेरेसले सिरियाको राजनीतिक संकट समाधान गर्ने, दक्षिण सुडान, यमन, बुरुन्डी, उत्तर कोरिया र विश्वका अन्य समस्या समाधान गर्ने जिम्मेवारीसहित निवर्तमान राष्ट्रसंघ प्रमुख बान की मुनबाट आइतबारदेखि नै राष्ट्रसंघ प्रमुखको जिम्मेवारी लिएका हुन् ।
सन्देशमा गुतेरेसले द्वन्द्वमा फसेका करोडौँ जनतालाई कसरी शान्ति प्रक्रियामा ल्याउने भन्ने नै आफ्नो पहिलो काम हुने बताएका छन् । गुतेरेसले भने, ‘कतिपय मुलुकमा द्वन्द्वका कारण सर्वसाधारण तड्पिरहेका छन् । महिला, बालबालिकालगायत अन्य नागरिक मारिएका छन् । घाइते भएका छन् । आफ्नो घरबाट विस्थापित भएका छन् । उनीहरूका सम्पत्ति हरण भएको छ । युद्ध कसैले जितेका छैनन्, सबैले हारेका छन् । त्यसैले शान्ति अपरिहार्य छ ।’
सन् २०१७ लाई स्वागत गर्दै राष्ट्रसंघ प्रमुख गुतेरेसले ‘नयाँ वर्षमा सबैले शान्ति स्थापनाका लागि प्रण गरौं’ भन्दै आह्वान गरेका छन् । ‘विश्वभरका नागरिक, सरकार तथा नेताले हाम्रा मतभेदलाई अन्त्य गर्ने र शान्ति स्थापना गर्ने वर्षका रूपमा सन् २०१७ लाई स्वागत गरौं’, गुतेरेसले भने ।
एक दशकसम्म राष्ट्रसंघको उच्चायुक्तका रूपमा आप्रवासी शरणार्थीको अधिकारका लागि संघर्ष गरेका गुतेरेस राष्ट्रसंघको नवौं महासचिवमा गत अक्टुबरमा सर्वसम्मत रूपमा छानिएका थिए । राष्ट्रसंघको कूटनीतिज्ञका रूपमा समेत लामो अनुभव भएका महासचिव गुतेरेसलाई एक दक्ष राजनीतिक नेताका रूपमा समेत हेरिन्छ । उनको कार्यकालमा पछिल्लो समय विभिन्न विवादमा फसेका अन्तर्राष्ट्रिय यस संस्थाले आफ्ना तथा विश्व समुदायका समस्यालाई निदान गरी बढ्नेमा विश्वास गरिएको छ ।
‘शान्ति हाम्रो लक्ष्य र दिशा निर्देश बन्नुपर्छ’, गुतेरेसले भने, ‘हामीले मानव जगतको गरिमा, आशा, प्रगति र समृद्धिका लागि गर्ने सम्पूर्ण कार्य विश्व शान्तिमा निर्भर छ । साथै शान्ति हामीमा निर्भर छ ।’ रासस/एएफपी