सडकले बिगारेको वातावरण

प्रकाश थापा
अहिलेका वर्षहरुमा विशेषगरी पहाडी इलाकाहरुमा विकासको लहर चलिरहेको छ । हरेक वर्ष ग्रामीण सडकका निम्ति कतै जिल्ला विकास समिति त कतै स्थानीय समुदायहरुले मोटर बाटो निर्माणको लहर चलाइ रहेका छन् । हुन त सामाजिक विकासमा मोटर बाटो निर्माणले महत्वपूर्ण भूमिका राख्दछ । बदलिंदो विश्व परिवेशको सहज जिवनयापन र आवश्यकता पूर्तिका साथै व्यापार व्यावसाय लगायतका अनेकौं आर्थिक संभावनाहरु पनि ग्रामीण सडक निर्माणले ढोका खोल्दछ । ग्रामीण सडक निर्माणका अनेकौं फाइदाहरु भइरहँदा विशेषगरी पहाडी क्षेत्रहरुमा सडक निर्माणसँग जोडिएका वातावरणीय प्रभाव र दिगो विकासका सवालहरु भने टड्कारो चुनौतिका रुपमा देखिएका छन् ।
हरेक वर्ष राज्यको र स्थानीय समुदायको करोडौँ रकम ग्रामीण मोटरबाटो निर्माणमा खर्च भइराखेको छ । तर उचित वातावरणीय अध्ययन विना गरिने यस्ता कार्यले भूक्षय भइ खेतबारी र वस्तीहरु जोखिममा परिरहेका छन् । उता वनको पनि राम्रो संरक्षणमा पनि चुनौति थपिएको छ । ग्रामीण भेगमा खनिने धेरै मोटर बाटो डोजर चालक र स्थानीय टाठा बाठाको नक्सांकनबाट खनिन्छन् । आफ्नो घर छेउ र टोल भेगमा मोटर बाटो पु¥याउने नाउँमा इन्जिनियरिङ विधिप्रकिृया विपरीत बाटो खनिन्छन् । जमिनको अवस्था, भूक्षय नियन्त्रणको लागि उत्तम उपायको खोजी विना खनिने बाटो अर्को वर्षको असार श्रावण महिनासम्म पनि टिक्दैनन् । यस्ता ग्रामीण सडकहरु अहिले पहाडी क्षेत्रमा काल मार्ग अर्थात नर्क जाने बाटो बनिरहेका छन् । कतै बाटोको ग्रेड त कतै घुम्ती मोड नमिलाई खेनिएकाले बाटो दिर्घकालीन बन्न सकेका छैनन् । उता डोजरको बढ्दो प्रयोगले भूक्षय हुने अवस्थालाई तिव्र बनाइ राखेको छ । स्थानीय स्तरमा डोजरको अनियन्त्रित प्रयोगले मोटर बाटो निर्माणमा स्थानीयले पाउने रोजगारी एकातर्फ पाइरहेका छैनन् भने अर्कातर्फ यसले पहिरोको प्रकोप पनि बढाइरहेको छ । राज्य र जनताको लगानी जति केही डोजर संचालक र विदेशी डोजर कम्पनीले लगिरहेका छन् । एक अध्ययन अनुसार प्रत्येक वर्ष नेपालबाट करिव दुई करोड चालिस लाख मेट्रिक टन माटो बगेर जाने तथ्याङ्क निर्कोल गरिएको छ । कमजोर भुबनोटको क्षेत्र तथा वस्ती वरपरको भूगर्भलाई नहेरी बाटो खनिनुले धेरै वस्तीहरु जोखिममा छन् । जसले गर्दा ग्रामीण मोटर बाटो निर्माणमा भूसंरक्षणको सवाल अति महत्वपूर्ण बनेको छ । मोटरबाटोले वन वातावरण र त्यहाँको पारिस्थीकिय प्रणालीमा कस्तो असर पारेको छ भन्ने सवाल महत्वपूर्ण छ । अहिले देशका पहाडी क्षेत्रहरुमा गाउँ विकास समितिको मुख्य बजेट नै मोटर बाटोको ट्रयाक खोल्नेतर्फ अग्रसर देखिन्छ । हुन त विकासको लागि यातायातको पहुँच महत्वपूर्ण कडी हो । तरपनि वातावरणीय पक्षलाई ग्रामीण क्षेत्रमा कम महत्व दिई बनेका सडक निर्माणले दिगो विकासका लक्ष्य पहिल्याउन सकिरहेको छैन ।
दिगो विकासका लागि सामाजिक पक्ष, आर्थिक पक्ष र वातावरणीय पक्षलाई ध्यान पुर्याउनु पर्दछ । यी तीन पक्षको सन्तुलित अभ्यासले नै दिगो विकास हासिल गर्न सकिन्छ । तर अहिले पहाडी क्षेत्रमा विकासका नाममा अस्तव्यस्त रुपमा धेरै जसो ग्रामीण मोटर बाटो निर्माण भएका छन् । मोटर बाटो निर्माणका क्रममा वन वातावरणमा के कस्तो असर परेको छ र प्राकृतिक प्रकोप के कस्तो निम्त्याउँन सक्छ भन्ने आँकलन गरिएको छैन । बाटो खने विकास हुन्छ भन्ने मानिसकता हावी भएको अवस्था छ । ग्रामीण क्षेत्रमा मोटर बाटोले के कस्तो आर्थिक फाइदा पुर्याउँछ, सामाजिक रुपमा कस्तो सम्पन्नता ल्याउँछ र वातावरणीय दृष्टिकोणले कस्तो हुन्छ भन्ने हेक्का नराख्नाले धेरै गाउँ घरमा मोटर बाटो त खनिने तर प्रयोग विहिन हुने अवस्था सिर्जना भइरहेका छन् । एउटै गाउँका टोल टोलमा सहरीकरण गर्ने सोचले यी तीन पक्षको ख्याल नराखी बाटो निर्माणले कतै मोटर बाटो प्रयोग विहिन भएका छन् त कतै प्राकृतिक प्रकोपको जोखिम बढेको छ । गाउँ वस्ती नै कुरुप हुने गरी पहिरोका प्रकोपहरु पनि बढिरहेका छन् । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रहरुमा समेत अव्यवस्थित ग्रामीण मोटर बाटो खनिनुले पर्यटकीय पदमार्गहरु हराउनुका साथै पर्यटन पनि प्रभावित भएका घटना समेत बेला बखतमा सुनिन्छन् । यसले गर्दा ग्रामीण क्षेत्रमा मोटर बाटो निर्माणमा दिगो विकासको अवधारणलाई आत्मसाथ गर्नु अत्यावश्यक रहेको छ ।
यसका लागि योजनाबद्घ रुपमा हरित सडकको अवधारणालाई ग्रामीण क्षेत्रमा अवलम्बन गर्नु पर्ने देखिन्छ । आर्थिक र सामाजिक महत्वलाई ध्यान राख्दै वातावरण संरक्षण गरी हरित सडकको निर्माण निकै महत्वपूर्ण समेत छ । हरित सडक निर्माणको अवधारणा आफैमा दिगो विकासको सिद्घान्तमा आधारित रहिआएको भौतिक विकासको उपाय हो । यो अवधारणा वातावरण संरक्षणमा महत्वपूर्ण छ । यस अवधारणा अन्तरगत ग्रामिण सडक निर्माण गर्दा भौगर्भिक अवस्थालाई मध्य नजर गर्दै सडकको रेखाङ्कन गरी कम लागतमा वातावरणीय पक्ष ख्याल गर्दै बायो इन्जिनियरिङ प्रविधि उपयोग गरी सहभागितात्मक ढंगले गाउँघरका कुटो कोदालोको प्रयोग गरेर बाटो निर्माण गरिन्छ । हरित सडकले दिगोपना हुनुका साथै स्थानीयमा अपनत्व समेत बढाउँछ । बाटो निर्माणमा स्थानीयले रोजगारी पनि पाउने हुनाले गरिव जनता यसबाट प्रत्यक्ष रुपमा लाभान्वित हुन्छन् । हरित सडक आफैमा वातावरण मैत्री र जैविक विविधता संरक्षण गर्न समेत महत्वपूर्ण हुन्छ ।
अहिले मध्य पहाडी भेगका ग्रामीण क्षेत्रमा अव्यवस्थित मोटर बाटो निर्माणले वातावरणीय समस्याहरु बढिरहेको बेला दिगो विकासका लागि हरित सडक निर्माण प्रविधि महत्वपूर्ण देखिन्छ । अव्यवस्थित मोटर बाटो निर्माण कार्य भइरहे राज्य र स्थानीय जनताले विकासका नाममा करोडौं रुपैंया खर्च गरी पहिरो प्रकोप निम्ताउने बाहेक अरु केही हात लाग्ने छैन । यस किसिमको हतारमा विकास बजेट सक्ने र भूक्षय निम्त्याउँने कामको रोकथाम तथा दिगो विकासको अवधारणामा सबै लाग्नु पर्ने अवस्था छ । गाउँगाउँमा अव्यवस्थित सडक खन्नु मात्र विकास होइन, आर्थिक पक्ष कति सबल छ, वातावरणीय सन्तुलन कस्तो हुन्छ, सामाजिक फाइदा कस्तो छ आदि खोजेर हरित सडक निर्माण पछि मात्र नै दिगो विकास हुन सक्छ । यस मानेमा वातावरणीय पक्षलाई ख्याल गरी हरित सडक निर्माणमा सबैको ध्यान जानुपर्दछ ।