कसरी सिक्छन् बालबालिका ?

मीनाक्षी दाहाल
विद्यालय भन्ने बित्तिकै हामी सबै पढ्ने–पढाउने स्थान बुझ्दछौं, अथवा सिक्ने–सिकाउने स्थान। हाम्रो सन्दर्भमो पढ्ने–पढाउने अथवा सिक्ने–सिकाउने विषयले भन्दा पनि स्थानले निकै महत्व राख्दछ। त्यसैले यहाँ सिक्नको लागि विद्यालयलाई बढी नै महत्व दिइन्छ। कसैले भनेको छ, विद्यालय त एउटा डिपार्टमेन्टल स्टोरजस्तो हो, जहाँ एकै ठाउँमा विभिन्न सामग्रीहरु पाइएजस्तै विभिन्न प्रकारका ज्ञान र सीपहरु पाइन्छन्। विद्यालयमा थुप्रै फरक–फरक तर एकअर्कामा अन्तरसम्बन्धित ज्ञान र सीपको लेनदेन हुन्छ।
तसर्थ विद्यालयको मुख्य काम भनेको बाललबालिकामा विभिन्न सीप र क्षमताको विकास गराई उत्पादनशील मानव संसाधन (श्रोत) तयार गर्नु हो। राष्ट्रको सामाजिक, आर्थिक, राजनीतिक विकासका लागि नयाँ ज्ञानहरुको खोजी, उजागर तथा प्रवद्र्धन गर्ने जिम्मेवारी विद्यालयको नै हो। यसैगरी विद्यालयले विधि, संस्कृति, मूल्यमान्यताको विकास, पवबद्र्धन तथा संरक्षण गर्दछ। विविधता र बहुलताको स्वीकार्यता र सहनशीलताको प्रवद्र्धन गर्दछ। त्यसैले त भनिन्छ, शिक्षा भनेको रित्तो भाँडो भर्ने होइन, यो त आगो सल्काउने कार्य हो। के सिकाई प्रवद्र्धन गर्ने जिम्मा विद्यालयको मात्र हो त? के विद्यालयबाहिर सिकाई हुदैन?
childसिकाई भनेको परिवर्तन हो। सिकाई जन्मदेखि नै सुरु हुन्छ। स्नायु विज्ञानका अनुसार ९० प्रतिशत बौद्धिक क्षमताको विकास पहिलो ५ वर्षभित्र नै हुन्छ भने ८० प्रतिशत सिकाई पहिलो ८ वर्ष भित्र हुन्छ। यस समयमा बालबालिकालाई स्वस्फूर्त सिक्ने अवसर र वातावरणको आवश्यकता पर्दछ। अभिभावक र शिक्षक दुवै बालबालिकाको सिकाईका प्रभावकारी सहयोगी हुन् भने उत्प्रेरणा र सहयोग सिकाईका आधार हुन्। तसर्थ सिक्नका लागि विद्यालय नै पठाउनु भन्दा पनि बालबालिकालाई घर र विद्यालयमा केही विशेष वातावरण तयार गरिदिएमा उनीहरुलाई छिटो सिक्न सहयोग पुग्दछ। अर्को शब्दमा भन्दा सिक्ने क्षमताको विकास हुन्छ।
बालबालिकाको सिकाईलाई प्रभावकारी बनाउन केही मनोवैज्ञानिक क्रियाकलापहरुमा ध्यान दिनु अपरिहार्य हुन्छ। बालबालिका सिक्नका लागि तयार भएर जन्मेका हुन्छन् तर त्यसका लागि उनीहरुको सक्रिय सहभागिता अपरिहार्य हुन्छ। अझ भनौं, बालबालिकाले आफँै चलाएर, खोजेर, बिगारेर वा खेलेर सिकिरहेका हुन्छन्। बालबालिकालाई सिक्नको लागि आवश्यक विषयवस्तु सामाजिक सहभागिताबाट प्राप्त हुन्छ। त्यसैले उनीहरुलाई बढीभन्दा बढी सामाजिक क्रियाकलापमा सहभागी गराइएमा उनीहरुले बढी भन्दा बढी सिक्ने अवसर पाइरहेका हुन्छन्। बालबालिकालाई विवाह भोज अथवा जात्रा–मेलाजस्ता सामाजिक कार्यमा सहभागी गराउँदा बालबालिकामा धेरै जिज्ञासाहरु उत्पन्न हुन्छन्। साथै वयस्कहरुले गरेका कार्यबाट उनीहरुमा जिम्मेवारीबोध पनि भइरहेको हुन्छ। यस्ता अवसरबाट बालबालिकाले विभिन्न सामाजिक सीपहरु सिकिरहेका हुन्छन्। सामाजिक सीपहरुको अभ्यासले गर्दा नै बालबालिकाहरुलाई सामाजिकीकरण हुन सहयोग गर्दछ।
बालबालिकाहरु कुनै न कुनै क्रियाकलापमा अल्झिरहेका हुन्छन्। तर उनीहरुलाई यसरी क्रियाकलापमा सहभागी गराउँदा उनीहरु के सिक्दैछन् र कस्ता कार्यमा संलग्न गराउँदा उचित हुन्छ भन्ने हेक्का वयस्कहरुले राख्नु पर्दछ। उनीहरु खेलिरहेका छन् वा कुनै वस्तु विशेषमा अल्झिरहेका छन् भने अनावश्यक हस्तक्षेप गर्ने वा त्यस्ता कार्य गर्नबाट वञ्चित गर्नु हुँदैन। बरु वयस्क वा अभिभावकले बालबालिकासँग बढी भन्दा बढी कुरा गर्ने र उनीहरुले के गरिरहेको हो बुझ्ने प्रयास गर्नुपर्दछ। बालबालिकाले गर्ने कामबारे टिप्पणी वा उनीहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदा सान्दर्भिक र आधिकारिक हुनुपर्छ। आफूलाई थाहा नभएको खण्डमा झर्कनुभन्दा सोचेर जवाफ दिने वा नम्र बोलीमा पछि भन्छु भन्न सकिन्छ। यस्ता प्रश्नमार्फत् उनीहरु पक्कै पनि आधिकारिक सन्दर्भलाई जोड्ने प्रयास गरीरहेका हुन्छन्। यो नै सिकाईको महत्वपूर्ण पक्ष हो। नयाँ सूचना तथा ज्ञानलाई भइरहेको ज्ञानसँग जोड्दै बालबालिकालाई सिकाउन सकियो भने सिकाई प्रभावकारी र दिगो हुन्छ। नत्र ढिलो बुझ्ने र चाँडै बिर्सने समस्या बालबालिकामा देखा पर्छ।

बालबालिकालाई कण्ठ गराउने घोक्ने क्रियाकलापमा भन्दा बुझाउनमा धेरै समय खर्चिन सके सिकाई दिगो र प्रभावकारी हुन्छ। बालबालिकालाई सिकाउन केही रणनैतिक प्रक्रिया अपनाउनु पर्दछ। उदाहरणका लागि के सिकाउन लागिएको हो, त्यसको उद्धेश्य सिकाउने व्यक्ति (शिक्षक वा अभिभावक) लाई स्पष्ट हुनुपर्दछ र सोहीअनुरुपको सिकाउने विधिको प्रयोग गर्नु पर्दछ। बढीभन्दा बढी उदाहरण दिएर बालबालिकाको आफ्नै परिवेशसँग जोडेर सिकाएमा बुझ्न सजिलो हुन्छ। बालबालिकामा स्वअध्ययन र पुनरावलोकन गर्ने बानीको विकास गरिदिनुपर्छ। यसका लागि कुनै पनि समस्या वा नयाँ विषयको बारेमा खोजेर वा अध्ययन गरेर सुनाउन प्रोत्साहन दिनुपर्दछ। प्रश्न गर्ने, कुराकानी गर्ने र विभिन्न विकल्पका बारेमा छलफल गर्दा सिक्न सहज हुन्छ। उनीहरुलाई बढीभन्दा बढी अभ्यासका लागि समय दिनु पर्छ जसले गर्दा उनीहरुलाई परिष्कृत हुन सहयोग पुग्दछ।
सिक्नका लागि उत्प्रेरणा तथा वातावरणकोे ठूलो भूमिका हुन्छ। तसर्थ अभिभावक र शिक्षकले बालबालिकाप्रति गर्ने व्यवहार, दिने सहयोग र वातावरण नै बालबालिकाको सिकाईका महत्वपूर्ण आधार हुन्। सानै उमेरमा विद्यालय भर्ना गर्दैमा वा धेरै समय विद्यालयमा राख्दैमा धेरै सिकाई हुँदैन बरु बालबालिकाको सिकाई प्रतिको चाहना घट्न सक्छ। बालबालिकाले स्वस्फूर्त सिकिरहेका हुन्छन् र उनीहरु हरदम सिक्न तयार रहन्छन्। उनीहरुको चाहना र क्षमतालाई बुझेर अभिभावक तथा शिक्षकले वातावरण तयार गर्न सकेमा मात्र सिकाई प्रभावकारी बनाउन सकिन्छ।